
काठमाडौं । नेपाल भ्रमणमा आएको मलेसिया–नेपाल बिजनेस काउन्सिलले व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्ससँग छलफल गरेको छ ।
चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेशकुमार अग्रवाल सहितको पदाधिकारी टोली र काउन्सिलको प्रतिनिधिमण्डलबीच द्विपक्षीय आर्थिक सम्बन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायत विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।
मलेसिया–नेपाल बिजनेस काउन्सिल अध्यक्ष प्रदीपकुमार कुकरेजा सहित टोलीले नेपाल भ्रमण क्रममा चेम्बर पदाधिकारी समक्ष दुई पक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका थिए ।
चेम्बर अध्यक्ष अग्रवालले नेपाल र मलेसियाबीच कूटनीतिक सम्बन्ध ६५ वर्षभन्दा पुरानो रहेको स्मरण गर्दै व्यापार, लगानी अभिवृद्धि तथा रोजगारीका दृष्टिकोणले समेत उत्कृष्ट रहेको बताए ।
नेपालबाट मलेसियामा ५ लाखभन्दा बढी युवाले रोजगारी पाइरहेको र दुई मलुकबीच सबैभन्दा धेरै हवाई सम्पर्क विस्तार भइरहेको अध्यक्ष अग्रवालले बताए ।
नेपाली युवा जनशक्तिले दुवै देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान गरेको अध्यक्ष अग्रवालले बताए । यद्यपि, मलेसियासँग नेपालको व्यापार घाटा उच्च रहेकाले यसलाई घटाउन व्यापार सहजीकरण गर्नुपर्नेमा उनको जोड थियो ।
अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, उत्पादनमूलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न मलेसियाका उद्यमी–व्यवसायीलाई आग्रह गरे ।
नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै अध्यक्ष अग्रवालले व्यापार घाटा न्यूनीकरणका लागि नेपाली वस्तुको आयात वृद्धि गर्न आग्रह गरे ।
चेम्बर पदाधिकारीसँगको भेटमा मलेसिया–नेपाल बिजनेस काउन्सिल अध्यक्ष कुकरेजाले नेपालको पर्यटकीय क्षेत्रले आफूलाई आकर्षित गरेको बताए ।
उनले नेपालमा लगानीको सम्भावना देखेर नै आफूहरू आएको र व्यावसायिक वातावरण बनाउन चेम्बरसँग सहकार्य गर्न लागेको बताए ।
प्रतिक्रिया 4