
News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा थापा पहिलोपटक रंगमञ्चमा ‘मीरा’ नाटकबाट प्रवेश गरेकी हुन्।
- उनीले यस नयाँ यात्रालाई कला साधनाको महत्त्वपूर्ण आयाम मान्छिन्।
- उनले नाटकले चलचित्रमा भन्दा नयाँ अनुभव र सकारात्मक प्रभाव दिएको बताइन्।
साढे दुई दशकको फिल्मी करियरमा अभिनेत्री रेखा थापा पहिलो पटक रंगमञ्चमा प्रवेश गरेकी छिन् ।
कान्तिपुर थिएटर, गैरीधारामा दीपक सिंजाली लिखित तथा सुन्दर धिताल निर्देशित नाटक ‘मीरा’बाट उनी यसतर्फ मोडिएकी हुन् ।
गत १५ जेठदेखि मञ्चन भइरहेको नाटकमा उनले शीर्षक पात्र ‘मीरा’ को भूमिका निर्वाह गरेकी छिन् । जसमा १७–१८ वर्षकी र ३५–३६ वर्षकी दुईवटा मीराको चरित्र समावेश छ । नाटकमा उनको यस आगमनले धेरैको ध्यान पनि खिचेको छ । यस नयाँ यात्रालाई उनले कला साधनाको अर्को महत्त्वपूर्ण आयामका रूपमा लिएको बताउँछिन् ।
फिल्ममात्र गर्दै आएकी उनका लागि रङ्ममञ्च पूर्णरूपमा नौलो अनुभव हो । यस नाटकअघि भने उनी दुई वर्षसम्म फिल्ममा देखिएकी थिइनन् । उनको पछिल्लो फिल्म उपहार(२०८०) हो ।
यसरी पछिल्लो समय फिल्ममा प्रत्यक्ष नदेखिएकी उनलाई कान्तिपुर फिल्म एकेडेमी तथा कान्तिपुर थिएटरका सञ्चालक प्रकाश पुरीले नाटक गर्ने प्रस्ताव गरे । त्यसबेला उनी आफ्नो ‘मदरहुड’ कार्यक्रमको सुटिङमा व्यस्त थिइन् । यो थिएटर हालै मात्र खुलेको हो ।
त्यस्तोमा उनले सो प्रस्ताव सहजै स्वीकार गरिन् । तुलनात्मक रूपमा रङ्गमञ्चको आर्थिक पाटो कमजोर नै भए पनि आफू जस्ता स्थापित कलाकारले माया र सहयोग गरेर यस क्षेत्रलाई सशक्त बनाउनु आफ्नो कर्तव्य र दायित्व भएको उनी ठान्छिन् ।
नाटक गर्नुमा उनले यसलाई पनि एउटा कारण मानेकी छिन् । यससँगै चलचित्रमा ग्याप देखिरहेको बेला नाटक खेल्दा दर्शकहरूलाई उनी सधैँ ’साधना’मा व्यस्त रहेको सन्देश जाने भएको पनि नयाँ अवतारमा आफू आएको उनको भनाइ छ ।
चलचित्रमा ’एक्सन-कट’ को सीमाभित्र काम गर्दा भन्दा नाटकमा आफ्नो कलालाई पूर्णरूपमा ’रिभाइभ’ वा ’रिचार्ज’ गर्ने अवसर पाएको महसुस गरेको उनी सुनाउँछिन् । उनको अनुभवमा फुटबल खेलाडीले अभ्यास गरेझैँ वा गायकले रियाज गरेझैँ कलाकारका लागि ’साधना’ गर्ने ठाउँ रंगमञ्च हो ।

अहिले एउटै सेटमा उनी करिब डेढ घण्टासम्म ‘मीरा’ बनिरहेकी छिन् । चलचित्रमा ’सुपरस्टार’ वा ’हिरोइन’ को उपमा दिइए पनि रंगमञ्चमा आफूलाई त्यस छविबाट अलग्याएर ’मीरा’ को चरित्रमा पूर्णरूपमा डुबाउन सफल भएको उनी सुनाउँछिन् ।
‘अहिले नाटक हेर्न आउनुहुने दर्शकहरूले मलाई ’रेखा थापा’ को रूपमा नभई ’मीरा’ कै रूपमा महसुस गरिरहनु भएको छ’ उनी भन्छिन्, ‘चलचित्रमा जतिसुकै फरक भूमिका खेले पनि त्यहाँ ’रेखा थापा’ नै देखिन्छ । तर नाटकमा चाहिँ ’मीरा’ देखिएको छ ।’
अब नाटक गर्दा पाएको त्यो ’पुनरागमन’ले आगामी चलचित्रको अभिनयलाई पनि सकारात्मक प्रभाव पार्ने विश्वास उनमा छ । किनकि अहिलेसम्म नाटक हेर्न आउने दर्शकहरूले आफूलाई चलचित्रमा भन्दा अझ बढी प्रतिभाशाली र मेहनती देखेको भन्ने प्रतिक्रिया दिइरहेको उनी सुनाउँछिन् ।
अबको यात्रा
अब उनको यो नाटक ७ असारसम्म मञ्चन हुने छ । तर फिल्मसँगै नाटकमा पनि केही गर्नुपर्छ भन्ने महसुस भएको छ उनलाई । अब यस नाटक पछि पनि रंगमञ्चमा आफूलाई दर्शकहरूले विभिन्न भूमिकामा देख्न सक्ने उनले बताइन् । ‘म सशक्त र समाजलाई रूपान्तरण गर्ने विषयवस्तुमा आधारित नाटक खेल्न चाहन्छु, ता कि दर्शकले नाटक हेरेपछि ’परिवर्तन’ वा ’रूपान्तरण’ भएको महसुस गरून्’ रेखा भन्छिन् ।
यससँगै रंगमञ्चलाई पनि आफूले सहयोग गर्न चाहिरहेको उनी बताउँछिन् । ‘नाटक निर्माण गरेर होस्, निर्देशन गरेर होस् वा अभिनय गरेर होस्, कुनै न कुनै रूपमा आगामी दिनमा नाट्य क्षेत्रमा मेरो भूमिका हुनेछ’ उनले प्रतिवद्धता जनाइन् ।
विशेषगरी नयाँ पुस्ताका कलाकारहरूका लागि सशक्त मञ्च र ’प्लेटफर्म’ तयार गर्न मिल्ने गरी यस क्षेत्रमा रहिरहने उनको भनाइ छ ।
नम्बर वान हिरोइन
सन् २००१ को ‘हिरो’ चलचित्रमार्फत नेपाली सिने नगरीमा उनको प्रवेश भयो । फिल्ममा सहायक नायिकाको भूमिकामा देखिए पनि उनको करियरका लागि भने ’फलिफाप’ साबित भयो ।
किनकि सो फिल्म पछि उनलाई काम पाउन समस्या भएन । अनि आधा दर्जन फिल्ममा काम गरिसक्दा नसक्दै उनले आफूलाई पुष्टि गर्न सकिन् । फिल्म गर्दै जाँदा नेपाली रजतपटमा ’नम्बर वान हिरोइन’ को उपाधि कब्जा गर्न पनि उनी सफल भइन् ।
सम्भवतः नेपाली फिल्म उद्योगमा ’बोल्ड’ नायिकाको अभाव महसुस भइरहेका बेलाको प्रवेशले उनलाई यस क्षेत्रबाट कहिल्यै पछाडि फर्किनु परेन । उनको हट अवतार र ग्ल्यामरस प्रस्तुतिले फिल्म निर्माताहरूलाई समेत ’रेखालाई लिए फिल्म चल्छ’ भन्ने अवस्था थियो ।
यस्तो हुनुमा उनको स्वाभाविक आत्मविश्वास, बच्चैदेखिको जिद्दी, हिम्मती र विद्रोही स्वभाव पनि फिल्मका पात्रहरूमा देखिनु थियो । जसलाई दर्शक र निर्माता दुवैलाई मन पराइरहे ।
विशेषगरी थापाका चलचित्रहरूमा नारी आवाजलाई बुलन्द तरिकाले उठाइएको पाइन्छ । जसले उनलाई केवल ग्ल्यामर आइकनको रूपमा मात्र नभई सामाजिक सन्देश बोक्ने कलाकारको रूपमा पनि स्थापित गरेको छ ।
महिलाप्रधान भूमिकामा सशक्त अभिनय गरेर नेपाली चलचित्रमा नारी पात्रको महत्वलाई बढावा दिनमा उनको ठूलो भूमिका छ । किनकि त्यसअघि यस प्रकारका चलचित्र खासै बनेका थिएनन् ।
अधिकांश चलचित्रमा अभिनेताहरू नै प्रधान हुन्थे । तर रेखाका चलचित्रहरू तीभन्दा कम भएनन् । त्यस्तो हुनुमा मुख्य कारण भनेको महिलाका कथाहरू, उनीहरूको संघर्ष र विजयलाई पर्दामा ल्याउनु थियो ।
त्यस्तै ’ग्ल्यामर’ र एक्सन–प्याक्ड’ शैली पनि उनको सफलताको प्रमुख कारण हो । यद्यपि कथावस्तु र अभिनयलाई दर्शकहरूले महत्व दिन थाले पश्चात् भने ’स्टारडम’मा मात्र आधारित थापाका जस्ता शैली स्वाभाविक रूपमा कम प्रभावकारी हुन थाले ।
यसरी नेपाली रजतपटमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय रहेकी उनले आजसम्म २०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् । अभिनयसँगै निर्माता र निर्देशकको उनको रूपमा पनि यस उद्योगले देखिसकेको छ ।
वरमाला, सहारा, दमदार, कवच, हिम्मत, किस्मत, अन्दाज, रामप्यारी, काली आदि उनका केही हिट फिल्महरू हुन् ।
प्रतिक्रिया 4