+

एएफसी एसियन कप छनोट खेल्ने महिला फुटबल टोलीको बिदाइ

२०८२ असार  ९ गते १७:३६ २०८२ असार ९ गते १७:३६
एएफसी एसियन कप छनोट खेल्ने महिला फुटबल टोलीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अखिल नेपाल फुटबल संघले नेपाली महिला टोलीलाई उज्वेकिस्तानमा हुने एसिया कप छनोट खेल्न बिदाइ गरेको छ।
  • नेपाली महिला टोलीले सन् १९९९ पछि पहिलो पटक एसिया कपमा छनोट हुने लक्ष्य राखेको छ।
  • छनोटमा नेपालले लाओस, उज्वेकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।

९ असार, काठमाडौं । उज्वेकिस्तानमा हुने एएफसी महिला एसिया कप छनोट खेल्ने नेपाली महिला राष्ट्रिय फुटबल टिमलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम आयोजना गर्दै महिला टोलीलाई बिदाई गरेको हो ।

टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलगायतले बिदाइ गरे ।

बिदाइ कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष नेम्वाङले टिम निकै परिष्कृत रहेको बताउँदै जितका लागि शुभकामना दिए । ‘हाम्रो टिमले सिंगो राष्ट्रलाई नै उपल्लो दर्जामा पुर्‍याउन सक्छ, सबैले यो आशाले हेरेका छन्’ उनले भने, ‘पहिलोपटक प्रो लाइसेन्स कोच पनि पाएका छौं, जितका लागि शुभकामना।’

त्यस्तै मन्त्रालयका सचिव लम्सालले पनि जितका लागि शुभकामना दिए । ‘राष्ट्रको झण्डा उठाउने मौका जोकोहीले पाउँदैन, ३ करोडले हेर्ने तपाइहरूलाई जितको शुभकामना’ उनले भने ।

त्यस्तै कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नेपालको लक्ष्य छनोट हुने रहेको बताइन् । ‘हाम्रो मेन टार्गेट भनेकै छनोट हुनु हो, त्यो हुन सकेमा हाम्रो लागि अझै धेरै राम्रो हुन्छ’ उनले भनिन् ।

नेपाली महिला टोलीका लागि अब हुने छनोटको पहिलो खेल १००औं अन्तर्राष्ट्रिय खेल हुनेछ । १०० खेल खेल्न पाउनु खेलाडीको लागि पनि ठुलो कुरा भएको साबित्रा भण्डारी साम्बाले बताइन् । ‘१०० खेल भनेको ठुलो कुरा हो, हामी १०० खेल भन्दा पनि देश र समर्थकहरूलाई पोजिटिभ रिजल्ट दिन चाहन्छौं, त्यो महत्वपूर्ण हुनेछ’ उनले भनिन् ।

छनोटमा समूह एफमा रहेको नेपालले लाओस, उज्वेकिस्तान र श्रीलंकासँग खेल्नेछ । पछिल्लो पटक सन् १९९९ मा महिला एसिया कप खेलेको नेपाली महिला टोली २६ वर्षपछि एसिया कपमा छनोट हुने लक्ष्यमा छ ।

नेपालले जुन २९ मा लाओससँग पहिलो खेल खेल्नेछ भने जुलाई २ मा श्रीलंकासँग दोस्रो खेल खेल्नेछ । यस्तै जुलाई ५ मा आयोजक उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । छनोटको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने महिला एसिया कपमा छनोट हुनेछ ।

नेपाली महिला टोलीले अहिलेसम्म तीन पटक एसियन कप फुटबल खेलेको छ । पछिल्लो पटक सन् २०२२ को महिला एसियन कपको छनोट खेलेपनि नेपाली महिला टोली छनोट हुन सकेन ।

नेपालको टोली

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर : गीता राना, निशा ठोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैशी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल

फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

मुख्य प्रशिक्षक : प्याट्रिक डे वाइल्ड

सहायक प्रशिक्षक : राजेन्द्र तामाङ र भगवती थापा

गोलकिपिङ प्रशिक्षक : सुरज कुमार लामा

टिम म्यानेजर : बिन्द्रा देवान

टिम डाक्टर : डा. अलिशा राई

फिजियोथेरापिस्ट : शिला गिरी

किट म्यानेजर : विकास गुरुङ

तस्वीरहरू : विकास श्रेष्ठ, अनलाइनखबर

नेपाली महिला फुटबल टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय