
News Summary
Generated by OK AI. Editorially reviewed.- राजनीति र उमेर दुवै भरपुर भोगेका बालाराम घर्तीमगरको निधन असार ८ गते भयो।
- राजाका प्रियपात्र बालारामले २०१५ सालदेखि २०७० सालसम्म मन्त्री, सांसदसहित विभिन्न राजनीतिक पदहरू सम्हालेका थिए र आफूलाई कुनै दाग नलागेको दाबी गर्थे ।
- आधा दर्जन किताब समेत लेखेका बालारामले कलंकरहित हुने तीन सूत्र सुनाउथे– छोट्टी, भट्टी र भ्रष्टाचार ।
२९ असार, काठमाडौं । असार ८ गते दिउँसोपख पनि सातदोबाटोस्थित बालाराम घर्तीमगर निवास सुनसान थियो । बैठक कोठामा बसी रेडियो सुन्दै थिए उनी । उनका आँखा घरी भित्तामा बसेका राजा वीरेन्द्र परिवार, घरी विभिन्न देशका राष्ट्र प्रमुखसँग खिचाएको फोटो त घरी राजाबाट तक्मा लिँदा र मन्त्री पदको शपथ खाँदाका फोटोमा उक्लन्थे ।
बालारामकी जीवनसाथी बेलमती माथ्लो कोठामै थिइन् । एउटी युवतीले चिया दिइन् । जो केही दिन मात्र आएकी थिइन्, रोल्पा मसिनाकी पुनपुत्री मगर परिवारलाई सहयोग गर्न । सात छोरी बिहेवारी गरी आ–आफ्ना घर लागिसकेका थिए । दुई छोरी नेपालमा थिए भने बाँकी अमेरिका, क्यानडा र अष्ट्रेलिया ।
पेरिसडाँडास्थित माओवादी कार्यालयमा कृष्णवहादुर महरालाई भेटी हिँड्दै सातदोबाटोस्थित मगर निवास पुगेको थिएँ । सञ्जोग पनि कस्तो भने दुई कुराचाहिँ मिल्दाजुल्दा थिए ।
एक, दुवै रोल्पाली नेता त थिए नै, धेरैपालि मन्त्री हुने बालारामलाई टक्कर दिने उनै महरा थिए ।
दुई, दुवै नेता शक्ति र सत्ताबाट बाहिरिएर गुमनाम थिए ।
यसको कारण थिए, बालाराम राप्रपा केन्द्रीय कार्यसम्पादन समितिमा हुनु र महरा माओवादी उपाध्यक्ष हुनुमा मात्रामात्र फरक थियो । दुबै नेता तथाकथित मूलधारे राजनीतिको चन्द्रागिरिमा थिए ।
बैठक कोठामै बड्डासँग गफियौँ । एक्ला बालारामसँग एउटा रेडियो थियो । त्यही रेडियोसँग बसिरहेका थिए ।
‘बालाई ठीकठाक छ ?’
रेडियो एकछिन पर राखेर पत्रिका हेर्दै भनेका थिए, ‘अब चस्मा लगाउनुपर्ने हुँदैछ ।’
‘नियमित जाँच गराउने को डाक्टर छ ?’
‘दुई वर्षयता जँचाएको छैन । कहिलीकसो छोरी दिलास्माले जाँच्ने हो । ठीक छ भन्छे ।’
त्यसपछि उनले आफ्नो पेट देखाए । स्लिम थियो । बाहिर निक्लेको थिएन । त्यसपछि मलाई भने, ‘अलि घटाउनु है, अब ठूलो हुन थाल्यो ।’
त्यो दिन बड्डा ठीकठाक थिए ।

कति राजनीतिका निक्ले कति सामाजिक । त्यसबीचमा उनले आफ्नो दैनिकी सुनाए । बेलुकी रोटी खाने, बिहान चार बजे उठ्ने, हरेक दिन नुहाउने आदि ।
त्यसपछि उनले ऐतिहासिक घटनाक्रम भाग दुईको प्रसंग निकाले ।
भनेँ, ‘अब लेख्न सक्नु हुन्न, सहयोगीलाई तपाईंले भन्ने र उनलाई लेखाउनुस् ।’
अरु बेला आफैँले लेखिहाल्छु नि भन्ने बड्डाले भने, ‘भतिज घर (रोल्पा मिझिङ) गएको छ, केही दिनमा आउँछ । आएपछि म भन्छु, भतिजले लेख्छ ।’
भतिज फर्के । तर, बालाराम आफ्नो ‘ऐतिहासिक घटनाक्रम भाग दुई’ भतिजलाई नलेखाई शुक्रबार ‘गुडबाई’ भने । बालाराम आउने साउने १८ गते ८८ वर्ष पुग्दै थिए ।
मिझिङमा बालाराम
सुनछहरी झरना पनि मिसिएपछि लुङ्रीखोला सुलीचौर पुग्छ । लुङ्रीको सुसेला उकालिदै एउटा गाउँमा पुग्छ, जुन गाउँ मिझिङ हो । मिझिङ गाउँबाट एउटा बाटो सदरमुकाम लिबाङ पुग्न हतारिदै सातदोबाटो उक्लन्छ ।
हो, त्यही मिझिङे मुक्खेको घरमा १९९४ साउन १८ गते बालाराम घर्तीमगर जन्मे । कुनै बेला गजुले राजाका मुक्खे खलकीय मुक्खे भए पनि आफ्नो काम आफैं गर्थे । बस्तुभाउ पाल्थे । सहर र तराईमा जस्तो जिम्दार, मुक्खे, जिम्मल उपरखुट्टी लगाएर हल्लदैनथे ।
आफ्नो काम आफैंले गर्थे ।
बा नरबहादुर घर्तीमगर । बाजे सन्तके घर्तीमगर । आमा टीकाकुमारी । उनकी आमा टीका चार आमामध्ये जेठी थिइन् ।
बालारामको बाल्यकाल बाजेसँगै बित्यो । बाजे गाउँका जानभान थिए । गाउँको सकअसकमात्र होइन, सुखदुःख पनि बिसाउन गाउँले उनकहाँ आउँथे । आफ्नो गच्छेअनुसार अप्ठेरा फुकाइदिन्थे । बालाराममा आफ्नो बाजेको गहिरो छाप थियो । त्यसैले कुराकानीको क्रममा प्रसंगबस् वा बेप्रसंग पनि बाजे बीचमा ल्याउँथे ।
गाउँमा स्कुल थिएन । पढ्ने चलन पनि थिएन । उनले सिकेको सीप र ज्ञान भने उनका जीवनपद्धतिसँग जोडिएका थिए ।
‘मैले विद्यालयको ज्ञान आर्जन गर्न नपाए पनि खोला, पाखा, वनजंगल, बूढापाकाबाट धेरै जान्ने मौका पाएको थिएँ । यसैले मेरो बाल्यकाल ऊर्जामय, ज्ञानमय र अनुभवमय वातावरणमा बित्यो (घर्तीमगर ः २०७२, पृ.२९) ।
१६ वर्षको उमेरमा १२ वर्षकी बेलमतीसँग बिहे भयो । त्यो थियो, २००९ सालको करा । बेलमती मामाछोरी थिइनन् । उमेर नमिलेका छोरी दिन नपाएकोमा मामाहरु खुबै चुकचुकाएको बालाराम सुनाउँथे ।
गजुले राजाको मुक्खे
बालारामका पुर्खा गजुले राजाको मुक्खे थिए । गजुलकोट भुरेटाकुरे राज्य । त्यसैले उनको गाउँमा न मगर भाषा खाम बाँकी थियो न त चलन नै । हिन्दुकरण भइसकेको थियो ।
घर्ती त उनका पुर्खालाई राजाले दिएको पद थियो । उनका पुर्खा गजुल राज्य अठार मौजाका मुक्खे थिए । पहिलो मुक्खे नयन पुन थिए ।
‘गजुलको अठार मौजाको काजी र मुक्खे पद क्रमशः बगाले र हाम्रा पुर्खाले सम्हाले । यसपछि आफ्नो थर पुन लेख्दै आएका हाम्रा पुर्खाले घर्तीमगर लेख्न थाले । राजदरबारका इमान्दार, विश्वासिला र निकटवर्ती कर्मचारी हुनाले हाम्रा पुर्खालाई घर्ती भन्ने पद दिइयो (घर्तीमगर : २०७२, पृ.२४) ।
उनै मुक्खे नयनका सन्तान थिए, बालाराम । सञ्जोग पनि कस्तो भने, मुक्खे पद उनकै पालामा गुम्यो । उनले लेखेका छन्, ‘मभन्दा दस पुस्ता अगाडिदेखि सम्हाल्दै आएको मुक्खे पद मेरो जीवनकालमा यो व्यवस्था उन्मुलन भयो (पृ.२५)।
लाहुरिनबाट बचेका बालाराम
बालारामका पुर्खा प्रथम र दोस्रो दुवै विश्वयुद्ध लडे । प्रथम विश्वयुद्धमा उनका जिजुबाजे सहभागी भए । इटलीबाट फर्केनन् । महिनाको तीन रुपैयाँ दिने भनेर गल्लाले लिएर गएको थियो । दोस्रो विश्वयुद्धमा उनका काकाहरु गए । प्रतिमहिना ११ रुपैयाँ दिने सर्तमा गल्लाले लिएर गएको थियो ।
दोस्रो विश्वयुद्धमा माहिला बाजे तहबीरका छोरा अनराम, काहिँला बाजेका छोरा धनवीर बर्माको लडाइँबाट फर्केनन् । लाहुरको पीडाले बालाराम परिवार यति आहत थियो कि, बालारामलाई लाहुर पठाएनन् । (घर्तीमगरः २०७२, पृ.४४) ।
लाहुरले सोहोरेर सोत्तर पारेको मगर समाजमा बालाराम लाहुरिनबाट जोगिए ।
लुङ्रीखोलामा सुन खोजे
सानो खोलामा माछा मार्न सजिलो हुने ठानी एकदिन बोटे बालाराम गाउँमुनि बग्ने लुङ्रीखोला पुगे । तिनले माछा पनि मारे । सुन पनि खोज्न थाले । बालारामको गाउँ मिझिङसहित फगाम, गाम, जैमाकसला आदि गाउँकाले पनि बोटेलाई पछ्याउँदै सुन खोज्न थाले ।
पितापुर्खाले सुन खोजेको पदचाप पछ्याउँदै बालारामले पनि खोलामा सुन खोजे ।
‘दुई मासा सुन भेटेँ,’ उनले गएको महिना पंक्तिकारसँगको सुन संवादमा सुनाएका थिए, ‘हाम्रो त खोलैभरि सुन छ ।’
१० मासाको एक तोला हुन्छ । त्यसबेला तोलाको असी रुपैयाँ थियो भने खोलाको सुन तोलाको सय ।
त्यसबेला उनी २२ वर्षका थिए ।
संजोग, उनै घर्तीमगर एकदिन उद्योगमन्त्री भए । प्राविधिक लगाएर सुन सर्भे गराए । उनले सुनाउँदै थिए, ‘२० किलोमिटर क्षेत्रमा सुनखानी छ । कठिन छ, जेलबाङदेखि रुकामखोलासम्म ।’
सुन खोज्नेक्रम अहिले पनि जारी छ ।
राजनीतिमा बालाराम
२०१५ सालमा पहिलो संसदीय चुनाव भयो । चुनावमा उनका गजुलका खडानन्द सुवेदी (कांग्रेस) क्षेत्र नम्बर ८३ बाट उठे । जिते । बालारामले नारा देखे । जुलुस देखे । भाषण सुने । राजनीतिमा चस्को पस्यो । उनले सुवेदीलाई गुरु मान्थे ।
पञ्चायतले २०१७ मा बहुदल खायो ।
बालाराम कालापार (भारत) गए ।
त्यहाँ पनि उनले राजनीतिक भाषण सुने/देखे । उनी २०१८ चैतमा नेपाल फर्के । गाउँमा चुनाव हुँदै थियो । उनी त निर्विरोध प्रधानपञ्च भए । २०१८ मा नयाँ जिल्ला रोल्पा बनेको थियो । त्यसैले उनको कामकारबाही मिझिङको प्युठानमा भयो । सपथ खान प्युठान गए । पुगेकै दिन कांग्रेसले फूल्बारीमा रहेको बारुदखाना कब्जा गर्यो ।
प्युठानका ४८ र रोल्पाका ३७ गाउँ पञ्चायतका प्रधान र उपप्रधानले त्यही प्युठान सदरमुकाम खलंगामा सपथ खाए, जुन सपथग्रहणमा मोहनविक्रम सिंहका बा प्रधानपञ्च बनेका थिए ।
मोहनविक्रम सिंहका बा थिए, खिमविक्रम घर्तीक्षेत्री । मोहनविक्रम सिंहपछि मात्र सिंह लेख्न थालेका हुन् । अहिले कतिपय घर्ती क्षेत्रीले मोहनविक्रमको सिको गर्दै सिंह लेख्न थालेका छन् ।
बालारामले लेखेका छन्, ‘भूमिगत पार्टीले कब्जा गर्ने हुन् भन्ने डर थियो’ (पृ.६६) ।
२०१९ को माघमा जिल्ला सभा चुनाव भयो । उनी उपसभापति भए । सभापति भए, नारायणप्रसाद चन्द । त्यसपछि मगर र चन्द राष्ट्रिय पञ्चायत सदस्य भए । उनले लेखेका छन्, ‘२०१९ देखि २०५१ सम्म रोल्पाबाट सात पटक चुनिएँ ।’
रोल्पाबाट २०४८ सालको चुनावमा बर्मन बुढामगरसँग हारेका थिए । रोल्पाबाट नै २०७० र २०५६ मा ललितपुर ३ बाट चुनाव हारे । लगत्तै २०५६ मै उनी राष्ट्रिय सभा सदस्य भए ।
सबभन्दा पहिले २०३१ मा नगेन्द्रप्रसाद रिजालको मन्त्रिमण्डलमा गृहसहायकमन्त्री भए । रिजालसहित डा. तुलसी गिरी, सूर्यबहादुर थापा, कृतिनिधि विष्ट, मरिचमान सिंह श्रेष्ठ, लोकेन्द्रबहादुर चन्द र दुईपटक शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा रहे । राजा महेन्द्र र राजा वीरेन्द्रका प्रियपात्र थिए बालाराम ।
नेपालको इतिहासमा सम्भवतः लामो समय सांसद भए । मन्त्री भए । मन्त्री हुँदा धेरै मन्त्रालय सम्हाले ।
३६ वर्षको उमेरमा गृहसहायक मन्त्रीबाट सुरु भएको घर्तीमगरको मन्त्रीयात्रा बहुदलकालीन शेरबहादुर देउवा प्रधानमन्त्री हुँदासमेत जारी रह्यो ।
२४ वर्षको उमेरमा प्रधानपञ्च बनेका थिए ।
सिंगो ३० वर्ष पञ्चायतमा निरन्तर जनप्रतिनिधि भए । मन्त्री भए । बहुदलीय व्यवस्थामा सांसद भए । मन्त्री भए । गृह सहायकमन्त्रीदेखि निर्माण तथा यातायात, रक्षा, विज्ञान प्रविधि, भौतिक, आपूर्ति, उद्योगमन्त्री लगायतका मन्त्रालय सम्हाले ।
‘मगरको जातिमा सैन्य संस्कृति भएको हुनाले त्यो संस्कृतिलाई व्यावहारिक रुप दिन सबभन्दा पहिले रक्षामन्त्री गुल्मीका गिरिप्रसाद बुढाथोकीमगर भए । त्यसपछि बालाराम घर्तीमगरलाई परम्परागत शासनको अनुभवबाट भरपर्दो शासनलाई समाबेस गरेर पहिलो रक्षामन्त्रीको रुपमा जनताको छोरालाई राजाले ल्याएका थिए,’ पूर्व राष्ट्रिय पञ्चायत सदस्य बमकुमारी बुढामगरले बालारामको राजनीति यात्रालाई सम्झदै भनिन्, ‘पञ्चायत भनेको राजाको शासन हो । राजाको शासनमा एउटा इमान्दार लगनशील भएर मगरको छोरा बालाराम लामो समयसम्म काम गर्नुभयो ।’
पञ्चायतको चुनावमा रोल्पामा बालाराम र बमकुमारी फरक धारबाट चुनाव लडेका थिए । एकअर्का प्रतिस्पर्धी थिए ।
बालाराम राजपरिषद् सदस्य पनि भए ।
राजाको प्यारो
राजा वीरेन्द्रको प्यारो थिएँ भन्थे । पटकपटक राजा वीरेन्द्रको कुरा गर्थे । मगर समुदायबाट उनी नै थिए सबभन्दा बढी सत्तामा रहेका । उनीबाहेक पञ्चायतमा मन्त्री हुने गुल्मीबाट गिरिप्रसाद बुढाथोकीमगर र श्रीप्रसाद बुढाथोकीमगर अनि कास्कीका उत्तमबहादुर पुन त थिए ।
मगर समुदायबाट बालाराम नै सबभन्दा लामो समय मन्त्री भए ।
थारु समुदायबाट फत्तेसिंह थारु, परशुनारायण चौधरी, लिम्बू समुदायबाट पद्मसुन्दर लावती र तामाङ समुदायबाट बुद्धिमान तामाङ सत्तामा रहे ।
‘राजाले तपाईंलाई किन मन्त्री बनाए ? नेपालमा सबभन्दा ठूलो जनसंख्या भएको आदिवासी, क्षेत्रीबाहुनपछिको तेस्रो ठूला जनसंख्यावाल मगर समुदायबाट ‘हेर मैले मन्त्री बनाएको छु’ भनेर राजाले आफ्नो सत्ता टिकाउन थियो कि तपाईंको आवश्यकताले ?’
जवाफमा बालाराम एकछिन गमेर भनेका थिए, ‘दुवै हो ।’
अप्ठेरामा राजाले आफूलाई सम्झेको र जिम्मेवारी दिएको पनि सुनाउँथे । ‘बालारामले बेइमानी गर्दैन, इमान्दारीसाथ जिम्मेवारी निभाउँछ भन्ने राजामा विश्वास थियो’ भनेर दाबी गर्थे ।
कलंकरहित हुने बालाराम सूत्र
बालाराम आफू तीन चिजसँग टाढा रहेकाले लामो राजनीतिक यात्रा तय गरेको भन्थे । आफूलाई कुनै दाग नलागेको दाबी गर्थे ।
उनले राजनीतिककर्मीमात्र होइन, मानिसले आफ्नो जीवन वा आफूले सोचेको गन्तव्य पुग्ने तीन चिजसँग सतर्क रहन भन्थे । उनका तीन सूत्र थिए– छोट्टी, भट्टी र भ्रष्टाचार ।
आफू तन्नेरी हुँदा हेन्सम (ह्याण्डसम) भएको र फोटो देखेर आफूले रोल्पामा भोट पाएको रमाइला किस्सा सुनाउँथे । उमेरमै सत्ता र शक्ति भएकाले उनका पछि लाग्ने सुरासुन्दरीबाट टाढा रहेको सुनाउँथे । सुन्दरीमा रमेपछि सारा चिज भुल्ने भएकाले आफू सधैँ छोट्टी (केटी)बाट टाढा रहेको सुनाउँथे । र, छोट्टीबाट सधैँ अलग रहन सुझाउँथे ।
दुई, भट्टी । मानिस रक्सी भट्टीमा गएपछि सबै डामाडोल हुन्छ भन्थे । समय, पैसा र स्वास्थ्य तीन चिज एकैपालि स्वाहा हुने हुँदा सतर्क रहन भन्थे ।
तीन, भ्रष्टाचार । आफूले भ्रष्टाचार नगरेको दाबी गर्थे । तीस वर्षसम्म काठमाडौंमा डेरामा बसेको सुनाउँथे । तलमाथि नगरेकाले कसैले औँला उठाउने ठाउँ नदिएको तर्क गर्थे ।
सात छोरी
राजाबाट प्रभावित बालारामले आफ्नो छोराको नाउँ महेन्द्र राखेका थिए । बूढानीलकण्ठ स्कुलमा १० कक्षामा पढिरहेका महेन्द्र १६ वर्षको उमेरमा २०४४ पुस १२ गते बितेका थिए ।
छोराको सम्झनामा बेलमती भन्थिन्, ‘छोराछोरीलाई आमा–बाबाट टाढा नराख्नू है ।’
छोरा महेन्द्रलाई सानैमा सेन्टजेभियर गोदावरी र बूढानीलकण्ठ स्कुलमा बोर्डस् बनाउँदाखेरि आमा–बाको माया र सम्बन्धबाट टाढिएको तर्क गर्थिन् बेलमती ।
उनका सात छोरी छन् । सातमा तीन छोरी मेडिकल डाक्टर छन् । सातमध्ये दुईमात्र नेपालमा छन् । बाँकी क्यानडा, अमेरिका र अष्ट्रेलिया छन् ।
डा.जीतकुमारी (क्यानडा)ले ताप्लेजुङका इन्जिनियर पेम्बा छिरिङसँग बिहे गरेकी छन् । माहिली ज्ञानीले दाङका पाइलट भरतसिंह थापामगरसँग बिहे गरेकी छन् । साहिली डा.जानकीले अमेरिकी नागरिक सिद्धार्थ मोन्टगोमेरीसँग बिहे गरेकी छन् । उनी अष्ट्रेलिया छिन् । काहिँली नोदनाले इन्जिनियर राकेशप्रसाद न्यौपानेसँग बिहे गरेकी छन् । उनी अमेरिका छिन् । ठाइँली डा.दिलास्मा मनिपाल अस्पताल पोखरामा कार्यरत छिन् । अन्तरी छोरी सुष्माले लक्ष्मण विष्टसँग बिहे गरेकी छन् । उनी अमेरिका बस्छिन् । कान्छी मीनाको बिहे रोल्पाका शेरबहादुर ठेडीघर्तीमगरसँग भएको छ । उनी पनि अमेरिका बस्छिन् ।
बालारामका किताब
बालारामका करिब आधा दर्जन किताब प्रकाशित छन् ।
राजयोग साधनासूत्र, ऐतिहासिक घटनाक्रम भाग १, हिजो, आज र भोलि, मानवअधिकार एक चिन्तन उनका प्रकाशित कृति हुन् ।
मूल त योगी नरहरिनाथ योगीको किताबसँग छापिएको छ । मूलमा हिन्दु धर्मसँग मगरलाई जोडेर व्याख्या गरेका छन् । उनले राजासँग जोडेर मगर व्याख्या गर्थे । ऐतिहासिक घटनाक्रम भाग १ उनको संस्मरण किताब हो । उनले भाग दुई लेख्न खोज्दै थिए ।
सुनसान बालाराम निवास
शक्ति राजनीतिबाट टाढिएका बालाराम निवास प्रायः सुनसान हुन्थ्यो । पत्नी बेलमती करेसाबारीमा सहयोगीसँग हुन्थिन् । उनी रेडियो सुनेर र पत्रपत्रिका पढेर समय बिताइरहेका हुन्थे ।
‘तपाईं मन्त्री हुँदाजसरी त नभनम्, सक्रिय राजनीतिमा हुँदा जति पनि किन मानिस तपाईंलाई भेट्न नआएका हँ ?’
बड्डाले भन्थे, ‘म सत्तामा छैन नि ।’
नेपाली समाज त शक्तिको पुजारी हो ।
बेलाबेलामा सुनाउँथे, मन्त्री खुस्केको केही दिनसम्म झिँगा पनि नघुम्ने तर मन्त्री भएपछि मानिसका भीड भएका रमाइला किस्सा ।
शक्ति र सत्ताबाट टाढिएका बालाराम निवास केही वर्षयता सुनसान जस्तै थियो । सत्तामा हुँदा उनका वरपर झुम्मिने जमात बालारामबाट बेखबर भइसकेको थियो ।
गुडबाई बालाराम
लामो समय विवादविना नै सत्ता र राजनीतिमा रहेका बालारामलाई रोल्पाली र नेपाली राजनीतिबारे परख राख्नेले सबैले भोलिसम्म पनि सम्झने छन् । पञ्चायतमा एउटा इमान्दार र लगनशील पञ्च अनि बहुदलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको इमान्दार नेताको रुपमा मानिसले सम्झने छन् ।
शनिबार बालाराम निवासमा बालारामको फोटोमा खादा चढाएपछि बमकुमारी बुढामगर भन्दै थिइन्, ‘आफ्नो छविलाई बचाएर काम गर्नुभयो । पदीय जिम्मेवारीमा रहँदा पनि व्यक्तिगत छवि बचाएर काम गर्नुभयो । त्यसबेलाको स्रोतसाधनको प्रयोग गर्दै झोलुंगे पुल बनाएर विकास देखाउनुभयो । आफूले सकेको काम विकासमा प्रयोग गर्नुभयो । त्यसबेला त झन् कर्मचारीले चलाउने शासन हो, कर्मचारीसँगको अन्तरद्वन्द्वमा पर्नुभएन भन्ने मलाई लाग्छ ।’
आफ्ना बाजेसँग बालाराम प्रभावित थिए । बाजेको प्रसंग झिकिरहन्थे । सञ्जोग ! बाजे सन्तके २०२८ मा ८७ वर्षकै उमेरमा ‘माथि’ लागेका थिए, नाति बालाराम २८ को ठीक उल्टो ०८२ मा ८७ वर्षकै उमेरमा माथि लागे ।
शुक्रबार बिहान घरमा अप्ठेरो महसुस गरेपछि बालारामलाई बी एण्ड बी अस्पताल ग्वार्को लगिएको थियो । अस्पताल पुग्नेबित्तिकै उनलाई मृत घोषित गरिएको थियो । परिवारले जनाएअनुसार अमेरिका, क्यानडा र अष्ट्रेलियाबाट चार छोरीहरु आइपुगेपछि मंगलबारमात्र बालारामको अन्त्येष्टि गरिने छ ।
राजनीति र उमेर दुवै भरपुर भोगेका बालारामले ‘ऐतिहासिक घटनाक्रम भाग दुई’ भने नलेखेरै बाटो लागे । नेपाली राजनीतिबारे अनुसन्धान र चाख राख्नेले सत्ता सिंहासनमा लामो समय रहँदा पनि दाग नलाग्ने बुटी बालारामको जीवनबाट खोजिरहने छन् । राजनीतिज्ञहरुले इमान र जमानले पनि राजनीति चल्छ है भन्ने सूत्र बुझ्न बालाराम सम्झने छन् । गुडबाई, बालाराम ।
प्रतिक्रिया 4