
News Summary
Generated by OK AI. Editorially reviewed.- संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा वैदेशिक रोजगारी र भिजिट भिसा प्रकरणमा छलफल भयो।
- सांसद गणेश पराजुलीले मानव तस्करी र उच्चस्तरीय छानबिन समिति गठनको माग गरे, भने अन्य सांसदहरूले विषय बाहिर गएर कुरा गरे।
- सरकारले वैदेशिक रोजगार समस्या समाधान गर्न समिति गठन गरेको छ र नेपाली कामदारले कम तलब पाउने अवस्थाको विषयमा छलफल जारी छ।
३० जेठ, काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा लफडा भएको छ ।
शुक्रबार समितिमा द्विपक्षीय श्रम सम्झौता भएको मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल थियो । उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली बोल्दै थिए ।
ठूला दलहरूतर्फ संकेत गर्दै पराजुलीले जनताले सबै हेरिरहेको बताए । मानव तस्करी भइरहेको भन्दै पराजुलीले भिजिट भिसा प्रकरणको विषय समितिमा राखेका थिए । यो विषयमा उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने उनको माग थियो ।
तर, अन्य दलका सांसदले समितिको छलफलको विषय भन्दा बाहिर गएर आफ्ना कुरा राखेको भनेर प्रतिवाद गरे । त्यसक्रममा सांसदहरूबीच हो–हल्ला चलेको हो ।
वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीको पीडाबारे सरकारलाई सुझाव दिनुपर्ने कतिपय सांसदको आग्रह छ । नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा सरकारले अध्ययन गर्नुपर्ने सुझाव समेत प्रस्तुत भएका छन् ।
सरकारले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय खोज्न समिति नै गठन गरेको छ ।
समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी रहेका छन् । तीन वटै मन्त्रालयका सचिव समेत समितिमा रहेर काम गरिरहेका छन् ।
समितिको बैठक दुई तीन पटक बसिसकेको छ ।
समितिले आफूले देखेको उपाय श्रम मन्त्रालयलाई दिनेछ ।
कतिपय देशमा अन्य देशका नागरिकले भन्दा नेपाली कामदारले कम तलब पाउने अवस्था समेत रहेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका अनुसार यस्तो समस्या यूएईमा समेत रहेको पाइएको छ ।
संसद्कै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले भनेकी छन्, ‘यूएईमा नेपाली कामदारले पाउने अन्य मुलुकले पाउने भन्दा कम तलब रहेछ । अरूले १ हजार रियाल पाउने रहेछन् तर, हाम्रो देशकाले ८ सय मात्रै पाउने रहेछ ।’
प्रतिक्रिया 4