
१६ असार, काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध मधेश केन्द्रित दलले रुपन्देही–३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) को उम्मेदवारलाई सघाउने संकेत गरेका छन् ।
रुपन्देही–३ को उपनिर्वाचनलाई छलफलको पहिलो एजेन्डा बनाएर संघीय लोकतान्त्रिक मोर्चाको दुई दिन बैठक बसिसकेको छ । बिहीबार र आइतबार नाउपाको पहलमा मोर्चाको बैठक बसेको थियो ।
बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार रुपन्देही–३ मा संघीय लोकतान्त्रिक मोर्चाबाट साझा उम्मेदवार नाउपाबाट हुने संकेत गरे । यद्यपि, औपचारिक निर्णयमा ती दलहरु पुगिसकेका छैनन् । ‘जनमत आफ्नै बैठकमा व्यस्त रहेकाले आइतबार निर्णयमा पुग्न सकेनौं’, बैठकमा सहभागी एक नेताले भने,‘अहिलेसम्मको अवस्था हेर्दा रेशमजीको पार्टीको उम्मेदवारलाई अरु दलले सघाउने देखिन्छ ।’
राप्रपाबाट निर्वाचित दीपक बोहोराको निधन भएको हुँदा निर्वाचन आयोगले कात्तिकमा उपनिर्वाचन गर्ने तयारी गरेको छ ।
गत निर्वाचनमा नाउपाका उम्मेदवारले त्यस क्षेत्रमा चौथो स्थानको मत ल्याएका थिए । राप्रपाका उम्मेदवार पहिलो, कांग्रेस दोस्रो र रास्वपाले तेस्रो स्थानको मत पाएका थिए ।
मधेश केन्द्रित सात दलमा नाउपाको सबैभन्दा बढी मत हुनु र त्यसपछि जनमतका उम्मेदवारले मत पाउनुले पनि साझा उम्मेदार नाउपाबाट हुने सम्भावना बढी रहेको ती दलका नेताहरुले जानकारी गराएका छन् ।
‘चितवनभन्दा पश्चिम थरुहटको प्रभाव पनि रहेको हुँदा थरुहट र मधेश जोड्ने माध्यम पनि उपनिर्वाचनलाई सोचेर नाउपाको उम्मेदवारलाई सघाउन खोजेका हौं,’ संघीय लोकतान्त्रिक मोर्चाका नेताले भने ।
प्रतिक्रिया 4