+
+
Shares

बूढानीलकण्ठ घटना : विषका ३ वटा बट्टा भेटियो, हत्यापछि आत्महत्याको आशंका

परमनारायणको आफैंले जागिर दिएर राखेकी अन्जनासँग विवाहत्तेर सम्बन्ध रहेको र त्यसमा दरार आएपछि हत्यादेखि आत्महत्यासम्मको स्थितिमा पुगेको एक अनुसन्धान अधिकारी बताउँछन् ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ असार १ गते २२:४०
बुढानीलकण्ठमा मृत भेटिएका दुई जनाको कोठामा भेटिएका सामग्रीहरू दाया–बायाँ (बीचमा घटनास्थल)

१ असार, काठमाडौं । धादिङको गल्छी गाउँपालिका-६ घर भएकी २८ वर्षीया अन्जना तामाङ शुक्रबार अबेरसम्म डेरामा फर्किनन् । बुढानीलकण्ठ नगरपालिका-४ पासिकोटस्थित एक व्यक्तिको घरमा काम गर्ने अन्जना दुई छोरीसहित काठमाडौंमा बस्दै आएकी थिइन् ।

साँझसम्म डेरामा नफर्किएपछि आफन्तले अन्जनालाई फोन गरे । तर सम्पर्क हुन सकेन । आफन्तले उनको बारेमा केही जानकारी पाएनन् ।

परिवारलाई अन्जना काम गर्ने पासिकोटस्थित घर भने थाहा थियो । साँझ ६ बजेतिर अन्जनालाई खोजी गर्दै आफन्त पासिकोट पुगे ।

थ्री स्टार किडजोन स्कुलको कम्पाउन्डभित्र दुईवटा घर छन् । एउटामा स्कुल छ भने अर्को घर भाडामा लिएर एकजना भारतीय नागरिक बसोबास गर्दै आएका थिए ।

सुनिता सिंह ठकुरीको त्यो घरमा भाडामा बस्ने व्यक्ति हुन्, भारतको चन्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल । उनी पेसाले फोटोग्राफर हुन् । करिब डेढ वर्षदेखि उनी उक्त घरमा भाडामा बस्दै आएका थिए ।

सोही घरबाट उनले एउटा अफिस समेत राखेर फोटाग्राफरको काम गर्दै आएका थिए । विशेषगरी उनी विभिन्न समारोह (विवाह, ब्रतबन्ध, पास्नी)हरूको फोटो खिच्ने काम गर्छन् ।

अन्जनाका आफन्त शुक्रबार साँझ उक्त घरमा पुग्दा बत्ती बलिरहेको थियो । उनीहरूले अन्जनालाई बोलाए । तर भित्रबाट कुनै प्रतिक्रिया आएन । ढोका ढकढक गरिरहे । यति गर्दा पनि भित्रबाट कुनै जवाफ आएन । त्यसपछि वरपरका स्थानीयलाई अन्जनाका आफन्तले डाके । आफन्त र स्थानीय भएर बोलाउँदा पनि कुनै प्रतिक्रिया नआएपछि शुक्रबार साँझै प्रहरीलाई खबर गरियो ।

त्यसपछि प्रहरी वृत्त महाराजगञ्ज, प्रहरी प्रभाग बुढानीलकण्ठ समेतको टोली घटनास्थल पुग्यो । ढोकामा भित्रबाट चुकुल लगाइएको थियो । ढोका फोडेर हेर्दा अवस्था दर्दनाक देखिएको प्रहरीले बताएको छ ।

ढोका फोडेर हेर्दा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपीलराज बोहराले बताए । भारतीय नागरिक परमनारायण र अन्जना दुवै मृत अवस्थामा भेटिएका थिए ।

हत्यापछि आत्महत्याको आशंका

दुई व्यक्ति नै मृत भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अहिलेसम्मको अनुसन्धानले अन्जनाको हत्यापछि भारतीय नागरिक परमनारायणले आत्महत्या गरेको आशंका प्रहरीले गरेको छ ।

ढोका बाहिरबाट ताला लगाएको र भित्रबाट समेत चुकुल लगाएको अवस्थामा थियो । एउटा ढोकामा बाहिरबाट चाबी लगाएर अर्को ढोका, झ्यालबाट परमनारायण भित्र प्रवेश गरेको हुनसक्ने देखिएको प्रहरीले बताएको छ ।

मृतक अन्जनाको टाउकाको दाहिने भागमा चोट रहेको प्रहरीले बताएको छ । टाउकामा ह्याम्मर जस्तै धार नभएको हतियार प्रहार गरेजस्तो देखिएको प्रहरीले अनुमान गरेको छ ।

किनकि, उनले लगाएको कपडाको खल्तीमा समेत ढोकाको चाबी भेटिएको एक अनुसन्धान अधिकृतले बताए । ‘मृतक परमनारायणले लगाएको कपडाको खल्तीमा ढोका चाबी भेटिएको छ । बाहिर रहेको सीसी क्यामेराको फुटेज हेर्दा कोही शंकास्पद व्यक्तिको आउजाउ देखिँदैन । जसका कारण हत्यापछि आत्महत्या गरेको हुनसक्ने हामीले विश्लेषण गरेका छौं,’ एक अनुसन्धान अधिृकतले अनलाइनखबरसँ भने ।

मृतक अन्जनाको टाउकाको दाहिने भागमा चोट रहेको प्रहरीले बताएको छ । टाउकामा ह्याम्मर जस्तै धार नभएको हतियार प्रहार गरेजस्तो देखिएको प्रहरीले अनुमान गरेको छ ।

उक्त घरको दोस्रो तलाको कोठाको सोफामा अन्जनाको शव भेटिएको थियो । सोफामा बसिरहेको बेलामा कुनै वस्तु टाउकामा प्रहार गरेर हत्या गरेजस्तो देखिएको प्रहरीले बताएको छ ।

भेटिए विषका ३ वटा बट्टा

घटनामास्थलमा ३ वटा किटानशक विषादीका बट्टा भेटिएको एक अनुसन्धान अधिृकतले बताए । जसमध्ये दुईवटा बट्टा खाली थिए भने एउटा बट्टामा विषादी थियो ।

अन्जना मृत भेटिएको सोफा नजिकै भुईंमा परमनारायणको शव भेटिएको थियो । ‘तीनवटा विषका बट्टा भेटिनु र दुईवटा खाली हुनुले अन्जनाको हत्यापछि परमनारायणले विष सेवन गरेको हुनसक्ने देखिन्छ । त्यसमाथि उक्त घरमा अरु व्यक्ति समेत प्रवेश गर्नसक्ने अवस्था नदेखिएकाले हत्यापछि आत्महत्या गरेको हुनसक्ने विश्लेषण गरेका छौं । यद्यपि, विस्तृत अनुसन्धान हुन भने बाँकी नै छ,’ एक अनुसन्धान अधिकृतले भने ।

परमनारायणले उक्त घरमा ४ वटा कुकुर पालेका थिए । जसमध्ये एउटा कुकुर उनीहरूसँगै त्यही कोठामा मृत भेटिएको छ । कुकुरलाई पनि कुनै वस्तुले प्रहार गरेर हत्या गरेजस्तो देखिएको प्रहरीले बताएको छ ।

विवाहेत्तर सम्बन्धमा दरार भएपछि हत्याको आशंका

मृत भेटिएका दुवैजना विवाहित हुन् । परमनारायणकी श्रीमती फ्रान्समा बसोबास गर्ने गरेको प्रहरीले बताएको छ । अन्जनाका श्रीमान् पनि वैदेशिक रोजगारीमा खाडी मुलुकमा बस्ने गरेको पाइएको छ ।

दुवैजनाका छोराछोरी समेत भइसकेका छन् । परमनारायणकी एक छोरीको त विवाहसमेत भइसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।

परमनारायणको आफैंले जागिर दिएर राखेकी अन्जनासँग विवाहत्तेर सम्बन्ध रहेको र त्यसमा दरार आएपछि हत्यादेखि आत्महत्यासम्मको स्थितिमा पुगेको एक अनुसन्धान अधिकारी बताउँछन् ।

दुवैजनाका छोराछोरी समेत भइसकेका छन् । परमनारायणकी एक छोरीको त विवाहसमेत भइसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।

‘दुवैजनाको श्रीमान्-श्रीमती बाहिर रहेको पाइएको छ । सँगै काम गर्ने भएकाले उनीहरूबीच विवाहत्तेर सम्बन्ध रहेको देखिने केही क्लुहरू फेला परेका छन् । त्यही सम्बन्धमा दरार आएपछि हत्या र आत्महत्या भएको हुनसक्ने देखिन्छ,’ एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने ।

वैदेशिक रोजगारीबाट नेपाल आएका अन्जनाका श्रीमान् ३ दिनअघि मात्रै विदेश गएको पाइएको छ । श्रीमान् विदेश गएको ३ दिनमै अन्जनाको हत्या भएको छ ।

अहिले दुवैजनाको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पतालमा राखिएको छ । दुवैका आफन्त प्रहरीकै सम्पर्कमा छन् ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?