
२७ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र एकअर्कालाई ललकार्ने तरिका बन्द गर्न अपिल गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुक मार्फत् आपसमा विमर्शको खाँचो औल्याउँदै यस्तो अपिल गरेका हुन् ।
‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौं, बसौं, आपसमा विमर्श गरौं’ भट्टराईले लेखेका छन्, ‘सहकार्य मार्फत् समाधान खोजौं, जबजको मर्म पनि यही हो ।’ मध्यमार्गी जस्तो देखिने उनको स्टाटसमाथि थुप्रै खाले प्रतिक्रिया आएका छन् ।
तर सँगै भट्टराईको स्टाटसले वर्तमान एमाले कुन अवस्थामा चलिरहेको छ भन्ने पनि बुझाउँछ । अर्थात् एकअर्काविरुद्ध ललकार्ने कार्य रोक्न नेताहरुले सार्वजनिक अपिल गर्नुपर्ने अवस्थामा एमाले पुगेको छ । भट्टराईकै जस्तो भाषामा अरु थुप्रै नेताले सार्वजनिक अपिल गरिरहेका छन् ।
अनि एमालेभित्र एकअर्काविरुद्ध ललकार्ने परिस्थिति निर्माण भने पार्टीको भावी नेतृत्वको विषयले सिर्जना गरिरहेको छ । एउटा पंक्तिले वर्तमान अध्यक्ष केपी ओलीलाई नै निरन्तरता दिने अभियान चलाइरहेका छन् भने अर्को पक्षले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भावी नेतृत्वको रुपमा अगाडि बढाएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीले पनि आफ्ना समर्थकलाई बल पुग्नेगरी गतिविधि गरिरहेकी छन् । बिहीबार इमेज टेलिभिजनमा अन्तर्वार्ता दिँदै भण्डारीले नेतृत्वको दौडलाई अझ तीब्र बनाएकी छन् ।
उक्त अन्तर्वार्तामा भण्डारीले आगामी महाधिवेशनपछि एमाले नेतृत्वमा ओली नरहने, अध्यक्ष हुनकै लागि आफूले पार्टी सदस्यता नवीकरण गरेको, सके सर्वसम्मति र नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्वमा आउने प्रष्ट सन्देश दिइन् ।
‘दोहोर्याएर एउटै कक्षामा जाँच दिन्न भन्ने खालको व्यक्ति हो (केपी ओली)’ अन्तर्वार्तामा भण्डारीले भनेकी छन्, ‘मलाई लाग्छ अरु नेताहरुले भने भन्दैमा दोहोर्याउने तेहेर्याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’ गत १४ असारमा मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर भण्डारीले पार्टी सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन् ।
तर, पार्टीले ११औं राष्ट्रिय महाधिवेशन घोषणा गर्नै बाँकी रहेको भन्दै थप निर्णय सुनाएकी थिइनन् । आफू निकट नेताहरुलाई समय आएपछि सार्वजनिक घोषणा गर्ने बताउने गरेकी थिइन् । तर धेरैलाई चकित पार्नेगरी पूर्वराष्ट्रपति भण्डारीले एमालेको भावी नेतृत्वमा आफू आउने सन्देश सार्वजनिक गरिन् ।
उनी निकट नेता विनोद ढकाल पूर्व राष्ट्रपतिको अन्तर्वार्तालाई धेरै आश्चार्यका रुपमा लिन नहुने बताउँछन् । ‘हामी सबैलाई थाहा भएकै कुरा थियो, जे गर्नलाई उहाँले सदस्यता नवीकरण गर्नुभएको थियो, त्यो कुरा प्रष्ट पारिदिनु भएको मात्र हो’, ढकाल भन्छन् ।
सार्वजनिक प्रतिक्रिया हेर्दा भने ढकालले भने जस्तो मात्र यो अन्तर्वार्ता सीमित भएन । बरु भण्डारीको यो अन्तर्वार्तापछि देशभर उनका पक्षधरमा ठूलो उत्साह आएको देखिन्छ । जसको उदाहरणका रुपमा भण्डारीका पक्षमा खुलेका जनसंगठनका नेताहरुको प्रक्रियालाई लिन सकिन्छ ।
‘पार्टी संस्थापनको निर्णय नमान्ने जनसंगठनका नेताहरुलाई नोटिसमा राखिएको’ अभिव्यक्तिकै कारण स्थायी कमिटी सदस्य भानुभक्त ढकालविरुद्ध यति बेला भण्डारी पक्षका नेता-कार्यकर्तापंक्ति खनिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालका पूर्वमहासचिव सुमन पुरीले ढकाललाई उल्टै कार्यकर्ताको नोटिसमा रहेको चेतावनी दिएका छन् । ‘अति नगर । अब हामीले नोटिस गर्न थालेका छौं । त्यसपछि पार्टी कार्यालय छिर्ने हैसियत पनि रहदैन । हेक्का राख !’, पुरीले लेखेका छन् ।
पोखरामा सम्पन्न युवा संघको महाधिवेशनमा संस्थापन इतर उम्मेदवार बनेर पुरीले अध्यक्ष पदमा चुनाव लडेका थिए । तर जित्न सकेनन् ।
युवा संघ जस्तै अनेरास्ववियुको अध्यक्ष बन्न नपाएका प्रकाश पौडेलले पनि ढकालको चुनौतीमा उल्टै जवाफ दिएका छन् । पार्टी संकटमा रहँदा पनि मैदानमै भएको र अब पनि मैदानमै रहने पौडेलको चुनौती छ ।
‘पार्टी नोटिसमा होइन, चरम आक्रमणमा थियो । धेरैका पाइला कता चल्ने भन्ने दोधारमा थियो । त्यसै बेला मैदानमा उभिएर हामीले बल पैदा गरेका थियौ’ पौडेलले लेखका छन्, ‘जनताको प्रिय एमाले बनाउने अभियानमा हामी निरन्तर छौं, कसैले कुनै शक्तिले पनि हामीलाई रोक्न सक्दैन ।’ प्रेस चौतारी नेपालका पूर्व महासचिव राजेश राईले त ढकालले कसरी कार्यकर्तालाई अन्याय गरिरहेका छन् भनेर साहित्यिक पोष्ट नै गरेका छन् ।
पुरी, पौडेल र राई पूर्वराष्ट्रपति भण्डारीलाई अध्यक्ष बनाउने अभियानमा सक्रिय नेताहरु हुन् । र उनीहरुको स्टाटसलाई पछ्याउँदै समर्थकहरुले पार्टी संस्थापनलाई चुनौती दिइरहेका छन् । यही तथ्य देखेरै एमाले सचिव योगेश भट्टराईले एकअर्कालाई ललकार्ने तरिका बन्द गर्न सार्वजनिक अपिल गरेको बुझ्न सकिन्छ ।
भण्डारी निकट नेताहरु भने च्यासलबाटै नेता-कार्यकर्तालाई त्रसित बनाउने अभियान चलेकाले काउन्टर जवाफ दिनु परेको बताउँछन् । ‘विधान महाधिवेशनमा नेता-कार्यकर्ताले आफ्नो अभिमत राख्न पाउनु विधानकै व्यवस्था हो, तर यति मात्र बोल्न, र पक्षमा मात्र बोल्नु भनेर चेतावनी दिने काम नेताहरुबाट भयो,’ अखिलका पूर्व नेता पौडेल भन्छन्, ‘त्यसैले हामीले अनुशासनभित्रै रहेर तथ्यहरु सम्झाएका हौं ।’
पूर्वराष्ट्रपति पक्षका नेताहरु, च्यासलबाटै दिनहुँ संस्थापनइतर पक्षलाई निरुत्साहित पार्नेगरी निर्देशन दिइँदै आएको बताउँछन् । पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउने घोषणा गरे लगत्तै महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, काशिनाथ अधिकारी लगायतले विभिन्न कमिटीको विस्तारित बैठक रााख्दै नेतृत्वमाथि बहस नगर्न निर्देशन दिँदै आएका छन् ।
विशेषगरी महासचिव पोखरेलले पार्टी विधानबारे गलत सन्देश लैजाने काम एमालेकै नेताहरुले गरिरहेकाले त्यसको प्रतिवाद गर्न नेताहरुलाई निर्देशन दिइरहेका छन् । यस्तो निर्देशन दिएर महासचिव पोखरेलले सातै प्रदेशका पदाधिकारी, ७७ जिल्ला नेतृत्व, सबै जनसंगठनका पदाधिकारी र पार्टीका केन्द्रीय सदस्यहरुको बैठक राखिसकेका छन् ।
सबैजसो बैठकमा महासचिव पोखरेलको समान कुरा छन्- ‘लगातार दुई कार्यकाल भन्दा बढी एउटै पदमा बस्न नपाउने व्यवस्था हटिसकेको छ, र ७० वर्षे उमेर हद पनि हट्छ (केन्द्रीय समितिबाट हटिसकेको र अब विधान महाधिवेशनले हटाउने) । विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबाटै भएको निर्णयविरुद्ध टिप्पणी गर्ने कार्यलाई अनुशासनहीन र अराजक हो ।’
महासचिव पोखरेलकै जस्तो भाषामा संस्थापन पक्षका अरु नेताहरुले पनि बोलिरहेका छन् । यस्तै क्रममा बिहीबार जनसंगठनका पदाधिकारीहरुलाई स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ‘संस्थागत निर्णय नमान्नेहरू नोटिसमा रहेको’ चेतावनी दिएका थिए ।
स्रोतका अनुसार यसरी च्यासलबाट लगातार गरिएको निर्देशनबाट भण्डारी र उनी पक्षका नेताहरू थप कदम चाल्नुपर्ने दबावमा थिए । ‘च्यासलमै एकपछि अर्को बैठक राख्ने र नेतृत्व परिवर्तनको पक्षमा कोही पनि खुल्न नसक्ने परिस्थिति सिर्जना गरिँदै थियो । त्यसको जवाफका रुपमा पनि पूर्वराष्ट्रपतिको अन्तर्वार्तालाई लिनुपर्छ’, भण्डारी निकट स्रोत भन्छ ।
प्रतिक्रिया 4