
२ असार, काठमाडौं । इलाम जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाइलबाट सुन र चाँदीको जलप लगाएका गहनासहित २ जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीको टोलीले आइतबार ३२ लाख ६९ हजार ५५७ रुपैयाँ बराबर चाँदी र सुनको जलप लगाएको गहनासहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरू भारतको हिमालचल प्रदेश घर बताउने ३८ वर्षीय अभिनास बोध र ३५ वर्षीय रवि कुमार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगरबाट खटिएको सुरक्षा फौजले विशेष सूचनाको आधारमा नियन्त्रणमा लिएको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई जाँच गर्दा झोलाबाट १७ किलो ४०० ग्राम चाँदी र ५ किलो सुनको जलप लगाएका गहना र विभिन्न किसिमका सामान फेला परेको थियो ।
परीक्षणका क्रममा ती गहनामा सुन-चाँदीको जलप लगाएको पुष्टि भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाइएको छ ।
प्रतिक्रिया 4