+
+
Shares

‘अरू साथीले जस्तै सपना देख्न कहिले पाउँछु होला !’

मस्तिष्क मृत्यु भएका कसैको मिर्गौला पाएँ भने घरपरिवारले यति दुःख भोग्नुपर्दैनथ्यो । आफैं पनि अलि स्वस्थ हुन्थें, पढ्न सक्थें, नयाँ ठाउँहरू देख्न सक्थें, अरू साथीले जस्तै सपना देख्न सक्थें ।

बिनिसा बस्नेत बिनिसा बस्नेत
२०८२ असार १३ गते १२:३२

मेरो जिन्दगी २० वर्षकै उमेरमा यस्तो मोडमा आइपुग्यो, जुन कहिल्यै सोचेकी थिइनँ । १० वर्षकी हुँदा मलाई ठूलो ज्वरो आएको रहेछ । पहिले बुबाआमाले मेलम्ची अस्पतालमा लैजानुभएछ । त्यहाँबाट रेफर गएर कान्ति बाल अस्पतालमा चेकजाँच गर्दा मेरो मिर्गौला फेल भइसकेको थाहा भयो ।

त्यसपछि नियमित डायलिसिस गर्नुपर्ने भयो । करिब ९ वर्षदेखि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट मेरो डायलिसिस भइरहेको छ । जीवनभर रोग पालेर बस्नुपर्दा मेरो र परिवारको जिन्दगी नै अस्तव्यस्त भएको छ ।

बाबा गाउँमा खेतीपाती गर्नुहुन्छ । भूकम्पमा परेर उहाँको खुट्टाको केही भाग काटिएको छ । उहाँलाई प्रेसरको समस्या छ । नियमित औषधि खाइरहनुपर्ने भएकाले धेरै काम गर्न सक्नुहुन्न ।

मेरो उपचारका लागि आमा, म र भाइबहिनी भक्तपुरमा सानो कोठा लिएर बसेका छौं । आमाले यहीं नजिकै नाङ्लो पसल गरेर हाम्रो हेरचाह गरिरहनुभएको छ ।

मेरो परिवारमा कसैको पनि अंग दिन मिलेन । दुई वर्ष अगाडि मस्तिष्क मृत्यु भएको मानिसबाट अंग लिनका लागि नाम टिपाएका छौं । हजुरबाको उमेर भइसकेकाले मिर्गौला दिन मिलेन । आमाको पनि मिर्गौला सानो रहेछ । बुबा आफैं उच्च रक्तचापको बिरामी भएपछि अंग दिन नमिल्ने भयो । भाइबहिनीको उमेर नपुगेकाले उनीहरूले पनि दिन मिलेन ।

८ कक्षामा पढ्दै गर्दा मैले पढाइ छोड्नुपर्‍यो । अरू साथीहरू स्कूल जान्छन्, म अस्पताल जानुपर्छ । उनीहरू खेल्दै हाँस्दै बस्छन्, म हप्तामा तीन पटक डायलिसिस गर्दै बस्नुपर्छ ।

हातखुट्टा सुन्निने, पेट दुख्ने, कब्जियत हुने समस्या सधैंजसो भइरहन्छ । तर शारीरिक पीडाभन्दा पनि ठूलो पीडा त मेरो मनमा छ । किनकि, मेरोभन्दा बढी दुःख बुबाआमाले पाइरहनुभएको छ । मलाई स्याहारसुसार गरेर जिन्दगी बिताइरहनुभएको छ ।

आमासँग बिनिसा

कहिलेकाहीं रातको समयमा एक्लै सोच्छु, यदि मैले मस्तिष्क मृत्यु भएको कसैको मिर्गौला पाएँ भने कस्तो हुन्थ्यो होला ?

पहिले त म आफैं अलि स्वस्थ हुन्थें । घरपरिवारलाई पनि यति दुःख भोग्नुपर्दैनथ्यो । म पढ्न सक्थें, नयाँ ठाउँहरू देख्न सक्थें, अरू साथी जस्तै सपना देख्न सक्थें ।

दुई वर्षअघि अंगदानको लागि नाम दर्ता गराएकी छु । एकचोटि फोन पनि आएको थियो । त्यस दिन म कम्ता खुशी भएकी थिइनँ । तर रिपोर्ट नमिलेर एकछिनमै त्यो खुशी हरायो ।

आमालाई मेरो भन्दा पनि धेरै दुःख छ । आमाको मुखमा लुकेको दुःख देख्दा मेरो मुटु फुट्छ । उहाँले नाङ्लो पसल गरेर हाम्रो उपचारको खर्च जुटाउनुहुन्छ । बिहान बेलुका अरूको घरमा गएर पनि काम गर्नुहुन्छ ।

कहिलेकाहीं उहाँको आँखामा आँसु बगेको देखेकी छु, तर उहाँ कहिल्यै मेरो अगाडि रुनुभएको छैन । उहाँको त्यो पीडाले मलाई भित्रभित्रै जलाउँछ । गाउँमा थोरै जमिन छ । उपचारकै लागि भएको जग्गा पनि बुबाआमाले बेच्नुभएको छ । उपचार गर्दागर्दै धेरै ऋण गर्नुभएको छ ।

एसएलसी दिएका मेरा भाइबहिनीलाई आमाले भक्तपुर ल्याउनुभएको छ । बाबा र हजुरबा–हजुरआमा मात्र गाउँमा बाँकी हुनुहुन्छ ।

मान्छेको घरमा गरिबी होस् तर रोग नलागोस् भन्छु । किनभने गरिब भएर पनि बिहान कमाएर बेलुका खान सकिन्छ । काम गरेर खान कुनै गाह्रो हुँदैन । तर, यस्तो रोग लागिसकेपछि परिवारलाई चार गुणा गाह्रो पर्ने रहेछ । म छटपटाइरहेको हेरेर परिवारका सदस्यहरू पनि रोएर बस्नुहुन्छ ।

मैले सानोमा पानी नखाएर नै मिर्गौला फेल भएको डाक्टरले बताउनुभएको छ । त्यसकारण सबैलाई दिनमा दुई/तीन लिटर पानी खान मेरो अनुरोध छ । जंकफुडमा शरीरलाई हानि गर्ने पदार्थ धेरै हुन्छन्, त्यस्तो कम खानुहोस् भन्छु ।

अलिकति ज्वरो आउँदैमा तुरुन्तै औषधि नखानुहोस् भन्छु । आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् किनकि स्वास्थ्य गुमाएपछि सबै गुमाउनुपर्छ । यस्तो घातक रोग कसैलाई नलागोस् भनेर हृदयदेखि कामना गर्छु । किनभने यो रोग एक व्यक्तिलाई नभएर पूरै परिवारलाई लाग्ने रहेछ ।

(शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलिसिसको क्रममा भेटिएकी बस्नेतसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?