+
+
Shares

मेरो कुरा पनि सुन्नुहोस् न : भण्डारी, उहिल्यैबाट सुन्दै आएको छु : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १६:२२

१४ असार, काठमाडौं । आज नेकपा एमालेका स्व. नेता मदन भण्डारीको ७४ औं जन्मदिन । जन्मोत्सव पारेर मदन भण्डारी फाउन्डेशनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा सहभागी हुन पूर्वराष्ट्रपति समेत रहेकी भण्डारी पत्नी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायत एमाले नेता कार्यकर्ताहरू सहभागी छन् ।

कार्यक्रममा सहभागी हुन पुगेका एमाले अध्यक्ष ओलीले आफ्नो समय ख्याल गर्दै सुरुमै सम्बोधन गरे । ओली आजै स्पेन भ्रमणमा जाँदैछन् । सोही भ्रमणका कारण सुरुमै बोलेका प्रधानमन्त्री ओलीले पार्टी एकजुट भएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् ।

पछिल्ला महिना एमाले राजनीतिमा आफ्नो उपस्थिति बाक्लो बनाइरहेकी पूर्वराष्ट्रपति भण्डारी र ओली सहभागी यो कार्यक्रम एमाले वृत्तमा चर्चामा छ ।

सोही क्रममा भण्डारी मञ्चमै रहेका बेला सम्बोधन गरेका ओलीले एमाले विभाजित हुने कुनै सम्भावना नरहेको जिकिर गरेका छन् ।

राष्ट्रिय सभा गृहमा सम्बोधनकै क्रममा अध्यक्ष ओलीले आफूलाई हतार भएको सुनाए ।

लगत्तै, उनले पूर्वराष्ट्रपति भण्डारीले आजको आफ्नो सम्बोधन पनि सुनिदिन आग्रह गरेको बताए ।

‘सम्माननीय पूर्वराष्ट्रपतिज्युले मेरा पनि कुरा सुन्नुहोस् न भन्नुहुन्थ्यो’ ओलीले भने, ‘तपाईं राम्रै बोल्नुहुन्छ भन्ने मलाई थाहा छँदैछ । आज मात्रै सुन्नुपर्ने होइन, उहिल्यैदेखि सुन्दै आएको हो ।’
उनले भण्डारीले कहिल्यै पनि नराम्रो नबोल्ने भन्दै आज पनि के बोल्ने भन्ने आफूलाई थाहा भएको सुनाए ।

‘सुन्दै आएको छु । राम्रो बोल्नुहुन्छ, थाहा छ । नराम्रो कहिल्यै बोल्नुहुन्न । मलाई थाहा छ– के बोल्नुहुन्छ । त्यसो भएर मैले सुन्न बसिरहनु पर्दैन,’ प्रधानमन्त्री ओलीले भने ।

ओली सभाबाट निस्किसकेका छन् । भण्डारीले केहीबेरमा आफ्नो सम्बोधन गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?