+
+
Shares

यो साता ५.५ प्रतिशत बढ्यो हाइड्रोपावर, यी हुन् धेरै बढेका १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार यो साता ०.५६ प्रतिशत बढ्यो र बजार २६५५ अंकमा कायम रह्यो।
  • हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण बढेको छ र यसले ५.५३ प्रतिशतको वृद्धि देखाएको छ।
  • वैदेशिक रोजगार र आयोजना प्रभावित स्थानीयका लागि आईपीओ खुलिरहेको छ।

३० जेठ, काठमाडौं । गत साता १.९६ प्रतिशत घटेको सेयर बजार यो साता ०.५६ प्रतिशत बढेको छ ।

गत साता २६४० अंकमा रहेको बजार यो साता २६५५ अंकमा कायम भएको छ । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार ११.०६ अंक घटेको बजार सोमबार २३.१९ अंक बढ्यो । त्यस्तै मंगलबार २५.०७ अंक बढेकोमा बुधबार १३.६९ र बिहीबार ९.०८ अंक घट्यो ।

यो साता कारोबार रकम उल्लेख्य देखिएको छ । आइतबार ९ अर्ब १३ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ६८ करोडको भयो । मंगलबार १० अर्ब १६ करोड, बुधबार ९ अर्ब ९० करोड तथा बिहीबार १२ अर्ब ५१ करोडको भयो । बुधबारको कारोबार रकम गत फागुन २० यताकै उच्च हो ।

हाइड्रोपावरमा किन बढ्यो आकर्षण ?

यो साता हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । यो समूह सबैभन्दा धेरै ५.५३ प्रतिशत बढ्यो । यो साता मूल्य धेरै बढेका १० कम्पनीमा ९ वटा हाइड्रोपावर मात्रै परे ।

गत साता बजार १.९५ प्रतिशत घट्दा हाइड्रोपावर जम्मा ०.६० प्रतिशत मात्रै घटेको थियो ।

यो सेक्टरका कम्पनीको वित्तीय स्थिति पनि अरु कम्पनीको तुलनामा सुधारोन्मुख हुँदै गएकाले सकारात्मक प्रभाव परेको जानकार बताउँछन् ।

‘बैंकको घट्दो ब्याजदरले आयोजनाको लागत घटिरहेको छ, यसले गर्दा वित्तीय विवरणमा पनि डराउनुपर्ने अवस्था देखिएन, जसले कारोबारी र लगानीकर्ता दुबैको आकर्षणमा यो सेक्टर देखिएको छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले भने ।

अर्कोतर्फ वित्तीय क्षेत्रमाजस्तो आम्दानी असुली तथा बिजनेस घटबढको झन्झट हाइड्रोपावरमा छैन । उत्पादन भएको विद्युत् सम्झौताअनुसार नै बिक्री हुने र आम्दानी तत्कालै हुने भएकाले यस सेक्टरका कम्पनीको कमाइप्रति लगानीकर्तामा शंका रहँदैन । जबकि यतिबेला बैंक, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स कर्जा रिकभरीको दवावमा छन् ।

त्यस्तै उत्पादन तथा प्रशोधन, होटल, व्यापार कम्पनीलाई बिक्री बढाउनुपर्ने चुनौति छ । माग नै नबढेको अवस्थामा ती सेक्टरको बिजनेस वृद्धिमा ठूलो चुनौति छ । तर हाइड्रोपावर कम्पनी ती दुवै झन्झटबाट मुक्त छन् । उत्पादन भइसकेपछि पीपीएअनुसार ऊर्जा बिक्री भइ मूल्य पाउने र असुलीमा कुनै समस्या नरहनु यस सेक्टरको सकारात्मक पक्ष हो ।

आईपीओ/हकप्रद खुलेका छन् ?

यतिबेला वैदेशिक रोजगारमा रहेका र आयोजना प्रभावित स्थानीयका लागि हिम स्टार ऊर्जा कम्पनीको आईपीओ खुलिरहेको छ ।

कम्पनीले कुल जारी पूँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशत सेयर सर्वसाधारण समूहका लागि निष्कासन गर्न लागेको हो ।

जसमध्ये १ लाख ८६ हजार ५ सय कित्ता आयोजना प्रभावितका लागि, ९३ हजार २५० कित्ता वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ । यसपछि दोस्रो चरणमा मात्रै सर्वसाधारणलाई आईपीओ खुल्नेछ ।

यसअघि सर्वसाधारणलाई खुलेको ट्रेड टावरको आईपीओ आगामी साता बाँडफाँट हुने छ ।

त्यस्तै सन नेपाल लाइफ इन्स्योरेन्स र छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । वैशाख ४ गतेसम्म कायम सेयरधनीले सन नेपाल लाइफको हकप्रदमा असार ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै छ्याङ्दी हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको छ । जेठ १ गतेसम्म कायम सेयरधनीले असार १२ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।

कस्तो रहला आगामी साताको बजार ?

विगतका चार सातालाई फर्केर हेर्दा पहिलो साता २.९४ प्रतिशत बढेको बजार दोस्रो साता ०.१८ प्रतिशत बढ्यो । तेस्रो साता १.९६ प्रतिशत घट्यो भने अन्तिम साता ०.५६ प्रतिशत बढेको छ ।

लामो अवधिका लागि बजार उकालो लाग्ने संकेत गरिरहेको छ । यो साता कारोबार रकम उल्लेख्य देखिएको छ । बुधबार फागुन २० यताकै उच्च कारोबार भएको छ । तसर्थ बजारमा कारोबारको क्रममा उत्साह देखिएको छ ।

अर्कोतर्फ न्यून ब्याजदर, उच्च सेयर धितो कर्जा प्रवाह, संस्थागत लगानीकर्ताको बढेको लगानी लगायत पक्षले बजार बढ्ने आधार बलिया देखिएका छन् ।

यीबाहेक राजनीतिक घटनाक्रम, नयाँ नीतिगत व्यवस्था, कम्पनीको आन्तरिक वित्तीय स्थिति जस्ता पक्षले बजार प्रभाव पार्ने भएकाले चनाखो हुन जरुरुत छ ।

कता जाँदैछन् विश्वका ठूला बजार ?

अमेरिकाको डाओ जोन्स इन्डेक्स यो साता ०.७९ प्रतिशत बढ्यो । एक महिनामा भने यो सूचक १.९६ प्रतिशत बढिसकेको छ ।

त्यस्तै ठूला कम्पनीको एस एण्ड पी ५०० सूचक यो साता ०.९७ प्रतिशत बढेको छ । एक महिनामा यो सूचक २.७० प्रतिशत बढेको छ ।

जापानको निक्की सूचक भने यो साता ०.५१ प्रतिशत घटेको छ । एक महिनामा यो सूचक ०.९१ प्रतिशत घटिसकेको छ ।

चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता ०.३५ प्रतिशत घट्यो एक महिनामा यो सूचक ०.०६ प्रतिशत बढेको छ । भारतको बीएसई सेन्सेक्स यो साता १.६५ प्रतिशत घट्यो । समग्रमा यो सूचक एक महिनामा ०.०३ प्रतिशत घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?