
News Summary
Generated by OK AI. Editorially reviewed.- दुबइले गर्मी याममा हप्तामा ४ कार्यदिन र ३ बिदा दिने योजना लागू गरेको छ।
- यो योजना जुलाई १ देखि सेप्टेम्बर १२ सम्म मात्र लागू हुनेछ।
- सार्वजनिक सेवामा लचिलो कार्यतालिका र कर्मचारी सन्तुष्टिमा सुधार भएको देखिएको छ।
हामीकहाँ अन्य सार्वजनिक बिदाका अतिरिक्त हप्तामा शनिबार अर्थात् एक दिनमात्रै बिदा हुन्छ। अर्थात् एक हप्तामा ६ दिन कार्यदिन र एक दिन बिदा हुन्छ। तर, यो दुनियाँमा यस्तो ठाउँ छ जहाका कामकाजी मानिसहरुले अब हप्तामा ३ दिन बिदा पाउनेछन् र केवल चार दिनमात्रै आफ्नो जागिरको काम गरे पुग्नेछ ।
यूएईको दुबइमा गर्मीको मौसममा मानिसहरुको काम तथा जीवनको सन्तुलनलाई ध्यानमा राख्दै हप्तामा ४ कार्यदिन लागू गर्ने निर्णय गरिएको छ ।
न्यूयोर्क पोष्टका अनुसार हप्तामा ४ दिन काम र ३ दिन छुट्टीको नियम केवल गर्मी यामका लागि मात्रै लागू हुनेछ। अर्थात यो नियम जुलाई १ देखि सेप्टेम्बर १२ सम्म मात्रै चल्नेछ ।
दुबइ सरकारको मानव संशाधन विभागद्वारा सुरु गरिएको उक्त छोटो गृष्मकालीन कार्यतालिकाको उद्देश्य श्रमिकलाई अधिक लचिलो कार्यघण्टा तथा जीवन र कामबीचको सन्तुलनको सुविधा दिनु हो।
उक्त योजना अन्तर्गत सार्वजनिक क्षेत्रका कर्मचारीहरुलाई विभिन्न वर्गमा विभाजन गरिनेछ र उनीहरुलाई दुई फरक-फरक लचिलो कार्य तालिकामा राखिनेछ। पहिलो समूहका मानिसहरुले सोमबारदेखि बिहीबार सम्म प्रतिदिन ८ घण्टा काम गर्नेछन्। उनीहरुलाई शुक्रबार, शनिबार र आइतबार बिदा हुनेछ।
त्यसैगरी दोस्रो समूहका श्रमिकहरुले सोमबारदेखि बिहीबारसम्म ८ घण्टा र शुक्रबार पनि साडे ४ घण्टा काम गर्न पर्नेछ । उनीहरुलाई शुक्रबार आधा दिनका साथै शनिबार र आइतबार बिदा हुनेछ।
गत वर्षको सफल परीक्षण र निर्णय
दुबइ सरकारले गत वर्ष पाइलट प्रोजेक्टको रुपमा गरेको सफल परीक्षणपछि सबै कर्मचारीहरूका लागि यस्तो चारदिने कार्यदिन लागू गर्ने निर्णय गरेको थियो। त्यस पायलट योजनाका क्रममा यसबाट समग्र कर्मचारी सन्तुष्टि र खुसीमा सुधार आउनुका साथै उत्पादकत्वमा पनि वृद्धि देखिएको थियो।
मानव संशाधन विभागका महानिर्देशक अब्दुल्ला अली बिन जायद अल फलासीका अनुसार यो नीति सरकारको आधुनिक कार्यशक्ति निर्माण गर्ने लक्ष्यको प्रतिबिम्ब हो।
उनी भन्छन्, ‘यो केवल काम गर्ने घण्टामा भएको परिवर्तन मात्र होइन। यसले सरकारको सोचमा आएको परिवर्तन देखाउँछ, जहाँ संस्थागत दक्षता सँगै कर्मचारीको भलाइलाई पनि प्राथमिकता दिइँदैछ।’
उनका अनुसार, विश्वभर चार दिने कार्य सप्ताह र अन्य लचिलो कार्य प्रणालीको परीक्षण बढ्दै गइरहेको सन्दर्भमा यो परिवर्तन गरिएको हो । अष्ट्रेलिया, जापान, बेलायत, क्यानाडा, आयरल्यान्ड, अमेरिका र आइसल्यान्ड जस्ता देशहरूले अहिले कामकाजी मानिसहरुका लागि कम कार्य घण्टाको प्रयोग गरिरहेका छन् ।
कम्पनीहरूले चार दिने कार्यसप्ताह लागू गर्दा सामान्य रूपमा १००:८०:१०० मोडेल अपनाउँछन्। यसमा कर्मचारीहरूलाई तलब १०० प्रतिशत दिइन्छ, तर काम गर्ने घण्टा ८०५ मा झारिन्छ। तर, यस परिवर्तनलाई सफल बनाउन उनीहरूले आफ्नो उत्पादकता १०० प्रतिशत कायम राख्नुपर्छ ।
गत अप्रिल महिनामा जापानले नयाँ कानून संशोधन गर्दै घरमा साना बच्चा भएका कर्मचारीहरूलाई लचिलो कार्य विकल्पहरू उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको थियो। त्यस्ता लचक कार्यव्यवस्थामा कम घण्टा काम गर्ने वा घरबाट काम गर्ने सुविधा लगायतका छन्। यसले देशको तीव्र रूपमा घट्दो जन्मदरलाई रोक्न सकिने आशा जापानको छ ।
प्रतिक्रिया 4