News Summary
Generated by OK AI. Editorially reviewed.- फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया पूरा गरी निर्माणतर्फको बाटो खुलेको छ।
- नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयबाट ईआईए स्वीकृति प्राप्त भएपछि परियोजना अघि बढ्न कानुनी अवरोध हटेको छ।
- परियोजनामा ५० हजार दर्शक क्षमताको क्रिकेट रंगशाला, फुटबल मैदान, पौडी पोखरी लगायत पूर्वाधार समावेश गरिनेछ र ग्लोबल टेन्डरमा जान तयारी भइरहेको छ।
२७ असार, धनगढी । फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाले ठूलो सफलता हात पारेको छ।
फाप्ला क्रिकेट रंगशाला तथा खेलग्राम पूर्वाधार विकास समितिका अध्यक्ष सुवाश शाहीले परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रक्रिया पूरा भएसँगै निर्माणतर्फको बाटो खुलेको जानकारी दिएका छन्।
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयबाट ईआईए स्वीकृति प्राप्त भएपछि अब परियोजना अघि बढ्न कानुनी अवरोध हटेको शाहीले जनाएका छन् । यससँगै खेलग्रामको खाकाले मूर्तरूप लिएको उनले बताए ।
२६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित फुटबल मैदान, पौडी पोखरी, ट्र्याक एण्ड फिल्ड, स्पोर्ट्स म्युजियम र मल्टि-स्पोर्ट्स हल जस्ता पूर्वाधार समावेश गरिनेछ।
ईआईए स्वीकृति पछि अब परियोजना स्रोत सुनिश्चित गर्दै ग्लोबल टेन्डरमा जान तयारी भइरहेको छ। यसले भविष्यमा फाप्लामा एकदिन विश्वकप आयोजना गर्ने सपना नजिक ल्याउने तथा धनगढीलाई ‘सिटी अफ क्रिकेट’ को रूपमा चिनाउने लक्ष्य राखिएको छ।
अध्यक्ष शाहीले यो उपलब्धिमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित, खेलकुदमन्त्री तेजुलाल चौधरी, वनमन्त्री ऐनबहादुर शाही, प्रदेश सरकार, स्थानीय सरकार, समितिका पदाधिकारी, कर्मचारी तथा प्राविधिकहरूप्रति विशेष आभार प्रकट गरेका हुन्।
प्रतिक्रिया 4