+
+
Shares

प्रशासनको चेतावनी बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्न रोशी खोलामा गएकाहरु बाढीमा फसे, ५ जनाको उद्धार

जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो । तर उनीहरु त्यसको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते ६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलामा बाढी आएपछि पाँच जना फसेका थिए।
  • सशस्त्र प्रहरीको टोलीले राति १२ बजे उनीहरूलाई सकुशल उद्धार गरेको हो।
  • जिल्ला प्रशासनले बाढीको जोखिमका कारण खोलामा नजान भनेको भए पनि उनीहरूले बेवास्ता गरेपछि घटना भएको थियो।

६ असार, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–५ लास्कोटस्थित रोशी खोलाको बाढीमा फसेका ५ जनालाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको छ ।

ढुंगागिट्टी निकाल्न भनेर टिपर र लोडरसहित राति करिब ९ बजेतिर खोलामा गएकाहरु एक्कासी बाढी आएपछि फसेका थिए ।

उनीहरुलाई राति १२ बजे नेपाल प्रहरी र नेपाली सेनाको समेत सहयोगमा सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको पाँचखालस्थित सशस्त्र प्रहरीका गणपति प्रेम प्रसाईंले जानकारी दिए ।

उद्धार गरिएका व्यक्तिहरुमा तेमाल गाउँपालिका–५ गिम्दीका ४२ वर्षीय सन्जय लामा, तेमाल गाउँपालिका ५ कै ३२ वर्षीय रेबन तामाङ, नमोबुद्ध नगरपालिका–५ डाँडागाउँका १९ वर्षीय मुस्कान तामाङ, ओखलढुंगा घर भई नमोबुद्ध नगरपालिका–५ डाडागाउँ बस्ने २१ वर्षीय सागर राई र डोजर चालक दोलखाको भिमेश्वर नगरपालिका घर भई हाल डाँडागाउँ बस्ने २९ वर्षीय समिर तामाङ छन् ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले बुधबार नै सूचना जारी गर्दै बाढीको जोखिम भएकाले खोलामा नजान भनेको थियो । तर उनीहरु त्यसको बेवास्ता गर्दै ढुंगागिट्टी निकाल्ने उद्देश्यले राति खोलामा जाँदा फसेका थिए । उनीहरुलाई उद्धार गर्न सुरक्षाकर्मीहरु सफल भएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।

राति भंगालोमा फसेको जानकारी कटुन्जेबेंसी प्रहरी चौकीबाट प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपालको अस्थायी सुरक्षा बेस (आईटी पार्क) पनौतीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भिमसेन के.सी.को नेतृत्वमा १० जना र सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लिला बहादुर कार्कीको कमाण्डमा थप ११ जनाको टोली खटिएको थियो ।

उद्धार टोलीले अप्पर रिभर क्रसिङ्ग विधि र रोप रेस्क्यु विधि प्रयोग गरी उद्धार गरेको प्रसाईंले बताए । उद्धार गरिएका सबै पाँच जना, एउटा लोडर र एउटा टिपर सकुशल रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?