+
+
Shares

इरानमाथि अमेरिकाले आक्रमण गर्ने नगर्नेबारे ट्रम्पले दुई हप्ताभित्र निर्णय गर्ने

राष्ट्रपति ट्रम्पले आजै वा भोलिमा इरानमाथि आक्रमण गर्नेबारे निर्णय गर्न सक्ने अड्कल भइरहेका बेला ह्वाइट हाउसको पछिल्लो प्रतिक्रियालाई इरानसँग ‘कूटनीतिक संवादको बाटो कायम राखिएको’ रुपमा हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते ०:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाले इजरायल–इरान युद्धमा आफ्नो प्रत्यक्ष सहभागिताबारे दुई हप्ताभित्र निर्णय गर्ने जनाएको छ।
  • ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लिभिटले राष्ट्रपति ट्रम्पले निकट भविष्यमा वार्ता वा आक्रमणबारे निर्णय लिने बताइन्।
  • इरान र इजरायलबीच पछिल्लो एक हप्तादेखि युद्ध जारी छ।

६ असार, काठमाडौं । अमेरिकाले इजरायल–इरान युद्धमा आफ्नो प्रत्यक्ष सहभागिता हुने वा नहुनेबारे दुई हप्ताभित्र निर्णय गर्ने जनाएको छ । बिहिबार राति ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पका तर्फबाट यस्तो सन्देश दिएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति ट्रम्पको भनाइ उद्धृत गर्दै ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिनले भनिन्, ‘ ट्रम्पले आगामी दुई हप्ताभित्र निर्णय लिनेछन् ।’

क्यारोलिनका अनुसार इजरायल–इरान युद्धमा अमेरिका प्रत्यक्ष संलग्न हुने नहुनेबारे ट्रम्पले भनेका छन्, ‘निकट भविष्यमा इरानसँग वार्ता हुने वा नहुने दुवै सम्भावना रहेको आधारमा म आउने दुई हप्ताभित्र निर्णय लिनेछु ।’

इरानसँग संवादको प्रयास जारी रहेको भन्दै प्रेस सचिव क्यारोलिनले राष्ट्रपति ट्रम्पले अझै पनि वार्ताको ठूलो सम्भावना रहेको बताएको उल्लेख गरिन् ।

‘इरानमा सत्ता परिवर्तनको प्रयासबारे ट्रम्प प्रशासनको धारणा के हो ?’ भन्ने पत्रकारको प्रश्नमा उनले राष्ट्रपति ट्रम्पको मुख्य प्राथमिकता इरानको आणविक हतियार निर्माण कार्यक्रम रोक्नु भएको बताइन् ।

वासिंटन डीसीस्थित बीबीसी संवाददाता ग्यारी ओडोह्युका अनुसार ह्याइट हाउसको पछिल्लो बयानले इरानमाथि अमेरिकी आक्रमकता केही सुस्ताएको देखिन्छ ।

राष्ट्रपति ट्रम्पले आजै वा भोलिमा इरानमाथि आक्रमण गर्नेबारे निर्णय गर्न सक्ने अड्कल भइरहेका बेला ह्वाइट हाउसको पछिल्लो प्रतिक्रियालाई इरानसँग ‘कूटनीतिक संवादको बाटो कायम राखिएको’ रुपमा हेरिएको छ ।

शुक्रबार युरोपेली विदेशमन्त्रीहरुले स्वीट्जरल्यान्डमा इरानी समकक्षीसँग भेट्ने कार्यक्रम छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिनका अनुसार अमेरिकी वार्ता टोलीले पनि इरानका प्रतिनिधिहरुसँग निरन्तर सम्पर्क गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पका पछिल्ला अभिव्यक्ति र सामाजिक सञ्जालका पोस्टलाई विश्लेषण गर्दा उनी आफ्नै भनाइमा नटिक्ने र बोलेका कुरा पनि उल्ट्याउन सक्ने देखिएको छ ।

अमेरिकाले इरानमाथि आणविक कार्यक्रम रोक्न दबाब दिँदै आएको छ । इरानले परमाणु हतियार निर्माणमा सफलता हाँसिल गरेमा मध्यपूर्वमा अशान्ति हुने अमेरिकी दाबी छ ।

अमेरिकाले इजरायललाई अघि सारेर इरानमाथि ‘फायर खोलेको’ समेत आरोप लाग्दै आएको छ । अप्रत्यक्षरुपमा इजरायललाई सघाएपनि हालसम्म अमेरिका यी दुई देशबीचको युद्धमा प्रत्यक्ष संलग्न छैन । इरानले यसअघि नै इजरायललाई सहयोग नगर्न अमेरिका, यूके र फ्रान्सलाई चेतावनी दिएको छ ।

इजरायललाई सघाएमा इराक लगायतका मध्यपूर्वी मुलुकमा रहेका अमेरिकी सैन्य अड्डालाई निसाना बनाउने इरानले चेतावनी दिएको छ । इरान र इजरायलबीच पछिल्लो एक सातादेखि युद्ध जारी छ ।

बिहिबार इरानले इजरायलको एक अस्पतालमा मिसाइल आक्रमण गरेपछि इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानी सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई जिवितै छाड्न नहुने बताएका छन् ।

उनले ‘खामेनीलाई समाप्त पार्नु नै इजरायलको युद्ध उद्देश्य’ भएको आक्रामक बयान दिएका छन् । हालसम्म इजरायली आक्रमणबाट इरानमा २ सय ४० जना भन्दा बढीको मृत्यु भएको छ भने इजरायलतर्फ इरानको आक्रमणमा परी कम्तिमा २४ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?