+
+
Shares

१३ वर्षसम्म गाडी नदेखेका हेनरी फोर्डको रोचक कथा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेनरी फोर्डले ३० जुलाई १८६३ मा मिशिगनको ग्रीनफिल्ड टाउनशिपमा जन्मिए।
  • उनी फोर्ड मोटर कम्पनीका संस्थापक र एसेम्बली लाइन प्रविधिका विकासकर्ताका रूपमा परिचित छन्।
  • उनले १९०८ मा मोडेल टी निर्माण गरी विश्वव्यापी सफलता हासिल गरे।

हेनरी फोर्ड सानैदेखि जिज्ञासु र सिर्जनशील बालक थिए । उनको मनमा मेसिन र प्रकृतिको रहस्यबारे सधैं कुरा खेलिरहन्थ्यो । उनको त्यही स्वभावले यातायात तथा उत्पादन प्रक्रियामा क्रान्तिकारी परिवर्तन ल्यायो ।

उनी फोर्ड मोटर कम्पनीका संस्थापक हुन् । उनकै अग्रसरतामा ठूलो मात्रामा कारहरू उत्पादन गर्न मिल्ने एसेम्बली लाइन प्रविधिको विकास भयो । त्यसले गर्दा आज कारहरू विलासिताको वस्तुबाट आम मानिसको पहुँचमा पुग्न सफल भएको छ।

अटोमोबाइल क्षेत्रका यस्ता हस्तीको जन्म ३० जुलाई १८६३ मा मिशिगनको ग्रीनफिल्ड टाउनशिप (हाल डियरबोर्न) नजिकैको एउटा फार्ममा भएको थियो । उनी विलियम र मेरी फोर्डका आठ सन्तानमध्येका एक थिए ।

उनका बुबा आइरिश र आमा बेल्जियम मूलकी थिइन् । किसान पृष्ठभूमिका कारण हेनरीले आफ्नो बाल्यकाल खेतमा बिताउनु परेको थियो । जुन उनको इच्छाको काम थिएन । तर त्यसले कडा परिश्रमको महत्त्व भने उनले राम्ररी सिके ।

अनि उनी त्यहीँको एक स्थानीय विद्यालयमा भर्ना पनि भएका थिए । त्यहाँ उनले आठ वर्षसम्म अध्ययन गरे । त्यसबेलासम्म ‍मेसिनप्रति उनको रुचि देखिसकेको थियो ।

उनी प्रायः घडीहरू खोलेर हेर्थे र फेरि जोड्थे । १२ वर्ष आसपासमा त उनले मेसिन पसलमा काम गर्न थालेका थिए । १५ वर्षको उमेरमा उनले आफ्नो पहिलो वाफ इन्जिन पनि बनाएका थिए । त्यसबेला छिमेकीहरूमाझ ‘घडी बनाउने’ केटा भनेर उनले परिचय पनि बनाएका थिए ।

१६ वर्ष पुगेपछि भने उनी जागिरका लागि डेट्रोइट नामक ठाउँमा गए । त्यहाँ उनले जेम्स एफ. फ्लावर र ब्रदर्स र डेट्रोइट ड्राई डक कम्पनीका पसलहरूमा मेसिन सम्बन्धी दक्ष जनशक्तिबाट काम सिक्ने काम गरे ।

सन् १८८२ मा आफ्नो एप्रन्टिससिप पूरा गरेपछि दक्षिणी मिशिगनतिर काम गर्न थाले । त्यसपछि सन् १८८८ मा उनले क्लारा ब्रायन्टसँग विवाह गरे र फेरि १८९१ मा डेट्रोइट नै फर्के ।

यसपछि उनले एडिसन एल्युमिनेटिङ कम्पनीमा इन्जिनियरको रूपमा काम गर्न थाले । त्यसको दुई वर्षमा नै १८९३ मा उनी त्यहाँको प्रमुख इन्जिनियरमा पदोन्नति भए । सोही वर्ष नोभेम्बर ६ मा उनीहरूका एकमात्र सन्तान एड्सेल ब्रायन्टको जन्म भयो ।

भनिन्छ, फोर्डले करिब १३ वर्षको उमेरसम्म कुनै पनि प्रकारको कार वा मोटर गाडी देखेका थिएनन् । उनले जीवनमा पहिलो पटक सन् १८७६ बाफबाट चल्ने गाडी देखेका थिए । तर आफैंले त्यस्तो गाडी बनाउनुपर्छ भन्ने कुरा भने उनको मन गढेर बसेको थियो ।

त्यसैले प्रमुख इन्जिनियरको काम अर्को कम्पनीमा गरिरहे पनि उनले आफ्नो रुचिको काम छाडेनन् । त्यो समय बरु झन् आफ्नो काम गर्न उनलाई पैसा र समय दुवै मिल्यो ।

त्यो समयसम्म थोमस एडिसन उनका मिल्ने मित्र बनिसकेका थिए । एडिसनले फोर्डलाई अटोमोबाइल क्षेत्रमा नै केही गर्न भनेर प्रेरणा दिइरहेका हुन्थे । एडिसन आफैं आविष्कारक थिए । तर पनि उनले फोर्डलाई ठूला सपना देख्न र आफ्नो विचारलाई यथार्थमा बदल्न सहयोग गरिरहे ।

सम्भवत: त्यसले गर्दा पनि हुन सक्छ, १८९६ सम्ममा उनले आफ्नो पहिलो घोडाविहीन गाडी पनि तयार गरे । त्यसलाई ‘क्वाड्रिसाइकल’ ‍नाम दिइएको थियो । किनकि ‍चार हर्सपावरको उक्त गाडीको चेसिस चार वटा साइकलको पाङ्ग्रामा थियो ।

उनीबाहेक चार्ल्स एडगर, जे फ्र्याङ्क डुरिया, एलवुड हेन्स जस्ता आविष्कारकहरूले पनि गाडी त बनाएका थिए । तर उनीहरूले आफ्नो आविष्कारलाई अघि बढाएनन् । यता फोर्डले आफूले बनाएको गाडी बेचे । र दोस्रो, तेस्रो गरी अन्य गाडीहरू बनाउन लागे ।

नयाँ युगको परिकल्पना

२०औं शताब्दीको सुरुसम्म घोडाले तानेर चल्ने गाडीहरू नै यातायातका प्रमुख साधन थिए । सडकहरू सुख्खा समयमा धुलाम्मे र वर्षामा हिलाम्मे हुन्थे । शहरमा ४ देखि १२ माइलप्रति घण्टाको गतिमा हिँडे पनि घोडाहरू निकै ढिलो हिड्ने गर्थे ।

त्यसमाथि शहरहरूमा घोडाको संख्या तीव्र गतिमा बढेकाले फोहोर र सरसफाइको समस्या पनि थियो । यसले मानव स्वास्थ्यमा नै असर पुर्‍याउने अवस्था पनि बन्न पुग्यो ।

त्यसबेलाका मोटरकारहरू त्यति राम्रा थिएनन् । धेरैले खेलौना मान्थे । त्यसमाथि पनि तिनीहरू महँगा थिए तर भरपर्दा थिएनन् । तिनीहरू प्राय: बिग्रिरहन्थे । दिनमा एक वा दुई पटकसम्म टायर पञ्चर हुन्थे ।

यस्तोमा फोर्डले गाडीहरू आम मानिसका लागि भरपर्दो हुनुपर्छ भनेर सोच्ने गर्थे । त्यो समस्या नै उनका लागि अवसर बनिरहेको थियो । त्यहीँ सपना पूरा गर्न एडिसन इल्युमिनेटिङ कम्पनीबाट उनले राजीनामा दिए । ठिक त्यही समयमा उनले आफ्नै पहिलो कार पनि बनाइसकेका थिए । त्यही भएर केही साथीहरूसँग मिलेर ५ अगस्ट १८९९ मा आफ्नै डेट्रोइट अटोमोबाइल कम्पनी स्थापना गरे ।

यस कम्पनीले आफ्नो ‍पहिलो उत्पादनका रुपमा एउटा ‍डेलिभरी ट्रक बनाएको थियो । तर त्यो त्यति भरपर्दो थिएन । त्यसकारण त्यस ट्रकलाई उनले तत्कालै बजारमा लैजान चाहेनन् । लगानीकर्ताहरू पैसा हेरिरहेका थिए । फोर्डले गुणस्तर । सोही कुराले कम्पनीमा मनमुटाव आयो । अन्तत: जनवरी १९०१ मा कम्पनी नै बन्द भयो ।

तर उक्त कम्पनी बन्द भए पनि फोर्डले आफ्नो सपना पूरा गर्न हार मानेका थिएनन् । त्यसैबीच उनले रेसिङ कार बनाउन लागे । उनले बनाएको ‘९९९’ नामको रेसर कार महत्त्वपूर्ण घुम्ती बनिदियो ।

बार्नी ओल्डफिल्डले कार रेसमा चलाउँदा ९९९ ले विभिन्न रेकर्डहरू कायम गर्‍यो । त्यसले फोर्डको प्रचार गर्न र कामका लागि ‍लगानीकर्ताहरूको विश्वास जित्न ठूलो सहयोग पुग्यो । परिणामस्वरूप सन् १९०३ मा फोर्ड मोटर कम्पनी को स्थापना भयो ।

फोर्ड मोटर कम्पनीको जन्म

सुरुमा यस कम्पनीमा फोर्डसहित अन्य १२ जना लगानीकर्ता थिए । उनीहरूमध्ये फोर्डको २५.५ प्रतिशत शेयरको स्वामित्व थियो । यस कम्पनीमा १९०६ देखि उनी अध्यक्ष भएका थिए ।

एक त यसमा लगानी नै कम थियो । त्यसमाथि पहिले पनि कम्पनी बन्द भएकाले उनी यो पटक निकै सजक र सतर्क थिए । सायद त्यसैले स्थापनाकको एक वर्षमै कम्पनीले आफ्नो पहिलो गाडी बनायो । जुन दुई सिलिन्डर भएको मोडेल ए थियो । सुरुआती दिनमा कम्पनीले प्रतिदिन केही संख्यामा मात्र गाडीहरू उत्पादन गर्ने गर्थ्यो । त्यसवर्ष करिब १७०० गाडी विक्री भएका थिए ।

तर कम्पनीले सफलताको स्वाद मात्र चाखेन । स्थापना भएको मात्र पाँच हप्तापछि नै लाइसेन्स प्राप्त अटोमोबाइल निर्माताहरूको संघले नयाँ कम्पनी बन्द गरिदिने धम्की दिए । किनकि फोर्डसँग लाइसेन्स थिएन । बढ्दो अटो उद्योगको मुनाफा आफ्नै पक्षमा राख्न चाहेकाले सम्बन्धित निकायले कम्पनीलाई लाइसेन्स दिएको थिएन ।

त्यसबाहेक १८९५ मा न्यूयोर्कका पेटेन्ट वकिल जर्ज बाल्डविन सेल्डनले पाएको पेटेन्ट पनि बाधक बन्यो । उनले सो पेटेन्ट सबै ग्यासोलिन (सामान्यत: पेट्रोल)ले चल्ने कारहरूमा लागू हुन्छ भन्ने दाबी गर्थे । तर फोर्डले कारहरू उत्पादन गरिरह्यो ।

त्यही कारणमा सेल्डनले सो पेटेन्टलाई आधार बनाएर हेनरी फोर्ड र फोर्ड मोटर कम्पनीविरुद्ध सन् १९०३ मा मुद्दा दायर गरे । तर फोर्डका अनुसार सो पेटेन्ट अव्यावहारिक थियो । तर सन् १९०९ मा अदालतले फोर्डको विपक्षमा फैसला सुनायो । तर अपिल गरेका कारण सन् १९११ मा सो मुद्दा फोर्डको पक्षमा नै आयो । त्यसले अटो उद्योगमा ठूलो प्रभाव पार्‍यो ।

मोडल टी

१९०८ अक्टोबरमा साधारण जनताका लागि मोटर कार बनाउने भन्दै फोर्डले मोडेल टीको घोषणा गरेका थिए । उनले भनेको कुरा पूरा भयो । किनकि १९ वर्षमा विश्वभर विक्री भएका कारमध्ये ५० प्रतिशत यही ‘मोडेल टी’ थियो ।

यसको कारण मूल्य र गुणस्तर थियो । तत्कालीन गाडीहरूको औसत मूल्यभन्दा आधा सस्तोमा यो गाडी पाइन्थ्यो । त्यसमाथि यो गाडी ग्रामीण सडकहरूका लागि उपयुक्त थियो ।

कम्पनीलाई यस हदसम्म सफलता दिनुमा यस मोडलको ठूलो भूमिका छ ।

उतारचढाव

फोर्ड कम्पनीमा झेल्नु परेको उतारचढाव लामै समयसम्म रहन गयो । विशेषगरी छोरा एड्सेलसँग मतभेद, बजारको प्रतिस्पर्धा, कम्पनी व्यवस्थापन, श्रमिक विवाद जस्ता कुराले उनलाई सताइरह्यो ।

उनका छोरा एड्सेल फोर्ड औपचारिक रूपमा सन् १९१५ देखि नै कम्पनीमा जोडिएका थिए । कम्पनीका लागि उनले डिजाइन र व्यवस्थापनमा विशेष योगदान दिएका थिए । उनी सन् १९१९ मा मात्र २५ वर्षको उमेरमा कम्पनीको अध्यक्ष पनि बनेका थिए । तर मुख्य नियन्त्रण भने हेनरीकै हातमा थियो ।

यद्यपि एड्सेलले पनि कम्पनीलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । सन् १९२२ मा उनकै नेतृत्वमा कम्पनीले लिंकन मोटर कम्पनीलाई अधिग्रहण गरेको थियो । सो कम्पनीले त्यसबेला लक्जरी गाडीहरू बनाउने गर्थ्यो ।

१९४३ मे २६ मा ४९ वर्षको उमेरमा उनको मृत्यु भयो । त्यसपछि कम्पनीले उनको सम्मानमा सन् १९५७ मा एड्सेल ब्रान्डका गाडीहरू लन्च समेत ‍गरेको थियो । भलै त्यो मोडल असफल भयो ।

अन्तिम क्षण

त्यसपछि फेरि कम्पनीको अध्यक्षको भूमिकामा हेनरी फोर्ड नै आए । तर त्यसबेला उनको उमेर ७९ थियो । यद्यपि बिग्रँदो स्वास्थ्य र उमेरका कारण उनले सो भूमिका लामो समयसम्म सम्हाल्न सकेनन् । सन् १९४५ मा नाति हेनरी फोर्ड द्वितीयलाई कम्पनीको अध्यक्ष बनाएर जिम्मेवारीबाट उनी पूर्णरूपमा बाहिरिए ।

त्यसपछि उनी मिशिगनको डियर्बर्नस्थित आफ्नो गाउँ फर्किए । त्यहाँ उनले आफ्ना अन्तिम दिनहरू ग्रीनफिल्ड भिलेज र फेयर लेनको शान्त वातावरणमा बिताए । उनी गाउँ फर्कनुको कारण भने ग्रामीण जीवनप्रति उनको मोह र आफ्नो बाल्यकालको सम्झना थियो ।

जीवनको महत्त्वपूर्ण हिस्सा रफ्तार र दौडमा बिताएका उनले आफ्नो अन्तिम समय बाल्यकाल जसरी नै गाउँमा रमाए । त्यसै क्रममा सन् १९४७ को अप्रिल ७ मा आफ्नै घरमा उनले अन्तिम श्वास फेरे ।

यसरी अटो मोबाइल उद्योगको धार परिवर्तन गर्ने फोर्ड ८३ वर्ष उमेरमा संसारबाट बिदा भए । तर यसमा दिएको उनको योगदान भने कालान्तरसम्म इतिहासले सम्झिरहने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?