+
+
Shares

नेपालकै पहिलो हरित ऊर्जा ऋणपत्र नेप्सेमा सूचीकृत हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पूर्वाधार विकास बैंकले पहिलोपटक हरित ऊर्जा ऋणपत्र (ग्रिन इनर्जी बोन्ड) जारी गर्यो।
  • सात वर्ष अवधिको ५ अर्ब रुपैयाँबराबरको बोन्डमा करिब १९ अर्ब आवेदन परेको छ।
  • बोन्डबाट संकलित रकम जलविद्युत र सौर्य ऊर्जा परियोजनामा लगानी गरिनेछ।

२७ जेठ, काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले नेपालमै पहिलोपटक हरित ऊर्जा ऋणपत्र (ग्रिन इनर्जी बोन्ड) जारी गरेको छ ।

निफ्राले सात वर्ष अवधिको ५ अर्ब रुपैयाँबराबरको ग्रिन बोन्ड वार्षिक ६ प्रतिशत ब्याजदरमा निस्कासन गरेको थियो । १ हजार मूल्य बराबरको यो बोन्डका लागि आइतबारसम्म आवेदन दिन पाउने म्याद रहेकोमा करिब चार गुणा बढी अर्थात् १९ अर्बका लागि आवेदन परेको निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले जानकारी दिए ।

कुल ५० लाख कित्ता बोन्डमध्ये ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि र ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ऋणपत्र संस्थागत लगानीकर्ताका लागि जारी गरिएको हो । यो बोन्डको अन्तिम बाँडफाँट यही बिहीबार हुने निफ्राले जनाएको छ ।

यो बोन्डबाट संकलित रकम २५ मेगावाटसम्मका रन अफ द रिभर जलविद्युत परियोजना र सौर्य ऊर्जा परियोजनाहरूमा लगानी गरिने निफ्राले जनाएको छ ।

यो बोन्ड जारी गर्नका लागि कोरिया इन्टरनेशनल कोअपरेसन एजेन्सी (कोइका) तथा ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई)ले प्राविधिक सहायता गरेका थिए । यो हरित ऊर्जा ऋणपत्रलाई नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेका हुन् ।

नेपालकै पहिलो हरित ऋणपत्र जारी भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण संरक्षण र दिगो विकासका लागि निफ्राले जारी गरेको ग्रिन बन्डले महत्वपूर्ण योगदान दिने बताए ।

‘नेपालको हरित ऊर्जाको यात्रा तथा जलवायु परिवर्तनको प्रभावसँग जुध्ने लक्ष्य प्राप्तिका लागि यो एउटा महत्त्वपूर्ण पाइला हो,’ उनले भने । यो बोन्डबाट संकलित पैसाले हाम्रो आर्थिक विकासको बाटोलाई हरित दिशातर्फ लैजाने उनको भनाइ थियो । ‘यो वातावरणीय दायित्व र आर्थिक समृद्धिलाई सँगसँगै अघि बढाउने माध्यम पनि हुनेछ,’ मन्त्री ठकुरीले भने ।

वातावरणीय रुपमा दिगो परियोजनामा स्रोत परिचालनका लागि यो महत्वपूर्ण कदम भएको अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले बताए ।

‘यसले हरित अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको बढ्दो दबाबलाई सम्बोधन गर्न हाम्रो साझा प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ,’ उनले भने ।

नेपालमा यो ग्रिन बोन्ड निस्कासनसँगै निफ्रा अब युरोप, लन्डन, अमेरिका, सिंगापुर वा अन्य एसियाली मुलुकमा ग्रिन बोन्ड जारी गर्न तयार भएको जीजीजीआईकी नेपाल प्रतिनिधि लौरा यालासयोकीले बताइन् । ‘यसले नेपालको पुँजीबजारका माध्यमबाट दिगो विकासमा स्रोत संकलनको बाटो खुलेको छ,’ उनले भनिन् ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी तथा नेपाल राष्ट्रबैंकका प्रतिनिधिले पनि आफ्नो धारणा राखेका थिए ।

ग्रिन इनर्जी बोन्ड जारी गर्नकै लागि निफ्राले दिगो विकास कमिटी गठन गरेको थियो । यसको दोस्रो पक्ष मूल्यांकनका लागि रेटिङ एजेन्सी फिचलाई अनुरोध गरिएकोमा उत्कृष्ट रेटिङ प्राप्त भएको निफ्राकी सार्वजनिक क्षेत्र तथा नयाँ पहल विभाग प्रमुख स्मृति शर्माले जानकारी दिइन् ।

‘हाम्रो भविष्य हरित नै भएकाले अहिले हरेक लगानीकर्ताले हरित सम्पत्तिमा लगानी गर्न खोजिरहेको अवस्था छ । त्यसो हुँदा यो दिगो विकास र लगानीतर्फको एउटा पाइला हो,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?