+
+
Shares

मनसुनभरि चल्ने छैन नागढुंगा सुरुङमार्ग, लक्ष्य १७ पुस

भौतिक पूर्वाधार संरचना निर्माणको काम फिनिसिङ चरणमा रहेको र अर्कातर्फ सुरुङ सञ्चालन र व्यवस्थापन गर्न खटिने कम्पनी छनोट प्रक्रिया समेत जारी रहेका कारण मनसुन अवधिभरि भने नागढुंगा सुरुङमार्ग चल्ने छैन ।

अच्युत पुरी अच्युत पुरी
२०८२ असार ५ गते ९:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ, तर मनसुन अवधिमा यात्रा गर्न सकिँदैन।
  • सुरुङको भौतिक प्रगति ९२ प्रतिशत पुगेको र सञ्चालनको तयारी भइरहेको नेपालले जनाएको छ।
  • सुरुङमार्ग २५ अक्टोबर २०२५ भित्र आयोजना हस्तान्तरण र १ जनवरी २०२६ देखि खुल्ला हुने योजना छ।}

५ असार, काठमाडौं । निर्माणाधीन नागढुंगा सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । यद्यपि, जारी मनसुन अवधिमा भने यो सुरुङमार्ग हुँदै यात्रा गर्न सकिने छैन ।

नागढुंगा सुरुङ निर्माण परियोजना प्रमुख सौजन्य नेपालका अनुसार अहिले आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । सुरुङभित्र विद्युतीय उपकरण जडानको काम जारी छ । सुरुङमार्गको धादिङतर्फको मुखमै पहिरो रोकथामको काम समेत जारी छ ।

एकातर्फ भौतिक पूर्वाधार संरचना निर्माणको काम फिनिसिङ चरणमा रहेको र अर्कातर्फ सुरुङ सञ्चालन र व्यवस्थापन गर्न खटिने कम्पनी छनोट प्रक्रिया समेत जारी रहेका कारण मनसुन अवधिभरि भने नागढुंगा सुरुङमार्ग चल्न नसक्ने उनले जानकारी दिए ।

‘संरचना निर्माणका काम करिब सकिएको छ,’ उनले भने, अब फिनिसिङ र सञ्चालन–व्यवस्थापन गर्ने कम्पनी छनोट र उसलाई तालिम दिने काम बाँकी छ ।’

निर्माण ठेक्का पाएको जपानी कम्पनी हाजमा–आन्दो जेभीले २५ अक्टोबर २०२५ (८ कात्तिक २०८२) भित्र आयोजना हस्तान्तरण गर्ने जनाएको छ ।

आयोजना हस्तान्तरण भइसकेपछि उक्त अवधिसम्म यो सुरुङमार्ग सञ्चालन व्यवस्थापन जिम्मा पाउने कम्पनीलाई आवश्यक तालिम दिने काम गरिन्छ ।

‘हाम्रा लागि यो परियोजना नयाँ छ, यसको अनुभव पनि नयाँ हुन्छ,’ आयोजना प्रमुख नेपालले भने, ‘त्यसकारण सर्वप्रथम परीक्षणका रूपमा सञ्चालन गरिन्छ र कम्पनीलाई तालिम दिने काम हन्छ ।’

१ जनवरी २०२६ (१७ पुस २०८२) देखि भने सर्वसाधारणले समेत यात्रा गर्न सकिने गरी खुला गर्ने सरकारको तयारी छ ।

परीक्षण अवधिमा दुर्घटना हुँदा कसरी उद्धार गर्नेदेखि यन्त्र उपकरण खराब भएका बेला कसरी मर्मत गर्ने भन्नेसम्मका विधि सिकाइन्छ । साथै, सुरुङमार्गको नियमित मर्मत गरी दुरुस्त गर्ने कामसमेत सोही कम्पनीबाट हुनेछ ।

सुरुङमार्ग प्रयोगकर्ताले तोकिएको शुल्क तिरेरमात्र यसको प्रयोग गर्न पाउने छन् । उक्त शुल्क सिधै सडक बोर्ड नेपालको खातामा जाने गरी व्यवस्थापक कम्पनीले संकलन गर्ने छ ।

नागढुंगा सुरुङको मुख्य टनेलको ‘ब्रेक थ्रु’ गत वर्ष (वैशाख २०८१) मै भएको थियो । मुलुकको संघीय राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गमा निर्माणाधीन यो सुरुङमार्ग कात्तिक २०७६ देखि निर्माण थालिएको हो ।

सुरुङमार्गको लम्बाइ २ हजार ६ सय ८८ मिटर छ । नागढुंगाबाट छिर्ने सवारीसाधन धादिङ सिस्नेखोला निस्किने गरी डिजाइन गरिएको छ ।

नेपालमा सडक सुरुङमार्गका रूपमा पहिलो सुरुङ मकवानपुर जिल्लामा पर्ने चुरियामाई सुरुङमार्गलाई लिइन्छ । चुरियामाई सुरुङमार्ग निर्माण सन् १९१७ मा राणाकालमा चन्द्र शमशेरले गराएका थिए । त्यसपछि सडकमा सुरुङको प्रयोग ठप्प भयो ।

माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजनाले आफ्नो प्रयोजनका लागि लमजुङमा बनाएको ३ सय ४० मिटर लामो सुरुङमा यातायात चल्छन् । तर, यो व्यावसायिक सडक प्रयोजनमा बनेको होइन ।

त्यस्तै माथिल्लो तामाकोशी आयोजनाले बनाएको ३ सय ३७ मिटर लामो सुरुङमा पनि यातायात चल्छन् । तर, नागढुंगा भने व्यस्त राजमार्गमा बनेको पहिलो र सबैभन्दा लामो सुरुङ मार्ग हो । संख्यात्मक हिसाबले नागढुंगा टनेल नेपालको चौथो सुरुङमार्ग हो ।

आधुनिक नेपालमा सबैभन्दा धेरै सुरुङको विकास जलविद्युत् आयोजनामा भएको छ । जलविद्युत्, सिँचाइ, खानेपानी र सडक आयोजनामा गरी अहिले करिब २ सय ८० किलोमिटर सुरुङ बनिसकेको छ ।

के–के बन्दैछ नागढुंगामा ?

नागढुंगा–सिस्नेखोला सुरुङको कुल लम्बाइ २ हजा ६ सय ८८ मिटर छ । यो आयोजनामा २ हजार ५ सय ५७ मिटर लामो रेस्क्यु टनेल छ । सुरुङ बाहेक यहाँ फ्लाइओभर, पुल, बक्स कल्भर्ट, अन्डरपास र ओभरपास समेत कुल १२ वटा थप संरचना बनेका छन् । सुरुङमार्गलाई त्रिभुवन राजपथसँग जोड्न २.८७ किलोमिटर पहुँचमार्ग बनेको छ । सुरुङसम्म पहँुचमार्गका लागि गुर्जुधारा चोक र सुरुङको मुख नजिकै फ्लाइओभर बनाइएको छ । गुर्जुधाराको फ्लाइओभर ६ सय १० मिटर लामो छ ।

अहिले सडकमा सानो अवरोध हुँदा नौबिसेबाट काठमाडौं आउन घण्टौं जाममा फस्नु पर्छ । सुरुङमार्ग सञ्चालनमा आएपछि यो समय २० मिनेटमा झर्ने छ । यो सुरुङमा मोटरसाइकल र अतिप्रज्वलनशील पदार्थ बोकेर हिँड्ने सवारीसाधनले अनुमति पाउने छैनन् । अन्य सवारीसाधन भने धादिङ नौबिसेबाट सुरुङमार्ग हुँदै काठमाडौं प्रवेश गर्न सक्नेछन् ।

२४ वर्षदेखिको सपना

नेपालको आग्रहमा जापानी सहयोग नियोग (जाइका) ले सन् २००१ (२०५८) मा काठमाडौं–नौबिसे सडक विस्तारको सम्भाव्यता अध्ययन गरेको थियो । जाइकाले यो सडकलाई चार लेनमा विस्तार गर्न सम्भव नभएको भन्दै वैकल्पिक सडक बनाउन सुझाव दिएको थियो ।

त्यसपछिको १० वर्षसम्म यो सडक विस्तार वा विकल्प केमा जाने भन्नेबारे सरकारले कुनै निर्णय गरेन । सन् २०११ (२०६८ साल) मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको नेतृत्वको सरकारले नागढुंगामा सुरुङ बनाउने निर्णय गर्‍यो ।

तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले पेस गरेको आव २०६८/६९ को बजेटमा नागढुंगा सुरुङ बनाउन बजेट नै विनियोजन भएको थियो ।

सरकारले सुरुङ बनाउने भनी निर्णय गरेको २ वर्षपछि २०७० सालमा सडक विभागले प्रारम्भिक अध्ययन प्रतिवेदन बनायो । त्यसपछि सुरुङ मार्ग निर्माणका लागि चाहिने प्रारम्भिक कामले गति लिएका थिए ।

२०७३ सालमा जापानका परराष्ट्रमन्त्री नोबुओ किशोको नेपाल भ्रमण क्रममा सुरुङमार्गका लागि नेपाललाई सहुलियतपूर्ण ऋण दिने घोषणा जापानले गरेको थियो । त्यो भ्रमण नेपाल र जापानबीच कूटनीतिक सम्बन्धी स्थापना भएको ६०औं वर्षगाँठका अवसरमा भएको हो ।

१६ डिसेम्बर २०१६ मा अर्थ मन्त्रालयमा नेपाल र जापानका अधिकारीबीच ऋण सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौता अनुसार १६ अर्ब ३६ करोड ६० लाख जापानी येन जापान सरकारले नेपाललाई उपलब्ध गराउने र बाँकी लागत नेपाल सरकारले बेहोर्ने सहमति भएको थियो ।

सुरुङमार्ग र पहुँचमार्ग सहित यो आयोजनाको कुल लागत २२ अर्ब रुपैयाँ हाराहारीको हो । जापानी निर्माण कम्पनी हाजमा–आन्दो कर्पोरेसनसँग २३ सेप्टेम्बर २०१९ मा खरिद सम्झौता भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २२ अक्टोबर २०१९ मा शिलान्यास गरेको यो आयोजनाको कामको थालनी भने १४ नोभेम्बर २०१९ देखि भएको हो । यो सुरुङ आयोजनाको सञ्चालन आयु ३० वर्षको हो ।

तस्वीर/भिडियो  : कमल प्रसाईं/अनलाइनखबर

default

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?