
९ असार, विराटनगर । जिल्ला अदालत मोरङ परिसरबाट कैदी फरार भएका छन् । चेक अनादर दोषी ठहर भएका विराटनगर महानगरपालिका–१३ का ४० वर्षीय विजय शंकर झा अदालत परिसरबाट भागेका हुन् ।
सुनसरीको दुहबीबाट आइतबार पक्राउ परेका झालाई सोमबार मोरङ अदालत उपस्थित गराइएको थियो । शौचालय जान भनेर हिडेका उनी फरार भएका हुन् ।
नागेश्वरप्रसाद साहले ७ लाख ५० हजार बिगो र त्यसको ब्याज दाबी गरेर झाविरुद्ध अदालतमा फिरादपत्र दर्ता गराएका थिए । मोरङ अदालतले २०८० साल माघ २३ गते झाबाट बिगोबापतको रकम र ब्याज भराउनुपर्ने फैसला गरेको थियो ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार फैसला बमोजिम झाले रकम नतिरेपछि उनलाई कैद राखिदिनुपर्ने माग गर्दै साह अर्को मुद्दा दायर भएको थियो ।
साहकै माग बमोजिम झालाई २ वर्ष कैदमा राख्न अदालतबाट आदेश भएको थियो । झा कैद भुक्तान नगरिकन भागिरहेका थिए । फरार झाको खोजी भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4