
२३ असार, काठमाडौं। नेपाली कांग्रेसको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पाँच वर्ष नै टिक्न सक्ने बनाउन संविधान संशोधनका लागि पाँच प्रस्ताव पार्टी बैठकमा राखेका छन् ।
शर्माको प्रस्ताव अनुसार प्रत्यक्ष तर्फको सिट र लोकप्रिय मतको आधारमा पहिलो बन्ने दलले सरकार गठन गर्ने उल्लेख छ । शर्माका अनुसार उक्त प्रस्तावको आधारमा दोस्रो, तेस्रो या अन्य दल पूरै अवधि सरकार बाहिर विपक्षमा बस्नुपर्ने हुन्छ । बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न नसकेको हुँदा यो व्यवस्था राख्नुपर्ने उनको तर्क छ ।
पहिलो दललाई सामान्य बहुमत नपुगेको स्थितिमा ‘विनर्स टेक अल’ ( जित्नेले सबै लग्ने ) सिद्धान्त बमोजिम निर्वाचन अघि नै आयोगमा बुझाइएको विज्ञहरुको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने अर्को प्रस्ताव शर्माको छ ।
पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने र प्रधानमन्त्रीले मन्त्रिपरिषदमा निश्चित संख्यामा विज्ञहरु सोझै नियुक्त गर्न पाउनुपर्ने शर्माको थप प्रस्ताव छ ।
‘त्यसरी बनेको प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसद्मा विश्वासको मत लिनुपर्छ । दुई वर्ष पुगेपछि त्यसको एक महिनाभित्र पुन: विश्वासको मत लिने,’ शर्माले पार्टी बैठकमा भने,‘पछिल्लो पटक विश्वासको मत लिंदा दुईवर्षे कामको निश्चित आर्थिक, सामाजिक सूचकहरुका आधारमा मात्रै विश्वासको मत पाउने/नपाउने टुंगो लाग्छ । विश्वासको मत पुन: प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्नेछ ।’
शर्माले प्रधानमन्त्री पदमा कुनै पनि व्यक्ति दुईपटक मात्रै बन्न सक्ने व्यवस्था हुनुपर्ने बताए ।
प्रतिक्रिया 4