+
+
Shares

खामभाषी मगरहरूले टुँडिखेलमा मनाए भूमे पर्व (तस्वीरहरू )

भूमि तथा प्रकृतिको पूजा गरिसकेपछि विभिन्न पाँच प्रकारको बाजा बजाएर टुँडिखेलमा मगर समुदायका महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाएका हुन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असार १ गते १९:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खामभाषी मगरहरूले आफ्नो मुख्य चाड भूमे काठमाडौँको टुँडिखेलमा मनाए।
  • मन्त्री बद्रीप्रसाद पाण्डेले भूमे पर्व वैज्ञानिक आधार भएको बताए।
  • रुकुमपूर्व र रोल्पा लगायतका स्थानहरूमा भूमे पर्वको रौनक बढेको छ।

१असार, काठमाडौं। खामभाषी मगरहरुले आफ्नो मुख्य चाड भूमे काठमाडौँको टुँडिखेलमा धुमधामका साथ मनाएका छन् ।

भूमि तथा प्रकृतिको पूजा गरिसकेपछि विभिन्न पाँच प्रकारको बाजा बजाएर टुँडिखेलमा मगर समुदायका महिला, पुरुष, बालबालिका नाचेर यो पर्व मनाएका हुन् ।

टुँडिखेलमा आयोजित ‘भूमे पर्व–२०८२’ लाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले भूमे पर्व केवल सांस्कृतिक परम्परा नभई वैज्ञानिक आधार भएको पर्व भएको बताए ।

मन्त्री पाण्डेले भने, ‘भूमिलाई पूजा गर्ने चलन पुरातन मान्यता मात्र होइन, वैज्ञानिक विषय पनि हो । जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिन थालेको छ । बाढी–पहिरो बढेको छ । सिङ्गो जगत् नै सङ्कटमा छ । यस्तो अवस्थामा भूमि पूजाले प्रकृतिप्रतिको सम्मान र दिगोपनाको सन्देश दिन्छ।’

वर्षातको समयमा बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोस नहोस् र बालीनाली सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।

यस पर्वलाई नयाँ कामको सुरुवात गर्ने दिन, वर्षभरिको कामको योजना बनाउने दिनका रूपमा पनि लिने गरिन्छ । मगर समुदायको बाहुल्य रहेको रोल्पा, रुकुम दाङलगायतका स्थानहरू पनि भूमे (भुम्या) मनाउने गरिन्छ ।

यसैगरी मुसीकोट समाचारदाता अनुसार बहुसङ्ख्यक मगर समुदाय रहेको रुकुमपूर्वमा भूमे पर्वको रौनक बढेको छ । जिल्लामा रहेको मगर बस्तीहरूलाई यति बेला खाम मगरको सबैभन्दा ठूलो चाड भूमे नाच अर्थात् बल पूजाको उत्साह छ ।

जिल्लाभित्रका सिस्ने गाउँपालिका, पुथा उत्तरगङ्गा गाउँपालिका र भूमे गाउँपालिकामा यति बेला भूमे नाच चलिरहेको भूमे गाउँपालिकाका चन्द्र रसाइलीले जानकारी दिनुभयो । हरेक वर्षको जेठ १५ गतेका दिन विधिपूर्वक लेकबाट बुकीको फूल टिपेर ल्याई बलपूजा सुरु हुने गर्छ । बलपूजासँगै सुरु हुने यो नाच जेठ १५ गतेदेखि असार १ गतेसम्म करिब नियमित नाचिन्छ । स्थानअनुसार जेठ मसान्त र असार १ गतेका दिन लेकमा गएर बास बस्ने र फूल तथा रुख लिएर गाउँमा आएर धुमधामसहित नाचगान गर्दै बलि चढाउने गरिन्छ ।

भूमे पर्वमा सबै मगर सँगै भेला भएर रमाइलो गर्दा आफूहरूको दुःख, पीर बिर्सने र मन खुसी हुने विश्वास छ । यस्तै मगर जातिले पृथ्वी अर्थात् भूमिलाई आफ्नो मुख्य देवताका रूपमा मानेर पुज्ने चलन छ ।

भूमिको पूजा भएपछि देवता खुसी हुने र त्यसपछि अनिकाल नलाग्ने, पृथ्वीमा कुनै पनि प्रलय नआउने र दुःखको नास भई पृथ्वीबासी सबैमा खुसी आउने जनविश्वास छ । भूमे नाच महिला पुरुषसँगै भएर लहरै नाचिन्छ । यस नाचमा वयस्क, वृद्धवृद्धाका साथै युवा पुस्ताको पनि उत्तिकै आकर्षण छ । उनीहरू पनि साथीहरूसँग रमाएर आफ्नो मौलिक पोसाकमा सजिएर बाजाको तालमा लहरै लागेर भूमे नाच नाच्ने गर्छन् ।

हेर्नुहोस् तस्वीरहरू : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?