
News Summary
Generated by OK AI. Editorially reviewed.- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसाका नाममा विदेशी युवा सेटिङ गरेको खुलासापछि विमानस्थलमा कडाइ गरिएको हो।
- विमानस्थलले अब विदेशी नागरिकलाई एनओसी विना जान रोक लगाएको र भिसा तथा होटल बुकिङको स्क्यान कपी अनिवार्य गरेको छ।
- प्रधानमन्त्री कार्यालयको बैठकले यसका लागि डिजिटल कपी राख्ने व्यवस्था गर्न निर्देशन दिएको र उच्चस्तरीय समिति गठन भएको जानकारी दिइएको छ।
१३ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला समेत भिजिट भिसाका नाममा सेटिङमा युवा विदेशी रहेको खुलेपछि विमानस्थल अध्यागमनमा थप कडाइ गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विभिन्न निकायको बैठकपछि विमानस्थलमा थप कडाइ गर्न थालिएको हो । अहिले विदेशी नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) विना विदेश जान पूर्णत: रोक लगाइएको छ भने त्यसको विवरण स्क्यान गरेर राख्न समेत भनिएको छ ।
हाल अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराई विमानस्थल अध्यागमनको प्रमुख रहेका बेला विमानस्थलबाट चार महिनामा २१२ जना भारतीय नागरिक विना एनओसी विदेश गएको खुलेको थियो । तीमध्ये कतिपय नक्कली एनओसीका आधारमा समेत गएको भेटिएका थिए ।
त्यसपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि चासो देखाएको थियो । यसपछि विमानस्थलबाट अहिले दिनहुँ भारतीय नागरिकहरुलाई फर्काइने गरिएको स्रोतले जनाएको छ ।
नेपाली नागरिकको हकमा समेत भिसा र होटल बुकिङको ‘स्क्यान कपी’ राख्न अनिवार्य गरिएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले भिजिट भिसामा जान आवश्यक अन्य कागजहरुको डिजिटल प्रतिलिपि राख्न भनिएको अनलाइनखबरसँग पुष्टि गरे ।
‘कतिपय अवस्थामा छानबिन गर्नुपर्दा छुट्टयाउनै गाह्रो पर्ने स्थिति देखियो, त्यसैले डिजिटल कपी राख्नुपर्ने व्यवस्था गरेका छौं’, रिजालले अनलाइनखबरसँग भने, ‘अहिले यो अनिवार्य गरिएको छ ।’
प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, राहदानी विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सूचना प्रविधि मन्त्रालय लगायतका उच्च अधिकारीहरु समेत सहभागी थिए ।
भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । तर, वैरागी नेतृत्वको समितिलाई लिएर समेत विपक्षी दलहरुले प्रश्न उठाइरहेका छन् ।
प्रतिक्रिया 4