+
+
Shares

कोलम्बियामा कलहको कहर

कोलम्बिया लामो समयसम्म आन्तरिक द्वन्द्वको चपेटामा परेको मुलुक हो। करिब सात दशकभन्दा बढी समयदेखि यो देश हिंसा, सामाजिक असमानता, भूमिको असमान वितरण,  कमजोर राज्य संयन्त्र र अमेरिकी हस्तक्षेपका कारण अस्थिर रहँदै आएको छ।

सुरेन्द्र नेपाल श्रेष्ठ सुरेन्द्र नेपाल श्रेष्ठ
२०८२ असार ८ गते ९:००

कोलम्बिया संसारकै सबैभन्दा लामो समयसम्म चलिरहेको आन्तरिक द्वन्द्वको चपेटामा परेको मुलुक हो। करिब सात दशकभन्दा बढी समयदेखि यो देश हिंसा, सामाजिक असमानता, भूमिको असमान वितरण, कमजोर राज्य संयन्त्र र अमेरिकी हस्तक्षेपका कारण अस्थिर रहँदै आएको छ। कोलम्बियाको ‘सत्य निरुपण आयोग’ ले सन् २०२२ मा सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् १९८५ देखि २०१८ को बीचमा मात्र ४ लाख ५० हजार मानिसको मृत्यु भएको थियो, जसमा ८० प्रतिशतभन्दा बढी सर्वसाधारण थिए।

अपहरण, जबर्जस्ती बेपत्ता पारिएको अवस्था र बलात्कार जस्ता घटनाले समाजमा गहिरो असर पारेका छन्। द्वन्द्वको असर केवल मृत्यु र हिंसामा सीमित छैन। आठ लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन्। जसले कोलम्बियालाई सिरियापछि विश्वकै दोस्रो ठूलो आन्तरिक विस्थापनको शिकार बनाएको छ। महिला, बालबालिका, आदिवासी समुदाय र ग्रामीण बासिन्दाहरू सबैभन्दा बढी प्रभावित छन्। लाखौंको संख्यामा अन्यत्र शरणार्थीको जीवन बिताउन बाध्य भएका छन्।

ऐतिहासिक रूपमा कोलम्बिया इनका, चिब्चा जस्ता स्वदेशी सभ्यताहरूको उद्गमस्थल थियो। १६औं शताब्दीमा स्पेनी उपनिवेश बनेको यो देशले १८१० मा स्वतन्त्रता आन्दोलन शुरू गरेर १८१९ मा सिमोन बोलिभरको नेतृत्वमा ग्रान कोलम्बियाको गठन मार्फत स्वतन्त्रता प्राप्त गर्‍यो। तर १८३० मा ग्रान कोलम्बिया भंग भएर आजको कोलम्बिया स्थापित भयो। सन् १८३० देखि १९६० सम्मको कोलम्बियाको इतिहास राजनीतिक अस्थिरता, गृहयुद्ध, संविधान परिवर्तन र सत्ता संघर्षले भरिएको कालखण्ड हो। ग्रान कोलम्बियाको विघटनपछि कोलम्बिया ‘न्यू ग्रानेडा’ नाममा स्वतन्त्र राष्ट्र बन्यो र त्यसपछि ‘ग्रानाडाइन संघ’ हुँदै ‘युनाइटेड स्टेट्स अफ कोलम्बिया’ बनाइयो। लिबरल र कन्भरभेटिभ पार्टीहरू बीचको वैचारिक द्वन्द्वले देशलाई पटक–पटक गृहयुद्धमा धकेल्यो। सबैभन्दा भयावह युद्ध ‘हजार दिनको युद्ध’ (१८९९–१९०२) थियो। जसमा एक लाखभन्दा बढी नागरिक मारिए।

कोलम्बियाको द्वन्द्व केवल विचारधारात्मक संघर्ष मात्र होइन; यो सामाजिक अन्याय, गरिबी, भूमिहीनता र राज्य संयन्त्रको असफलताको गहिरो परिणाम हो।

१९०३ मा अमेरिकाले पनामालाई कोलम्बियाबाट छुट्याएर स्वतन्त्र राष्ट्र बनाएको घटनाले कोलम्बियाली राष्ट्रियताको घोर अपमान गर्‍यो। १९४८ मा बोगोटामा राष्ट्रपति उम्मेदवार होर्खे एलियेसर गाइतानको हत्या पछि शुरू भएको ‘ला भिओलेन्सिया’ नामक दशकभरको हिंसामा करिब २ लाख मानिस मारिए। १९५३ मा जनरल गुस्तावो रोहास पिनिलाले सैनिक कु गरेर देशलाई अलिकति स्थायित्व दिने प्रयास गरे पनि उनको शासन अधिनायकवादी थियो। अन्ततः १९५८ मा लिबरल र कन्जरभेटिभ पार्टीहरूले ‘न्याशनल फ्रन्ट’ नामक सत्ताको स्थापना गरे। जसले केही स्थायित्व त ल्यायो तर वामपन्थी, किसान, आदिवासी र श्रमिक वर्ग थप बहिष्कृत भए। यही बहिष्करणले पछि कोलम्बियामा विद्रोही आन्दोलनहरूको बीजारोपण गर्‍यो। सन् १९६० को दशकमा रिभोलुशनरी आर्म्ड फोर्स अफ कोलम्बिया (एफएआरसी) र नेशनल लिवरेशन आर्म्ड (ईएलएन) जस्ता वामपन्थी गुरिल्ला समूहहरू उदाए। यी समूहहरूले आफूलाई क्रान्तिकारी, किसान समर्थक र साम्राज्यवाद विरोधी बताउँदै सशस्त्र संघर्ष थाले।

एफएआरसी सन् १९६४ मा कोलम्बियन कम्युनिस्ट पार्टीको सैन्य शाखाका रूपमा स्थापना भएको थियो। तर समयक्रममा यो समूह लागूपदार्थ तस्करी, अपहरण र कर संकलन जस्ता आपराधिक क्रियाकलापमा संलग्न हुन थाले। सन् १९९० को दशकसम्म एफएआरसीले करिब २० हजार लडाकुका साथ देशको ठूलो भूभागमा प्रभाव जमाइसकेको थियो। सन् १९६४ मै गठन भएको ईएलएन क्युबाली क्रान्ति र ‘मुक्ति धर्मशास्त्र’ लिवरेशन थियोलोजीबाट प्रभावित थियो। यसले मुख्य रूपमा पूर्वी कोलम्बियामा अपहरण, तेल पाइपलाइनमा आक्रमण र अवैध खानी नियन्त्रणलाई आफ्नो कार्यनीति बनायो।

यस्तै, सन् १९७० को चुनावमा धाँधलीको आरोपपछि एम-१९ नामक गुरिल्ला समूह बनेको थियो। जसले शहरी क्षेत्रमा उच्चस्तरीय आक्रमणहरू गर्‍यो। सन् १९८५ मा एम-१९ ले सर्वोच्च अदालत कब्जा गर्दा भएको सैन्य कारबाहीमा ११ न्यायाधीश सहित १०० भन्दा बढीको ज्यान गयो। तर सन् १९९० मा यो समूहले हतियार त्याग्दै राजनीतिक पार्टीमा रूपान्तरण गर्‍यो।

जब वामपन्थी गुरिल्ला प्रभावशाली बन्दै गएका थिए, त्यसको जवाफमा धनी जमिनदार,  व्यापारी र लागूपदार्थ तस्करहरूले सन् १९९७ मा युनाइटेड सेल्फ डिफेन्स फोर्स अफ कोलम्बिया (एयूसी) स्थापना गरे। यिनीहरूले गुरिल्ला विरोधी रणनीतिमा हजारौं निर्दोष नागरिक मार्ने, सामूहिक हत्या गर्ने र लाखौंलाई विस्थापित बनाउने कार्य गरे। यिनीहरू पनि लागूपदार्थ कारोबारमा संलग्न थिए।

कोलम्बियामा लागूपदार्थ कारोबार सन् १९८० को दशकदेखि चरममा पुगेको थियो। पाब्लो एस्कोबारको मेडेलिन कार्टेल र काली कार्टेलले देशलाई कोकिनको प्रमुख स्रोत बनायो। गुरिल्ला र अर्धसैनिक समूहहरू दुवैले यस कारोबारबाट आम्दानी गर्दै युद्धलाई थप लम्ब्याए।

एफएआरसीसँगको शान्ति सम्झौता ऐतिहासिक भए पनि कोलम्बियामा पूर्ण शान्तिको मार्ग अझै टाढा छ। जबसम्म गरिब किसान, आदिवासी र द्वन्द्व पीडित समुदायले न्याय, समान अवसर र राज्यको पहुँचको अनुभूति गर्न सक्दैनन्, तबसम्म द्वन्द्वको बीउ पूर्ण रूपमा मर्न सक्दैन।

सन् १९९८–२००२ मा राष्ट्रपति पास्त्रानाले एफएआरसीसँग वार्ता गर्न ठूलो भूभागलाई गैर सैनिक क्षेत्र घोषित गरे तर वार्ता असफल भयो। २००२–२०१० मा राष्ट्रपति उरिबेले सैन्य रणनीति कडा बनाए। जसले गुरिल्लालाई कमजोर पारे पनि फल्स पोजिटिभ्स (राज्यशक्ति दुरुपयोग, फर्जी मुठभेड वा द्वन्द्वकालीन नागरिक हत्या जस्ता घटना) स्क्यान्डल मार्फत सेनाले निर्दोष नागरिक मारेर विद्रोहीको संख्यामा देखाएको तथ्य बाहिर आयो। सन् २०१६ मा राष्ट्रपति सान्तोसले एफएआरसीसँग ऐतिहासिक शान्ति सम्झौता गरे। जसले हतियार त्याग, राजनीतिक रूपान्तरण, क्षतिपूर्ति र ग्रामीण विकासको सुनिश्चितता गरे। जनमत संग्रहमा अस्वीकृत भए पनि संशोधन सहित संसद्बाट पारित गरियो। सान्तोसले यस कार्यका लागि नोबेल शान्ति पुरस्कार पाए।

सन् २०२२ मा गुस्तावो पेत्रो कोलम्बियाका पहिलो वामपन्थी राष्ट्रपति निर्वाचित भए। उनी पूर्व एम-१९ लडाकु हुन् र पछि सांसद, सिनेटर तथा बोगोटाका मेयर पनि बनेका थिए। राष्ट्रपति बनेपछि उनले श्रमिक हितमा श्रम सुधार प्रस्ताव, द्वन्द्व पीडितलाई ३० लाख हेक्टर जमिन वितरणको वाचा र पूर्ण शान्ति रणनीति अघि सारे। यद्यपि संसद्मा प्रतिरोध, कानूनी चुनौती र प्रशासनिक ढिलाइको सामना गरिरहेका छन्।

अन्तर्राष्ट्रिय चासो

कोलम्बियाको संसद् दुई सदनमा विभाजित छ। १०८ सदस्यीय सिनेट र १८८ सदस्यीय प्रतिनिधिसभा। हिस्टोरिक प्याक्ट सत्तारूढ भए पनि स्पष्ट बहुमत नभएकोले अन्य दलहरूसँग सहकार्य गर्नुपर्ने अवस्था छ। केही सिट आदिवासी, अफ्रो–कोलम्बियन, द्वन्द्वपीडित र पूर्वविद्रोहीका लागि आरक्षित छन्। पेत्रोले वातावरणीय संरक्षणमा पनि पहल लिएका छन्। उनले कोप–१६  अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै कोलम्बियालाई हरित कूटनीतिमा उभ्याउने प्रयास गरेका छन्। साथै, उनले भेनेजुएलासँग कूटनीतिक सम्बन्ध पुनःस्थापना गरेर छिमेकी सम्बन्धमा सुधार ल्याएका छन्। लागूपदार्थ विरुद्धको युद्धमा पनि मानवीय दृष्टिकोणबाट नीति परिवर्तनको प्रयास गरिरहेका छन्।

अन्तर्राष्ट्रिय रूपमा पनि कोलम्बियाको द्वन्द्वमा गहिरो चासो देखिएको छ। अमेरिका ‘प्लान कोलम्बिया’ अन्तर्गत लागूपदार्थ विरुद्ध तथा गुरिल्ला युद्ध अन्त्यका लागि झन्डै १० अर्ब डलरको सहायता प्रदान गर्‍यो। यस सहयोगले सैन्य बल त बढायो, तर द्वन्द्वको राजनीतिक समाधानमा खासै योगदान दिन सकेन। क्युबा र नर्वेले एफएआरसी वार्तामा मध्यस्थको भूमिका खेले भने संयुक्त राष्ट्रसंघले शान्ति प्रक्रिया अनुगमनमा सहयोग पुर्‍यायो। छिमेकी भेनेजुएला र इक्वेडरमा गुरिल्ला समूहको उपस्थिति रहनाले क्षेत्रीय तनाव उत्पन्न भयो।

भेनेजुएलासँग सम्बन्ध पहिले निकै तनावपूर्ण थियो, तर पेत्रोले कूटनीतिक सम्बन्ध पुनःस्थापना गरी व्यापार र सीमापार आवागमन सहज बनाएका छन्। इक्वेडरसँग २००८ मा भएको तनावपछि अहिले सम्बन्ध सामान्य छ र सुरक्षा तथा व्यापारमा सहकार्य भइरहेको छ। पेरुसँग व्यापार, पर्यटन र लागूपदार्थ नियन्त्रणमा साझेदारी कायम छ भने ब्राजिलसँग अमेजन क्षेत्रमा वातावरणीय संरक्षण र सीमा सुरक्षा प्रमुख सहकार्यको विषय बनेको छ। यी सबै सम्बन्धहरूले कोलम्बियालाई क्षेत्रीय स्थायित्व र अन्तर्राष्ट्रिय छवि निर्माणमा सघाउँदै लगेका छन्।

हालका वर्षहरूमा कोलम्बियाको द्वन्द्वको स्वरूपमा महत्वपूर्ण परिवर्तन आएको छ। एफएआरसीका केही पूर्वलडाकु शान्ति सम्झौताबाट असन्तुष्ट भएर असन्तुष्ट समूहको गठन गर्दै पुनः हिंसात्मक बाटोमा फर्किएका छन्। एएलएन अझै पनि सशस्त्र संघर्षमा सक्रिय छ। त्यस्तै, अर्धसैनिक समूहका पूर्वलडाकुबाट जन्मिएका नयाँ आपराधिक गिरोहहरू अवैध खानी, लागूपदार्थ तस्करी र अपहरण जस्ता आपराधिक क्रियाकलापमा संलग्न छन्। शान्ति सम्झौता भएको सन् २०१६ देखि हालसम्म ५०० भन्दा बढी सामाजिक अगुवा, मानवअधिकारकर्मी र पूर्वविद्रोही मारिइसकेका छन्।

कोलम्बियाको अनुभवले शान्ति केवल शस्त्र बिसाएर मात्र कायम हुँदैन भन्ने देखाएको छ। शान्ति चिरस्थायी बनाउने मुख्य आधार विश्वास, न्याय र समावेशिता हुन्। यस्तो पाठ नेपाल लगायत अन्य सशस्त्र द्वन्द्व भोगेका देशहरूले पनि अवश्य सिक्नुपर्ने विषय हो।

ऐतिहासिक पृष्ठभूमि

कोलम्बिया भन्ने शब्दको ऐतिहासिक र सांस्कृतिक रूपमा गहिरो अर्थ छ। यो नाम प्रसिद्ध यूरोपेली खोजकर्ता क्रिस्टोफर कोलम्बसको नामबाट आएको हो, जसलाई स्पेनी भाषामा क्रिस्टोबाल कोलोन भनिन्छ। अमेरिकाको खोज तथा यूरोपेली उपनिवेश विस्तारमा कोलम्बसको भूमिकालाई सम्मान दिन ‘कोलम्बिया’ भन्ने नाम दिइएको हो। कोलोनमा बिया प्रत्यय जोडेर यो नाम बनाइएको हो, जसको अर्थ ‘कोलम्बसको भूमि’ भन्ने हुन्छ। यो नाम पहिलो पटक भेनेजुएलाका क्रान्तिकारी फ्रान्सिस्को डे मिरान्डाले प्रस्ताव गरेका थिए, र पछि १८१९ मा गठन भएको ग्रान कोलम्बियामा औपचारिक रूपमा प्रयोग गरियो, जसमा अहिलेको कोलम्बिया, भेनेजुएला, इक्वेडर र पनामा समावेश थिए। पछि ग्रान कोलम्बिया विभाजन भएपछि अहिलेको देश कोलम्बियाले यो नामलाई कायम राख्यो।

कोलम्बिया दक्षिण अमेरिकाको उत्तरपश्चिमी भागमा अवस्थित एक सुन्दर र विविधताले भरिएको देश हो। यसको उत्तरमा क्यारिबियन सागर र पश्चिममा प्रशान्त महासागरको किनारा रहेको छ। कोलम्बियाको राजधानी बोगोटा हो र यहाँ करिब ५ करोड २० लाख जनसंख्या बसोबास गर्छन्। स्पेनिस यहाँको आधिकारिक भाषा हो भने कोलम्बियन पेसो प्रयोग हुने मुद्रा हो। यसको क्षेत्रफल करिब ११.४ लाख वर्ग किलोमिटर रहेको छ। कोलम्बियाका छिमेकी देशहरूमा भेनेजुएला, ब्राजिल, पेरु, इक्वेडर र पनामा पर्दछन्। देशको भूगोलमा अमेजन जंगलदेखि एन्डिज पर्वत शृंखलासम्म तथा क्यारिबियन र प्रशान्त समुद्री किनारहरू समेत पाइन्छन्। यहाँको सबैभन्दा अग्लो हिमाल पिको क्रिस्टोबल कोलोन हो, जसको उचाइ करिब ५,७०० मिटर छ। देशको प्रमुख नदी म्याग्डालेना हो, जुन कोलम्बियाको जनजीवन र व्यापारका लागि महत्वपूर्ण छ।

कोलम्बिया कफी, पन्ना, कोइला, पेट्रोलियम र फूलहरूको प्रमुख निर्यातकर्ता देश हो। बोगोटा, मेडेलिन, काली र बारनक्विला यसको ठूला र प्रसिद्ध शहरहरू हुन्। सांस्कृतिक रूपमा पनि कोलम्बिया निकै धनी राष्ट्र हो— यहाँ साल्सा, कुम्बिया जस्ता परम्परागत नृत्यहरू प्रसिद्ध छन् भने बारनक्विला कार्निभल युनेस्कोद्वारा मान्यता प्राप्त विश्व सम्पदा पर्व हुन्। कोलम्बिया विश्वमा कफी उत्पादन, शकिरा जस्तो अन्तर्राष्ट्रिय गायिका र गेब्रियल गार्सिया मार्केज जस्ता नोबेल विजेता साहित्यकारका कारण पनि विशेष रूपमा परिचित छ।

कोलम्बियाको द्वन्द्व केवल विचारधारात्मक संघर्ष मात्र होइन; यो सामाजिक अन्याय, गरिबी, भूमिहीनता र राज्य संयन्त्रको असफलताको गहिरो परिणाम हो। एफएआरसीसँगको शान्ति सम्झौता ऐतिहासिक भए पनि पूर्ण शान्तिको मार्ग अझै टाढा छ। जबसम्म गरिब किसान, आदिवासी र द्वन्द्व पीडित समुदायले न्याय, समान अवसर र राज्यको पहुँचको अनुभूति गर्न सक्दैनन्, तबसम्म द्वन्द्वको बीउ पूर्ण रूपमा मर्न सक्दैन। कोलम्बियाको अनुभवले शान्ति केवल शस्त्र बिसाएर मात्र कायम हुँदैन भन्ने देखाएको छ। शान्ति चिरस्थायी बनाउने मुख्य आधार विश्वास, न्याय र समावेशिता हुन्। यस्तो पाठ नेपाल लगायत अन्य सशस्त्र द्वन्द्व भोगेका देशहरूले पनि अवश्य सिक्नुपर्ने विषय हो।

लेखक
सुरेन्द्र नेपाल श्रेष्ठ

झण्डै अढाई दशकदेखि बेलायतमा बसोबास गर्दै आएका लेखकका ‘मेरो आधा शताब्दी’ र ‘नेपालः विदेशबाट नियाल्दा’ पुस्तक प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?