
News Summary
Generated by OK AI. Editorially reviewed.- राप्ती नदीको कटानबाट जोखिममा परेको बाँकेको खल्ला झगडिया क्षेत्रमा करिब ४५० मिटर लामो आपतकालीन तटबन्ध निर्माण भइरहेको छ।
- जनताको तटबन्ध कार्यालयका आयोजना प्रमुख डा नारायण सुवेदीसहितको टोलीले स्थानीय बासिन्दा र मजदूरसँग मिलेर तटबन्ध निर्माणमा तिव्रता दिएका छन्।
- बाँके-१ का सांसद सूर्य ढकालले नदी किनारामा पक्की तटबन्ध निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।
२७ असार नेपालगञ्ज । राप्ती नदीको कटानबाट उच्च जोखिममा रहेको बाँकेको खल्ला झगडिया क्षेत्रमा धमाधम आपतकालीन तटबन्ध निर्माण भइरहेको छ ।
सिमेन्टको पोल, बाँस, बालुवा भरिएका प्लास्टिकका बोरा तथा जाली प्रयोग गरी करिब ४५० मिटर लामो तटबन्ध निर्माण गर्न लागिएको हो । तटबन्ध निर्माणमा दैनिक करिब १०० मजदूरले काम गरिरहेका छन् ।
आर्थिक वर्षको क्लोजिङ सकिए पनि आपतकालीन तटबन्ध निर्माणमा कुनै प्रभाव परेको छैन । बाढीको उच्च जोखिममा परेका राप्ती सोनारी र नरैनापुर गाउँपालिकाका दर्जनौं बस्ती जोगाउन जनताको तटबन्ध कार्यालयका आयोजना प्रमुख डा नारायण सुवेदीसहितको प्राविधिक टोली, राप्ती सोनारी गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय बासिन्दा र मजदूर खटिएका छन् ।
आपतकालीन तटबन्ध निर्माण गर्दा नदी बगिरहेको क्षेत्रमा तीन मिटर लामो १०/१० सेन्टिमिटर मोटाइ भएको ६ वटा सिमेन्टको पोल जोडेर तयार आरसीसी पर्कोपाइन तयार पारिएको छ । करिब ५ क्विन्टल तौल भएको आरसीसी पर्कोपाइन दुई वटा लहर बनाएर नदीमा राखिएको छ । आरसीसी पर्कोपाइन नदीमा राख्न बुटबलबाट ४० मिटर लामो बुम भएको क्रेन ल्याइएको छ ।
त्यसपछि बाँसको करिब ७ मिटर लामो पोल नदीमा ४ मिटर गाडेर २४ वटा बाँस जोडेर बनाएको बेम्बो पर्कोपाइन राखिएको छ । बारकै चतरी बुनेर राखिएको छ । त्यसपछि जिओ टेक्सलाइल बिच्छ्याइन्छ । त्यसमाथि बालुवा भरेको प्लास्टिकको बोरा राखेर प्लास्टिककै जालीले बाँधेर तटबन्ध निर्माण गरिन्छ ।
पछिल्लो दुई साताको अविधमा निर्माण गरिएको आपतकालीन तटबन्धले नदीको धार परिवर्तन भई कटान रोकिएको राप्ती सोनारी गाउँपालिका-७ का वडाध्यक्ष रामलखन थारुले जानकारी दिए ।
बाढी र डुबानको त्रासमा बाँच्न बाध्य स्थानीय बासिन्दा तीव्र गतिमा आपतकालीन तटबन्ध निर्माण भएपछि उत्साहित भएको स्थानीय दुर्गाप्रसाद पाण्डेले बताए ।
असोज २०७९ मा आएको बाढीले खल्ला झगडिया क्षेत्रमा निर्माण गरेको पक्की तटबन्ध भत्काएपछि स्थानीयले तटबन्ध निर्माणका लागि गाउँपालिका, लुम्बिनी प्रदेश सरकारदेखि संघीय सरकारसँग पटकपटक आग्रह गरेका थिए । तर बजेट र निर्माण सामग्रीको अभाव देखाउँदै जनताको तटबन्ध कार्यक्रम लमहीले तटबन्ध निर्माण अगाडि बढाएको थिएन ।
तटबन्ध निर्माणको प्रक्रिया अघि बढ्न नसकेपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तटबन्ध निर्माणलाई तिव्रता दिने जिम्मेवारीका साथ फागुनको दोस्रो सातामा आयोजना प्रमुखको रूपमा डा सुवेदीलाई खटाएको थियो । त्यसपछि तटबन्ध निर्माणको कामले तिव्रता पाएको मन्त्रालयकी सचिव सरिता दवाडीले बताइन् ।
स्थानीयवासी बाँकेका जनप्रतिनिधिले खल्ला झगडियामा तटबन्ध निर्माणका लागि बारम्बार ताकेता गरेपछि भत्किएको दुई वर्षपछि जनताको तटबन्ध कार्यक्रम लमहीले आपतकालीन तटबन्ध निर्माण कार्य अघि बढाएको राप्ती सोनारी गाउँपालिकाका प्रमुख तप्त पौडेलले बताए ।
तटबन्ध निर्माण भएपछि नदीको कटान र डुबानको जोखिममा रहेका त्यस क्षेत्रका करिब ३० हजार जनता केही हदसम्म सुरक्षित भएको उनले बताए ।
भारतले राप्ती नदीका साथै गन्धती तथा सुतैया नालाको प्राकृतिक बहाव नै रोकिने गरी निर्माण गरेको लक्ष्मणपुर बाँध र एफलक्स बन्डका कारण २०७१ सालदेखि बाँकेको राप्ती नदी किनारका बस्ती बाढी र डुबानको जोखिममा पर्ने क्रम बढ्दै गएको छ ।
तटबन्ध निर्माण गरी राप्ती नदी किनाराका जनताको जीउधन र खेतीयोग्य जमिन जोगाउन नेपाल सरकारले नदीको दुवै किनारामा पक्की तटबन्ध निर्माणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बाँके-१ का सांसद सूर्य ढकालले बताए ।
बाढीको उच्च जोखिममा रहेको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले जनताको तटबन्ध कार्यक्रमले अस्थायी तटबन्ध निर्माण सुरु गरेपछि नरैनापुरका जनताले केही हदसम्म राहत महसुस गरेको बताए ।
खल्ला झगडिया क्षेत्रमा करिब ४५० मिटर लामो पक्की तटबन्ध मंसिर २०८३ सम्म सम्पन्न गर्नेगरी साई माँ दुर्गा भिन्सी भेजीले ६ करोड ५ लाख रुपैयाँको लागतमा ठेक्का लिएर काम सुरु गरेको आयोजना प्रमुख डा नारायण सुवेदीले बताए । निर्माण हुन लागेको तटबन्धमा बेस ३० मिटर, उचाइ ६ मिटर र टपमा ५ मिटर चौडाइ हुनेछ ।
२०७१ सालमा आएको बाढीबाट खल्ला झगडिया लगायत बाँके जिल्लाका दुई दर्जनभन्दा बढी गाउँ प्रभावित भएका थिए ।
बाढीबाट २०७१ सालमा बाँकेमा १५ जनाको मृत्यु, ५ जना बेपत्ता र २ जना घाइते भएका थिए ।
बाढीबाट २ हजार ७ ७१ घर पूर्ण रूपमा र ७ हजार ९९२ घर आंशिक गरी १० हजार ७६३ घरमा क्षति भएको थियो ।
प्रतिक्रिया 4