
News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिविको कार्यकारी परिषद्ले बेतलबी बिदा जोडेर पेन्सन लिन नपाइने निर्णय गरेको हो।
- स्रोतका अनुसार समिति बनाएर बेतलबी बिदा र पेन्सनसम्बन्धी अध्ययन गरिनेछ।
- बेतलबी बिदालाई सेवा अवधिमा गणना नगर्ने निर्णय पनि गरिएको छ।
२ असार, काठमाडौं । प्राध्यापक र कर्मचारीलाई बेतलबी बिदा जोडेर पेन्सन दिने निर्णय त्रिविले उल्ट्याएको छ । शुक्रबार त्रिविको कार्यकारी परिषद्ले बेतलबी बिदा जोडेर पेन्सन लिन नपाइने निर्णय गरेको हो ।
‘शुक्रबार भएको निर्णयमा कार्यकारी परिषद्का सदस्यले आइतबार हस्ताक्षर गर्नुभएको छ’, त्रिविका एक अधिकारीले भने । नियमविपरीत त्रिविका प्राध्यापकले पेन्सन लिने गरेको समाचार अनलाइनखबरमा प्रकाशित भएको थियो । ‘अब बेतलबी बिदा पेस्नसमा जोडिदैन’, त्रिविका एक उच्च अधिकारीले भने ।
यसअघि बेतलबी बिदा जोडेर पेन्सन लिएको रकम फिर्ता गराउने वा नगराउने भन्नेबारे त्रिविले निर्णय गरेको छैन । स्रोतका अनुसार समिति बनाएर छानबिन गर्ने तयारी त्रिविको छ ।
‘बेतलबी बिदा जोडेर पेन्सन खाने प्राध्यापक कति छन् । कति रकम गएको छ यसबारे छुट्टै अध्ययन आवश्यक छ । यसका लागि कमिटी बनाएर अध्ययन गर्ने विषय कार्यकारीमा उठेको छ’, ती अधिकारीले भने ।
त्रिविको शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० को नियम ३२ मा असाधारण (बेतलबी) बिदाको व्यवस्था गरिएको छ । जसमा स्थायी शिक्षक वा कर्मचारीले असाधारण बिदा लिन चाहेमा कारणसहित निवेदन दिनुपर्नेछ । कारण मनासिव देखिएमा त्रिविले एक पटकमा एक वर्ष नबढाई र सेवा अवधिभरमा तीन वर्ष नबढाई असाधारण बिदा दिन सक्नेछ ।
त्रिविको नियममा असाधारण बिदामा बस्ने शिक्षक, कर्मचारीले सो अवधिभर तलब भत्तापाउने छैन । सो बिदा पाउनको लागि पाँच वर्ष स्थायी सेवा अवधि पुगेको पनि हुनुपर्नेछ । र, असाधारण बिदाको स्वीकृत कार्यकारी परिषद्ले गर्ने नियम छ ।
२०६८ मा नियम संशोधन हुनुअघि नियम ३२ मा कुनै बिदा बाँकी नरहेमा वा सम्बन्धित शिक्षक वा कर्मचारीले बेतलबी बिदा पाउन निवेदन गरेको अवस्थामा स्थायी शिक्षक वा कर्मचारीलाई सम्पूर्ण सेवा अवधिमा अधिकतम ३ वर्षको बिदा दिइने भनिएको थियो ।
दुई वर्षभन्दा बढी अस्थायी वा करार सेवामा भएकालाई एक पटकमा २ महिनामा नबढाई सम्पूर्ण अस्थायी वा करार सेवा अवधिमा बढीमा ६ महिनाको बेतलबी बिदा दिन सकिने उल्लेख थियो ।
१५ वर्षभन्दा बढी अवधिको निमित्त पद सिर्जना भएका प्रोजेक्ट वा परियोजनाका अस्थायी पदमा सो अवधिभित्र नै उपभोग गर्ने गरी बढीमा ३ महिनासम्म असाधारण बिदा दिइने नियम थियो । तर, असाधारण बिदालाई सेवा अवधिमा गणना गर्ने भनेर नियममा उल्लेख गरिएको थिएन । निजामती सेवामा पनि असाधारण बिदालाई सेवा अवधिमा गणना नगर्ने व्यवस्था छ ।
बेतलबी बिदालाई सेवा अवधिमा जोडेर शिक्षक, कर्मचारीले पेन्सन खाँदा त्रिविलाई ठूलो आर्थिक भार परेको देखिन्छ । त्रिविका अनुसार हाल उपप्राध्यापकदेखि प्राध्यापकसम्म कुल ४ हजार १५६ जनाले पेन्सन लिइरहेका छन् ।
अनलाइनखबरले गरेको खोजबिनमा बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाने प्राध्यापक १२६ जना भेटिएका थयो । तर, यो संख्या अझै धेरै हुने त्रिविका कर्मचारीहरूको दाबी छ ।
१२६ जना प्राध्यापकको मात्रै हिसाब गर्दा पनि त्रिविबाट वार्षिक ६ करोड ७३ लाख बढी रकम पेन्सनमा गएको देखिन्छ । यो रकममा बेतलबी बिदासमेत जोडिएको छ । बेतलबी बिदा जोडेर पेन्सन खानेमा त्रिविका पूर्व पदाधिकारीहरूसमेत संलग्न थिए ।
यो सँगै त्रिविको कार्यकारी परिषद्ले बेतलबी काजलाई पेन्सनमा गणना नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्बाट निर्णय भएकाको हकमा मात्र बेतलबी काजलाई पेन्सनमा जोड्ने निर्णय गरेको छ । बेतलबी काजमा त्रिविका प्राध्यापक विभिन्न निकायमा नियुक्ति खान जादा त्रिविको पठनपाठनमा असर परेको थियो । ‘मन्त्रिपरिषद्बाट निर्णय भएकाको मात्र बेतलबी काज पेन्सनमा जोडिन्छ । अरुको हकमा अब जोडिदैन’, त्रिविका एक अधिकारीले भने ।
प्रतिक्रिया 4