+
+
Shares

खाद्यान्न चक्र र खाद्य स्वच्छताबारे समाचार लेख्दा ‘तथ्य’ र ‘विज्ञान’ आधार बनाउन सुझाव

काठमाडौं महानगरले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना अन्तर्गत खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि चरणगत काम गरिरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले सञ्चारकर्मीहरूलाई खाद्य स्वच्छता र गुणस्तर शिक्षाका लागि सचेतना कार्यक्रम आयोजना गर्‍यो।
  • विज्ञहरूले तथ्य र विज्ञानमा आधारित समाचार लेख्न सुझाव दिँदै खाद्य सम्बन्धी गलत धारणा उत्पन्न नगर्न आग्रह गरे।
  • खाद्य स्वच्छता प्रवर्द्धनका लागि घुम्ती प्रयोगशाला सञ्चालन गरी बजार अनुगमन र परीक्षण कार्य भइरहेको महानगरपालिकाले जनाएको छ।

४ असार काठमाडौं । खाद्यान्न चक्र र खाद्य स्वच्छताका विषयमा समाचार लेख्दा तथ्य र विज्ञानलाई आधार बनाउन विज्ञहरूले सञ्चारकर्मीलाई सुझाव दिएका छन् ।

काठमाडौँ महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सञ्चारकर्मीहरूका लागि आयोजना गरेको ‘खाद्य स्वच्छता तथा गुणस्तर शिक्षासम्बन्धी सचेतना कार्यक्रम’ मा उनीहरूले यस्तो आग्रह गरेका हुन् ।

मानव जीवनको आधार नै खाद्यान्न भएकाले गुणस्तरीय खाद्यान्न प्राप्त गर्ने/गराउने प्रणालीमा सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका हुने र भूमिका निर्वाह गर्ने क्रममा तथ्य र विज्ञानमा ख्याल गर्न सकिएन भने खाद्य वस्तुमाथि नै नकारात्मक दृष्टिकोण पैदा हुने उनीहरूको भनाइ छ ।

‘यस्तो बेला तथ्य र विज्ञानमा टेकेर तोकेर नै गल्ती उजागर गर्नुपर्छ,’ उनीहरूले भने, ‘यसले गर्दा समस्या देखिएको वस्तुप्रति उपभोक्ता सचेत रहन्छन् । त्यो जातका अरू उत्पादन प्रयोग गर्न हिच्किचाउँदैनन् । वास्तवमा कुनै एउटा जातको कुनै सामानमा खराब देखिनु त्यो जातको सबै उत्पादन खराब हुनु होइन ।’

समाचार प्रकाशन वा प्रसारण गर्नुअघि तथ्य पुष्टि गर्न, प्रदूषक, रोगजन्य विषयको विज्ञान बुझ्न, जोखिम र हानिबारे स्पष्ट हुन सुझाव दिँदै महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामाले विज्ञसँग परामर्श गरेर, तटस्थ भाषा प्रयोग गरेर, निवारणका उपाय प्रदान गरेर, प्रचलित विधि र व्यवस्था जानकारी दिएर आमसञ्चारकर्मीले उच्चस्तरीय भूमिका निर्वाह गर्न सक्ने धारणा राखिन् ।

‘सुरक्षित छैन भने खाना, खाना हुँदैन,’ उनले भने, ‘खानालाई सुरक्षित बनाउन वातावरणीय अवस्थादेखि उत्पादन र खाद्य आचरणको शृङ्खलामा सबैले दायित्व पूरा गर्नुपर्छ ।’

यही विषय जोड्दै महानगरपालिकाको कृषि तथा पशुपन्छी विभाग प्रमुख नूरनिधि न्यौपानेले अस्वस्थकर खाद्य पदार्थका कारण २ सयभन्दा धेरै रोग लाग्ने र हरेक वर्ष ६० करोडभन्दा धेरै मानिसमा खाद्यजनित रोग लाग्ने र हरेक वर्ष ४ लाख २० हजार मानिस खाद्यजनित रोगका कारण मृत्युवरण गर्ने गरेको जानकारी दिए ।

महानगरले ‘स्वच्छ भान्सा’ स्वर्णिम योजना अन्तर्गत खाद्य स्वच्छता प्रवर्द्धन तथा प्रमाणीकरणका लागि चरणगत काम गरिरहेको छ । यस वर्ष खाद्य स्वच्छता ः प्रवर्द्धन शिविर (फुड सेफ्टी बुट क्याम्प) कार्यक्रम अन्तर्गत खाद्य सेवामा क्षेत्रगत व्यवसायी तथा व्यक्तिलाई सेवाको प्रकृतिका आधारमा वर्गीकरण गरेर समूहगत तालिम प्रदान गरेको छ ।

यसमा साना तथा मध्यम भोजनालय सञ्चालक, व्यवस्थापक तथा भान्सामा काम गर्ने कर्मचारी, मासुजन्य खाद्यवस्तु उत्पादक, मिठाइ उत्पादक तथा बिक्री वितरक, परम्परागत खाद्य सेवा प्रदायक लगायत वर्गलाई स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको हो ।

खाद्यवस्तुको गुणस्तर परीक्षणका लागि यसै वर्षदेखि घुम्ती प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ भन्दा धेरै प्रकारका परीक्षण क्षमता छ ।

यी उपकरण प्रयोगले बजारबाट संकलित नमुना तत्कालै परीक्षण गरेर नतिजा देखाउन सकिन्छ । काठमाडौं महानगरले खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा खाद्य सेवासँग सम्बन्धित बजार अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालनमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?