+
+
Shares

‘जलेर जाने अंगले ८ जनासम्मको ज्यान जोगाउन सकिन्छ’

मृतकको दाहसंस्कारमा ती अंगहरू जलाउनुअघि निकालेर उपयोग गर्न सक्यौं भने ८ जनासम्मको जीवन बचाउन सकिन्छ । मस्तिष्क मृत्युको अवधारणा, त्यसबाट अंग झिक्दा शारीरिक वा नैतिक समस्या नपर्ने बुझाएर जनचेतना बढाउन सक्छौं ।

डा. ऋषिकुमार काफ्ले डा. ऋषिकुमार काफ्ले
२०८२ असार १३ गते १२:३२

नेपालले अंग प्रत्यारोपणको क्षेत्रमा दशकको यात्रा तय गरिसकेको छ । मस्तिष्क मृत्युपछिको अंगदानको कार्यक्रम जुन रूपले अघि बढ्नुपर्ने हो, त्यो अनुरुप हुन भने सकेको छैन ।

जीवित व्यक्तिबाट सीमित अंग मात्र लिन सकिन्छ । तर मस्तिष्क मृत्यु भएको एक व्यक्तिले ८ जनासम्मलाई नयाँ जीवन दिन सक्छ । यति ठूलो सम्भावना हुँदाहुँदै पनि हामी किन पछि परिरहेका छौं ?

यसका मुख्य दुई कारण छन् ः कमजोर प्रणालीगत संरचना र जनचेतनाको कमी ।

अहिले मस्तिष्क मृत्युपछिको अंगदान समन्वयको सम्पूर्ण जिम्मा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई दिइएको छ । यो आफैंमा एउटा अव्यावहारिक र असन्तुलित निर्णय हो ।

अब मस्तिष्क मृत्युपछि अंग प्राप्त गर्ने प्रणालीलाई संस्थागत रूपमा अघि बढाउनुको विकल्प छैन ।

धेरैजसो नेपाली परिवारमा उच्च रक्तचाप, मधुमेह, मिर्गौला लगायत दीर्घरोग तथा वंशानुगत समस्या देखिने गरेका छन् । यस्तो अवस्थामा परिवारले चाहेर पनि अंगदान गर्न नसक्ने अवस्था आउँछ ।

पछिल्लो १७ वर्षदेखि नेपालमा मिर्गौला र कलेजो प्रत्यारोपण मुख्यतः जीवित व्यक्तिको दानमा आधारित रहँदै आएको छ । तर अहिलेको सामाजिक परिवेश फरक छ । धेरैजसो युवा विदेशिएका छन्, घरमा बाँचिरहेका वृद्धवृद्धा दाताको रूपमा उपयुक्त छैनन् । यस्तो अवस्थामा हामीले सधैं नातेदारकै भरमा अंग प्रत्यारोपण गर्नु सम्भव छैन ।

आज संसारभरि मिर्गौला, कलेजो, मुटु र फोक्सो प्रत्यारोपण मस्तिष्क मृत्यु भएका व्यक्तिबाटै भइरहेको छ । स्पेन लगायतका देशमा ९० प्रतिशत प्रत्यारोपण यही प्रक्रियाबाट हुन्छ । त्यसैले नेपालले पनि मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपणलाई अबको प्रमुख आधार बनाउनु अपरिहार्य छ ।

नेपालमा कानूनी रूपमा मस्तिष्क मृत्युपछि अंग लिन सकिने व्यवस्था बनेको छ । तर यसको कार्यान्वयनमा समस्या छ । सहजीकरण नहुनु नै अहिलेको प्रमुख समस्या हो ।

मस्तिष्क मृत्यु भएको व्यक्तिको अंग राज्यको सम्पत्ति हो । त्यसैले परिवारले अनुमति दिएपछि त्यसको जिम्मा सरकारले लिनुपर्छ । अहिलेको अवस्थामा दुई वटा मिर्गौला र एउटा कलेजो मात्रै प्रत्यारोपण गर्न सकिन्छ । मुटु र फोक्सो लगायतका अन्य अंग प्रत्यारोपण गर्ने सम्भावना भविष्यमा मात्र सम्भव हुनेछ ।

यसरी प्राप्त अंग अस्पताल वा डाक्टरलाई होइन, सरकारलाई दिइन्छ । त्यसपछि सरकारले वेटिङ लिस्टमा दर्ता भएका बिरामीमा म्याचिङ, प्राथमिकता र आवश्यकता हेरेर वितरण गर्छ । तर यो लिस्ट निर्माण र व्यवस्थापन गर्ने जिम्मा अहिले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र सेवा दिने संस्था हो, समन्वय गर्ने नीतिगत निकाय होइन । सेवा दिने अस्पतालले नै समन्वय गर्ने जिम्मा पाउँदा, पहिलेदेखि काम गर्दै आएका टिचिङ र वीर अस्पताल जस्ता केन्द्रलाई उपेक्षा गरिएको छ । जसका कारण सहयोगको भावना हराउँदै गएको छ ।

मस्तिष्क मृत्यु भनेको यस्तो अवस्था हो, जहाँ मानिसको सास फेरिरहेको देखिए पनि पूर्ण रूपमा मृत भइसकेको हुन्छ । उसका अंगहरू अझै काम गरिरहेका हुन्छन्, तर मस्तिष्कले कुनै क्रियाशीलता देखाउँदैन ।

सरकारले मस्तिष्क मृत्युपछि अंग प्रत्यारोपणलाई अघि बढाउन चाहन्छ भने समन्वय समिति स्वास्थ्य मन्त्रालय वा नेपाल मेडिकल काउन्सिल अन्तर्गत राख्नुपर्छ र समन्वय समितिमा स्पष्ट अर्गानोग्राम, मानव संसाधन, बजेट र अधिकार आवश्यक पर्छ ।

अस्पतालले मस्तिष्क मृत्यु भएको जानकारी दिन सक्ने वातावरण बनाउनु जरूरी छ । उदाहरणस्वरूप, यदि ग्रान्डी वा नेपाल मेडिकल कलेजमा मस्तिष्क मृत्यु भयो भने टिचिङ अस्पतालको टोलीले त्यहाँ गएर अंग लिनसक्ने प्रणाली बनाउनुपर्छ । एउटा मिर्गौला त्यही अस्पतालले, अर्को मिर्गौला प्राथमिकताका आधारमा वेटिङ लिस्टमा रहेका बिरामीले पाउने व्यवस्था मिलाउनुपर्छ ।

समन्वय प्रणाली निष्पक्ष र पारदर्शी भए मात्र अस्पताल–अस्पताल र चिकित्सक–चिकित्सक बीच विश्वास कायम हुन्छ । हाल सबै चुप लागेर बसेको अवस्थामा फाट्टफुट्ट मात्रै प्रत्यारोपण भइरहेको छ ।

जनचेतना अभाव

अझै पनि धेरै नेपालीलाई मस्तिष्क मृत्यु भनेको थाहा छैन । मस्तिष्क मृत्युको अवस्थामा व्यक्ति कानूनी रूपमा मरेको हुन्छ । यद्यपि, उसको मुटु धड्किरहेको, फोक्सो चलिरहेको देखिन्छ । मृत्यु, कोमा वा बेहोसीको अवस्था बीचको भिन्नता बुझाउन जनचेतना फैलाउनु आवश्यक छ ।

यो विषय विद्यालयको पाठ्यक्रममा समावेश गरिनुपर्छ । शिक्षक, विद्यार्थी, अभिभावक र समुदायलाई समेत प्रशिक्षण दिन जरूरी छ । मस्तिष्क मृत्युबारे आम मानिसमा जानकारी भए मात्रै अंगदानको संस्कृति विकसित हुन सक्छ ।

मस्तिष्क मृत्यु भनेको यस्तो अवस्था हो, जहाँ मानिसको सास फेरिरहेको देखिए पनि पूर्ण रूपमा मृत भइसकेको हुन्छ । उसका अंगहरू अझै काम गरिरहेका हुन्छन्, तर मस्तिष्कले कुनै क्रियाशीलता देखाउँदैन ।

यस्तो अवस्थामा हामीले ती अंगहरू जलाउनुभन्दा अघि निकालेर उपयोग गर्न सक्यौं भने ती अंगले ८ जनासम्मको जीवन बचाउन सक्छ ।

यदि हामीले मस्तिष्क मृत्युको अवधारणा, त्यसबाट अंग झिक्दा शारीरिक वा नैतिक समस्या नपर्ने कुरा सशक्त रूपमा जनतालाई बुझाउन सक्यौं भने अंगदानप्रति जनचेतना अभिवृद्धि हुन सक्छ ।

सरकारले नै यो विषयलाई प्राथमिकतामा राखेर मिडिया, पत्रिका, टिभी, एफएम जस्ता माध्यम मार्फत व्यापक जनचेतना फैलाउनु आवश्यक छ ।

सरकारले डायलिसिस र अंग प्रत्यारोपणमा अर्बौं रुपैयाँ खर्च गर्न सक्छ भने यस्तो सशक्त जनचेतना अभियानका लागि केही करोड रुपैयाँ खर्च आवश्यक छ ।

जनतालाई सुसूचित गरियो भने उनीहरू नै शक्तिशाली हुन्छन् । तब नागरिकहरू आफैं डाक्टरसँग प्रश्न गर्छन्, ‘मस्तिष्क मृत्यु त भयो, अंग किन झिकिएन ?’

दक्षिण भारतमा मस्तिष्क मृत्युपछिको अंगदान प्रणाली अत्यन्त सफल छ । उत्तर भारतमा त्यस्तो प्रभाव देखिंदैन । हामीले पनि यस्ता असमानताबाट पाठ सिक्दै, नेपालमा समान रूपले विस्तार गर्न सक्ने वातावरण बनाउनुपर्छ ।

आज नागरिक आफैं अंगदानका लागि आउन थालेका छन्, तर भक्तपुरबाट गएको टिमले अंग संकलन गर्दा त्यो अंग भक्तपुरमै रहने बुझाइले निष्पक्षतामा प्रश्न उठ्छ ।

त्यसैले टिचिङ, वीर, ग्रान्डी, नर्भिक, मेडिसिटी, किष्ट, केएमसी जस्ता सबै अस्पतालको टिम तयारी अवस्थामा हुनुपर्छ । कसैको मस्तिष्क मृत्यु भयो भने सबैभन्दा नजिकको टिमले गएर अंग संकलन गर्न सक्ने वातावरण हुनुपर्छ ।

मस्तिष्क मृत्यु प्रायः आईसीयूमा उपचाररत बिरामीमा हुन्छ । त्यहाँका डाक्टर, नर्सहरूले पहिलो पटक पहिचान गर्छन् । त्यसैले हरेक अस्पतालको आईसीयूमा एक–एक जना समन्वयकर्ता रहने व्यवस्था हुनुपर्छ ।

अंगदान काठमाडौंमा मात्र सीमित रहन हुँदैन । यदि विराटनगर, धरान, सुर्खेत वा कोशी अञ्चल अस्पतालमा रहेका बिरामीको वेटिङ लिस्ट छ भने प्रत्यारोपण टिम त्यहाँ जान सक्ने र त्यहीं प्रत्यारोपण गरिदिन सक्ने संयन्त्र हुनुपर्छ । अहिले शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले यो जिम्मेवारी लिएको छ । तर बजेट र संरचना पर्याप्त छैन । एक अस्पतालले समग्र मुलुकभर समन्वय गर्न सकेको छैन, सक्दैन पनि ।

संयन्त्र निष्पक्ष हुनुपर्छ

सहज र निष्पक्ष संयन्त्र बनाउन हालको जिम्मेवारी कुनै एक अस्पतालमा राखेर मात्र पुग्दैन । त्यो संयन्त्र नेपाल मेडिकल काउन्सिल, रिसर्च काउन्सिल वा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वतन्त्र रूपमा राखिनुपर्छ । जसले सबै अस्पताललाई समान रूपमा हेर्न सकोस् ।

युरोपमा युरो ट्रान्सप्लान्ट नामक संयन्त्रले देश–देश बीच समेत अंगको आदान–प्रदान गर्न सक्ने गरी काम गर्छ । सफ्टवेयर आधारित प्रणाली मार्फत उमेर, ब्लड ग्रुप, एचएलए टाइपिङ, वेटिङ लिस्ट र अन्य प्राविधिक सूचकांकको आधारमा कसले अंग पाउने हो भन्ने निर्णय हुन्छ ।

हाम्रो देशमा अझै पनि यस्तो सफ्टवेयर छैन, सबै म्यानुअल रूपमा हुँदै आएको छ । सफ्टवेयर भएमा प्राप्त अंग स्वचालित रूपमा विश्लेषण भई प्राथमिकता क्रमले नम्बर को १, २ वा ३ भन्ने तुरुन्तै देखाउन सक्छ ।

मस्तिष्क मृत्यु धेरैजसो साँझतिर पुष्टि हुन्छ । तर योजनाबद्ध तरिकाले राति प्रत्यारोपण हुने अवस्था छैन । रातिको समय व्यवस्थापन, टिमको परिचालन, एम्बुलेन्स, उपकरणको तयारी अझै प्रभावकारी छैन । साँझ मस्तिष्क मृत्यु भयो भने राति नै अंग निकालेर प्रत्यारोपण गर्न सक्ने संयन्त्र आवश्यक छ ।

हामीले तीन वटा कुरामा सुधार गर्न सकेमा मस्तिष्क मृत्युपछिको अंग प्रत्यारोपण प्रणाली सफल बनाऊन सकिन्छः

१. सशक्त जनचेतना कार्यत्रम– स्कूलदेखि मिडियासम्म । २. केन्द्रीय समन्वय संयन्त्र स्थापना । ३. प्रविधिमा लगानी– सफ्टवेयर प्रणाली सहित ।

यदि यी पक्षमा सुधार गरियो भने नेपाली समाजले छिट्टै अंगदानलाई स्वीकार्छ । किनभने हाम्रो समाजमा विश्वासको भावना गहिरो छ । एकपटक बुझाएपछि ‘यो त गर्नुपर्ने रहेछ’ भन्ने सोच तुरुन्तै बस्छ ।

(वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?