
३ असार, काठमाडौं । इजरायलको आक्रमण तीव्र भएपछि भारतले इरानमा रहेका आफ्ना विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
दुवै देशसँग सम्बन्धमा रहेको भारतले इजरायली आक्रमणबाट जोगिन आफ्ना विद्यार्थीहरुलाई इरानकै सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
केही विद्यार्थीलाई इरानस्थित भारतीय दूतावासको सहयोगमा इरानकै सुरक्षित स्थानहरूमा सारिएको भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तर कुन ठाउँबाट कुन ठाउँमा विद्यार्थीहरुलाई सारियो भन्ने विज्ञप्तिमा उल्लेख छैन ।
सुरक्षाका लागि अन्य सम्भावित विकल्पबारे छलफल भइरहेको र कुनै नयाँ जानकारी भए त्यसलाई सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।
गत वर्षको सरकारी तथ्यांकअनुसार इरानमा करिब १० हजार भारतीय नागरिक छन् । यसैगरी २०२२ को तथ्यांक अनुसार इरानमा दुई हजारभन्दा बढी भारतीय विद्यार्थी रहेका छन् ।
गत शुक्रबार इजरायलले इरान विरुद्ध पहिलो आक्रमणपछि इरानले पनि जवाफी हमला गरिरहेको छ । सोमबार रातिसम्म पनि दुवैतफर्mबाट आक्रमण जारी छ ।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आत्रमणबाट कम्तीमा २ सय २४ जनाको मृत्यु भएको जनाएको छ । यस्तै तेहरानले जवाबी आक्रमण सुरु गरेदेखि एक दर्जनभन्दा बढीको मृत्यु भएको इजरायली अधिकारीहरूले जनाएका छन् ।
इरान र इजरायलले दुवैले हवाई र समुद्री मार्गहरु बन्द गरेका छन् ।
यसैबीच भारतले इरान र इजरायल दुवै देशलाई सम्भावित सहयोग विस्तार गर्न तयार रहेको पनि बताएको छ ।
प्रतिक्रिया 4