+
+
Shares

मनमोहन प्राविधिक विश्वविद्यालय औषधि बनाउन खोज्दैछ, सरकारले बजेट दिएन

मनमोहन कोशी प्रदेश सरकार मातहत रहेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो । प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा औषधिमाथि अनुसन्धान गरिरहेको विश्वविद्यालयमा कर्मचारीलाई तलब खुवाउनै समस्या छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते ८:००
कार्यकक्षमा उपकुलपति सुभाषश्री पोखरेल ।

११ असार, विराटनगर । बुढीगंगा मोरङमा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयले मनमोहनको नाम दिएर भिक्स बाम र सञ्चो उत्पादन गरेको छ । यद्यपि, आधिकारिक रूपमै यसको नाम भने राखिएको छैन ।

सञ्चो, भिक्स र बाम जस्ता वस्तु उत्पादन गरेर बजार लैजाने योजना रहेको विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री पोखरेलले बताए । उनले भने, ‘यदि प्रदेश सरकारले अनुमति दिन्छ भने हामी तयार छौं, हाम्रो टिमले काम गरिरहेको छ ।’

विश्वविद्यालय तहमा मनमोहनको प्रयास फरक रहेको उनले बताए । नेपालका अरु विश्वविद्यालयले यसरी उत्पादन नगरेको उनले बताए । ‘मनमोहनले सानो प्रयास गरेको छ, यो  हाम्रो आफ्नै फर्मुला हो,’ उनले भने, ‘जडीबुटी उत्पादनको क्षेत्रमा मनमोहन विश्वविद्यालयले ठूलो काम गर्नसक्छ ।’

जडीबुटी उत्पादनमा विद्यार्थीलाई प्रयोग गरिने पोखरेलले बताए । ‘यहाँका विद्यार्थीलाई प्रयोग गरेर कमाउँदै पढ्दै कार्यक्रमअनुसार कमाउने वातावरण विश्वविद्यालयले बनाउँछ,’ उनले भने, ‘घण्टाको हिसाबले काम गराउने र त्यसको रकम फिमा घटाउने योजना छ, पकेटमा दिने होइन ।’

मधुमेहको औषधि तयार हुँदै, भाइरस पनि खोजिँदै

विश्वविद्यालयले तयार पारेको औषधि

उपकुलपति पोखरेलका अनुसार विश्वविद्यालयमा मधुमेह नियन्त्रण गर्ने हिमाली क्षेत्रमा पाइने जडीबुटीमाथि अनुसन्धान हुँदैछ । भारतबाट वैज्ञानिक ल्याएर अनुसन्धान गरिरहेको उनले बताए । जडीबुटीबाट तयार गरिने औषधि पहिले मुसामा प्रयोग हुनेछ । त्यसपछि थप अनुसन्धान गरी अध्ययनको रिपोर्ट बाहिर ल्याइनेछ ।

तीनजना विज्ञ टोली औषधि अनुसन्धानमा खटिएको उनको भनाइ छ । मधुमेह नियन्त्रणका लागि नेपालकै हिमालयन जडीबुटीमा आधारित औषधि विकास गर्ने कार्य अन्तिम चरणमा रहेको उनले बताए ।

विश्वविद्यालयले शरीरमा सकारात्मक प्रभाव पार्ने भाइरसको पनि अनुसन्धान गरिरहेको छ । एन्टिबायोटिकले काम नगर्ने अवस्थामा हानिकारक ब्याक्टेरियालाई नष्ट गर्नसक्ने फाइदाजनक भाइरसको पनि अनुसन्धान चलिरहेको उनले बताए ।

भाइरसमा सफलता मिले स्वास्थ्य क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने पोखरेलको दाबी छ । अनुसन्धानमा भारतीय वैज्ञानिकलाई पनि प्रयोग गरिरहेको उनले बताए । ‘एउटा, राम्रो भाइरसको खोजी र अर्को, मधुमेह रोगको औषधि नेपालको जडीबुटीबाट फाइनआउट गर्नका लागि अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धानमा सफलता मिले स्वास्थ्य क्षेत्रमा नयाँ अध्याय हुनेछ ।’

तर, तलब खुवाउनै समस्या

औषधि उत्पादनका लागि अनुसन्धान भइरहेको ल्याब देखाउँदै उपकुलपति सुभाषश्री पोखरेल ।

मनमोहन कोशी प्रदेश सरकार मातहत रहेको नेपालको पहिलो प्राविधिक विश्वविद्यालय हो । प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा औषधिमाथि अनुसन्धान गरिरहेको विश्वविद्यालयमा कर्मचारीलाई तलब खुवाउनै समस्या छ ।

उपकुलपति पोखरेलका अनुसार सरकारले बजेट नदिँदा यो अवस्था आएको हो । चालु आर्थिक वर्षमा तलब खुवाउन पनि बजेट अपुग भएपछि सरकारसँग थप मागिएको उनले जानकारी दिए ।

विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि अध्ययन, अनुसन्धान र शैक्षिक कार्यक्रम सञ्चालनका लागि ३७ करोड ८९ लाख बजेट माग गरेको थियो । तर सरकारले जम्मा १४ करोड मात्रै विनियोजन गरेको छ, जुन पर्याप्त छैन ।

‘विश्वविद्यालयलाई सधैं बजेट अभाव छ । बजेट माग्न जाँदा अपहेलित हुनुपर्छ,’ उनले भने, ‘सरकारले पर्याप्त बजेट नै दिँदैन ।’

सरकारले सहयोग गरे विश्वविद्यालयलाई दक्षिण एसियामा चिनाउने उनले दाबी गरे । ‘शिक्षा क्षेत्रलाई न्यूनतम ५ प्रतिशत बजेट चाहिन्थ्यो, तर १ प्रतिशत पनि भएन, यसले कसरी परिवर्तन ल्याउँछ,’ उनले भने, ‘काम गर्न सरकारबाट सोचेजस्तो सहयोग भएको छैन ।’

विश्वविद्यालयले इन्जिनियरिङ, स्वास्थ्य विज्ञान र विज्ञान तथा कानुन गरी तीनवटा स्कुलअन्तर्गत विभिन्न स्नातक र स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । बीबीए, एलएलबी, क्रिमिनल ल र हस्पिटल म्यानेजमेन्ट जस्ता विशिष्ट कार्यक्रम सञ्चालन गरेको पोखरेलले बताए ।

सन् २०३० सम्ममा ३०० बेडको शिक्षण अस्पताल, १८ वटा अत्याधुनिक प्रयोगशाला, तारामण्डल र विज्ञान सङ्ग्रहालय स्थापना गर्ने विश्वविद्यालयको महत्त्वाकाङ्क्षी लक्ष्य रहेको पोखरेलले सुनाए ।

प्रदेश सरकारले धनकुटा जिल्ला अस्पताललाई मनमोहन विश्वविद्यालय मातहत ल्याउने नीति लिएको छ । उपकुलपति पोखरेलले पर्याप्त बजेट र स्पष्ट योजनाविना  अस्पतालको जिम्मेवारी लिए चुनौतीपूर्ण हुने बताए । सरकारले दीर्घकालीन योजनासहित पर्याप्त बजेट विनियोजन गरे अस्पताल चलाउन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?