+
+
Shares

छत्रकोट गाउँपालिकाले एसईईमा ४ जीपीए ल्याउनेलाई १ लाख ५१ हजार पुरस्कार दिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते ७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले एसईई उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार घोषणा गरेको छ।
  • अध्यक्ष रामप्रसाद पाण्डेले ४ जीपीए प्राप्त विद्यार्थीलाई १ लाख ५१ हजार र अन्यलाई क्रमशः ५१ हजार र २५ हजार पुरस्कार दिने बताए।
  • गाउँपालिकाले उच्च माध्यमिक र प्राविधिक शिक्षालाई प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू निरन्तरता दिने योजना बनाएको छ।

४ असार, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

पालिकाले आर्थिक वर्ष २०८२/०८३ सालको लागि प्रस्तुत नीति कार्यक्रम अनुसार शैक्षिक सत्र २०८१ को एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई जिपिए अनुसार नगद पुरस्कार दिने भएको हो ।

गाउँपालिकाले ४ जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई १ लाख ५१ हजार प्रदान गर्नेछ । यस्तै, ३.९९ देखि ३.९० जीपीए ल्याउने विद्यार्थीले ५१ हजार प्राप्त गर्नेछन् भने ३.८९ देखि ३.८० जीपीए हासिल गर्ने विद्यार्थीहरूलाई २५ हजार पुरस्कार दिइने गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए ।

उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्न र भविष्यमा अझ राम्रो नतिजा ल्याउन प्रेरणा दिन पुरस्कार योजना ल्याइएको उनले बताए । यो योजनाले विद्यार्थीहरूमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्ने विश्वास लिइएको उनको भनाइ छ ।

गाउँपालिकाले यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने बताएको छ । पालिकाले ‘हाम्रो विद्यालय राम्रो विद्यालय’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले छत्रकोट गाउँपालिकाले विद्यालय, विद्यार्थी र समुदाय लक्षित कार्यक्रमहरूलाई थप सुदृढ गर्दै लैजाने नीति प्रस्तुत गरेको छ ।

अभियानअन्तर्गत स्थानीय सरकारका गतिविधिहरू विद्यालय तथा समुदायसम्म, र विद्यालय एवं समुदायका गतिविधिहरू गाउँपालिकासम्म प्रभावकारी रूपमा आदानप्रदान गराउने उद्देश्यले अध्यक्षसँग विद्यार्थी भेटघाट कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई मा ३.२ जीपीएभन्दा माथि नतिजा ल्याउने विद्यार्थीहरूलाई कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति दिने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

यस कदमले मेधावी तर आर्थिक रूपमा कमजोर वर्गका विद्यार्थीहरूलाई उच्च माध्यमिक शिक्षामा सहज पहुँच दिलाउने अपेक्षा पालिकाको छ । यस्तै उच्च शिक्षामा विद्यार्थीहरूको पहुँच विस्तार गर्ने उद्देश्यले छत्रकोट गाउँपालिकामा रहेको एकमात्र क्याम्पस- दिगाम आदर्श बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई मासिक शुल्क गाउँपालिकाले बेहोर्ने कार्यक्रम पनि यथावत् राखिने भएको छ ।

शैक्षिक विकासलाई प्राविधिकतर्फ समेत लैजाने योजनाअनुसार छत्रकोट गाउँपालिका वडानम्बर–४ मा अवस्थित श्रृङ्गा जनता माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन सञ्चालन गर्न आवश्यक पहल थालिने भएको छ ।

गाउँपालिकाले यस्ता कार्यक्रमहरूबाट विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आत्मनिर्भर र दक्ष जनशक्ति उत्पादनमा योगदान पुग्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?