
News Summary
Generated by OK AI. Editorially reviewed.- बुढीगंगा नगरपालिका-८ का कुमाले जातिले माटोका भाँडा बनाउने परम्परागत पेशालाई पुनर्जीवन दिन तालिम र प्रविधि सहयोग सुरु गरेको छ।
- नगरपालिकाले २० जना स्थानीयलाई एक महिनाको तालिम र प्रविधि सहयोग प्रदान गरी पेशालाई संरक्षण गर्न लागेको हो।
- माटोका भाँडा बनाउने पेशा लोप हुँदै गएको भए पनि नगरपालिका र स्थानीयले यसलाई पुनः प्रवर्द्धन गर्न लागिपरेका छन्।
५ असार, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका कुमाले जातिले वर्षौंदेखि गर्दै आएको माटोका भाँडा बनाउने पेसालाई पुनर्जीवन दिन लागिपरेको छ । पेसा संकटमा पर्दै गएपछि बुढीगंगा नगरपालिका तालिम र प्रविधि दिएर पेसा जगाउन लागेको हो ।
बुढीगंगा नगरपालिका- ८ मा बसोबास गर्दै आएका कुमाल जाति माटाका भाडा बनाएर जीविकोपार्जन गर्थे । तर दुई दशकयता यो पेसा नै लोप हुन लागेपछि नगरपालिका संरक्षणमा लागेको बुढीगंगा नगरपालिका प्रमुख रामबहादुर बानियाँले बताए ।
नगरपालिकाले २० जना स्थानीयलाई १ महिने माटाको भाँडा बनाउने तालिम दिइरहेको छ । भाँडा बनाउने आवश्यक प्रविधि समेत सहयोग गरेको नगर प्रमुख बानियाँले बताए ।
पुर्खादेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुग्यो । अहिले युवा पुस्ता पुन: यो पेसातिर लाग्न प्रेरित भएको लालबहादुर कुमालले बताए ।
परम्परागत रूपमा गरिँदै आएको माटोका भाँडा बनाउने पेसाबाट जीविकोपार्जन गर्न असहज भएपछि यो काम गर्ने मानिसहरू अन्य पेसामा लागे । माटोका भाँडाले खासै बजार नपाएपछि लोप हुँदै गएको स्थानीय काल्चे कुमालले बताए ।
अर्कोतिर, माटोका भाँडा बनाउने पेसालाई कुनै पनि निकायबाट सहयोग नहुँदा पनि विस्तारै हराउँदै गएको गएको थियो । अहिले नगरपालिकाले सहयोग गर्न सुरु गरेको काल्चेको भनाइ छ ।
प्राय: यो पेशा बाजुरा जिल्लामा कुमाले जातिले मात्र गर्ने गरेको पाइन्छ । माटोको भाँडाको लागि चाहिने बलौटे माटो जहाँसुकै पाइँदैन । परिश्रम धेरै गर्नुपर्ने तर परिश्रमअनुसार फल प्राप्त नहुने यो पेसामा आवद्ध व्यक्तिहरुको भनाइ छ ।
अहिले पालिकाले सिप सकाउनुका साथै उत्पादन गरेका सामान खरिद गरेर बजारीकरण गर्ने जिम्मा लिने जनाएको छ ।
नगरपालिकामा कसैको पेसा-व्यवसाय जोखिम हुन नदिन यहाँ उत्पादन भएका सामान बिक्री गर्ने जिम्मा पालिकाले लिने नगर प्रमुख रामबहादुर बाँनियाले बताए ।
उनीहरूले माटाका भाँडा गड्या, पानी खाने भाँडा, तछला आदि बनाउने गरेका छन् । माटोका भाँडा काज-किरिया र हिन्दू धर्ममा गरिने पूजापाठमा आवश्यक पर्छ ।
खानेपानी राख्न र भात पकाउन पनि माटोका भाँडा प्रयोग हुन्छ । गर्मी याममा माटोका भाँडा प्रयोग धेरैले गर्छन् । माटोका भाँडामा राखेको पानी चिसो हुने भएकोले गाउँमा मात्र नभई शहर बजारमा पनि बिक्री हुने गरेको छ ।
गर्मी महिनामा माटाको घ्याम्पो, भिउँट तथा गाग्रोमा राखिएको पानीको मिठास हुने गरेको छ । भाँडामा राखिएको पानी स्वास्थ्यका दृष्टिले समेत लाभदायक हुने स्वास्थ्यकर्मी बताउँछन् ।
प्रतिक्रिया 4