
News Summary
Generated by OK AI. Editorially reviewed.- २५ जेठ, काठमाडौं मा हाइड्रोपावर सेक्टरको शेयर कारोबार ५८.८० प्रतिशत रहेको थियो।
- यस सेक्टरको बजार प्रदर्शन गत वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको छ।
- स्रोत अनुसार, यस सेक्टरको सकारात्मक ट्रेन्ड र वित्तीय सुधारले लगानीकर्ताको आकर्षण बढाएको छ।
२५ जेठ, काठमाडौं । आइतबार सेयर बजारमा भएको कुल कारोबारमा हाइड्रोपावर सेक्टरको मात्रै हिस्सा ५८.८० प्रतिशत रह्यो ।
कुल ९ अर्ब १३ करोको कारोबार हुँदा यो सेक्टरको ५ अर्ब ३७ करोड रुपैयाँको भयो । यस दिन मात्रै होइन, प्रायः दिन हाइड्रोपावर सेक्टरको मात्रै आधा कारोबार हुने गरेको छ ।
आइतबार हाइड्रोपावरले बजारमा केही फरक प्रदर्शन पनि गर्यो । समग्र बजार घट्दा यो सेक्टर १.२२ प्रतिशत बढ्यो । मूल्य उच्च दरमा बढेका पाँच कम्पनीमा सबै हाइड्रोपावर परे । रिभर फल्स पावर, पियोर इनर्जी, चिलिमे हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर र हिमालयन पावर पार्टनर धेरै मूल्य बढेका ५ कम्पनी हुन् ।
रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा पनि सबै हाइड्रोपावर परे । राधि विद्युत्, युनिभर्सल पावर, ङादी ग्रुप, बुटवल पावर कम्पनी र सानिमा माइ हाइड्रोपावर धेरै कारोबार भएका कम्पनी हुन् ।
हाइड्रोपावर सेक्टरको धेरै कारोबार हुनुमा सूचीकृत सबैभन्दा धेरै कम्पनी यसमै हुनु पनि हो । बजारमा कुल सूचीकृत कम्पनीको संख्या २४९ वटा छन् । यी कम्पनीलाई विभिन्न १२ सेक्टरमा विभाजन गरिएको छ । जसमध्येको एउटा सेक्टर हाइड्रोपावरमा मात्रै ९१ कम्पनी छन् ।
हाइड्रोपावर सेक्टर धेरै कारोबार हुनुको अर्को कारण लकइन पिरियड खुलेपछि संस्थापकको सेयर पनि साधारणसरह कारोबारमा आउनु रहेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट बताउँछन् । ‘अरु सेक्टर खास चल्न नसकेका बेला ट्रेडर पनि यसमा लागेको देखिन्छ’ उनले भने ‘यतिबेला अरुभन्दा यो सेक्टरको ट्रेन्ड सकारात्मक देखिएको पनि छ ।’
त्यस्तै यो सेक्टरका कम्पनीको वित्तीय स्थिति पनि अरु कम्पनीको तुलनामा सुधारोन्मुख हुँदै गएकाले सकारात्मक प्रभाव परेको जानकार बताउँछन् ।
‘बैंकको घट्दो ब्याजदरले आयोजनाको लागत घटिरहेको छ, यसले गर्दा वित्तीय विवरणमा पनि डराउनुपर्ने अवस्था देखिएन, जसले कारोबारी र लगानीकर्ता दुबैको आकर्षणमा यो सेक्टर देखिएको छ’ रानाभाटले भने ।
अर्कोतर्फ वित्तीय क्षेत्रमा जस्तो रकम असुली तथा बिजनेस घटबढको झन्झट हाइड्रोपावरमा छैन । उत्पादन भएको विद्युत् सम्झौताअनुसार नै बिक्री हुने र आम्दानी तत्कालै हुने भएकाले यस सेक्टरका कम्पनीको कमाइप्रति लगानीकर्तामा शंका रहँदैन । यतिबेला बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्सहरु कर्जा रिकभरीको दवावमा छन् ।
त्यस्तै उत्पादन तथा प्रशोधन, होटल, व्यापार कम्पनीलाई बिक्री बढाउनुपर्ने चुनौति छ । माग नै नबढेको अवस्थामा ती सेक्टरको बिजनेस वृद्धिमा ठूलो चुनौति छ । तर हाइड्रोपावर कम्पनी ती दुवै झन्झटबाट मुक्त छन् । उत्पादन भइसकेपछि पीपीएअनुसार ऊर्जा बिक्री भइ मूल्य पाउने र असुलीमा कुनै समस्या रहँदैन ।
पछिल्लो समय ठूलो पूँजीका हाइड्रोपावर कम्पनीहरू नै धेरै कारोबार हुनेमा परिरहेका छन् । त्यस्ता कम्पनीको कारोबार रकमसँगै मूल्य समेत बढ्दै गएकाले लगानीकर्ता सकारात्मक भएका छन् ।
बजारमा हाइड्रोपावरको अर्को विशेषता भनेको ‘लो, मिडियम र हाइ क्याप’ कम्पनी मिश्रित छन् । जम्मा १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजीदेखि ८ अर्ब ७२ करोड रुपैयाँसम्मका कम्पनी यसमा छन् ।
जसले गर्दा अपरेटर, संस्थागत लगानीकर्ता र सर्वसाधारणका लागि रोजाइअनुसारका कम्पनी यस सेक्टरबाटै छनोट हुने गर्छन् । त्यस्तै मूल्यमा पनि विविधता छ ।
बजारमा प्रतिकित्ता अधिकतम साढे १८ सयदेखि न्यूनतम २ सयमुनिसम्मका हाइड्रोपावर कम्पनी बजारमा सूचीकृत छन् । जसले गर्दा कारोबार रकममा सधैं हाइड्रोपावर अगाडि रहने गरेको छ ।
यतिबेला बजारमा अरु सेक्टरको तुलनामा हाइड्रोपावरको प्रदर्शन राम्रो देखिएको छ । विगत १ वर्षमा यो सेक्टर ३८ प्रतिशत बढेको छ । २७ जेठ २०८१ मा यो सेक्टर २५२७ अंकमा थियो भने एक वर्षपछि आज ३४९३ अंकमा छ ।
त्यस्तै विगत एक महिनामा भने यो सेक्टर ३.९ प्रतिशत घटेको छ । २५ वैशाख २०८२ मा यो सेक्टर ३६३७ अंकमा पुगेको थियो । विगत एक वर्षलाई हेर्दा गत १८ फागुनमा हाइड्रोपावर अधिकतम ३८९४ अंकमा पुगेको थियो ।
प्रतिक्रिया 4