+
+
Shares
मन्त्री राजकुमार गुप्तासँगको संवाद :

 ‘अहिले २५ राख्नुस्, काम बनेपछि माझीकुनामा माछा खाऔंला’

कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा अनि कास्कीकै भूमि आयोगको अध्यक्षमा एक व्यक्ति नियुक्तीको प्रसंगमा मन्त्री गुप्ताले घुस लिएको आरोप लागेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते २२:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा र भूमि आयोगको अध्यक्ष नियुक्तीमा घुस लिएको आरोप लागेको छ।
  • अडियोमा मन्त्री गुप्ताले भूमिसुधारमन्त्री बलराम अधिकारीलाई सिफारिस गर्ने र २०-२० लाख रुपैयाँ प्रस्ताव गरेको कुरा खुलेको छ।

३० असार, काठमाडौं । सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता कुनै व्यक्तिसँग घुस लेनदेनको अडियो सार्वजनिक भएपछि विवादमा परेका छन् ।

कास्कीस्थित मालपोत कार्यालय प्रमुखको सरुवा अनि कास्कीकै भूमि आयोगको अध्यक्षमा एक व्यक्ति नियुक्तीको प्रसंगमा मन्त्री गुप्ताले घुस लिएको आरोप लागेको हो ।

संवादको विषयवस्तु सुन्दा उनले मन्त्रीक्वाटरमै अडियो रेकर्ड गर्ने व्यक्ति र अर्को महिलासँग कुराकानी गरेको खुल्छ ।

स्रोतबाट अनलाइनखबरलाई प्राप्त अडियोमा भूमिसुधारमन्त्री बलराम अधिकारीलाई सिफारिस गर्ने प्रसंग समेत छ । कुराकानीमा स्वस्थानी पूर्णिमाको प्रसंग समेत भएकाले अडियो २०८१ पुस/माघतिर रेकर्ड भएको अनुमान गर्न सकिन्छ ।

‘२० मै बुझाइदिउँला’

मन्त्री गुप्ता : फोन गर न उल्लाई ।

‘अँ फोन गरिरा’छु ।’ (पृष्ठभूमीमा एक महिलाको स्वर सुनिन्छ ।

एक व्यक्तिले ‘सर, त्यतातिर राखौं कुर्सी’ भनेको सुनिन्छ । ती व्यक्तिले ‘मन्त्रीज्यू, मैले फोन लगाइदिन्छु । र, तपाई राख्नु ।’

मन्त्री गुप्ता : राख्ने होइन, उल्लाई विहानै दिएर पठाउने ।

मन्त्री गुप्ता : राख्ने होइन, उल्लाई भोलि बिहानै दिएर पठाउने ।

(त्यसपछि फोन लगाएको र फोन गएको टोन सुनिन्छ । त्यसपछि फोन काटिन्छ । अनि कुर्सी लतारेको आवाज सुनिन्छ ।)

मन्त्री गुप्ता : ह्विस्की खाने ?

अडियो रेकर्ड गर्ने व्यक्ति : नखाने के मन्त्रीज्यू, मैले कहिल्यै खाँदिन के ।

मन्त्री गुप्ता : कहिल्यै खानुहुन्न ?

(मन्त्रीको कुरा नसकिँदै उनलाई भेट्न गएका व्यक्तिले आफ्नो कुरा राख्छन् ।)

अडियो रेकर्ड गर्ने व्यक्ति : सुन्नु न मन्त्रीज्यू, त्यो बलरामलाई भनौं न । बरु, त्यो २० म बुझाइदिउँला के खेमका लागि । भोलि फर्स्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।

(अडियो रेकर्ड गर्ने व्यक्तिले नाम लिएका बलराम भूमिसुधार तथा सहकारीमन्त्री बलराम अधिकारी हुन् । उनले मन्त्री गुप्तामार्फत अर्का मन्त्री बलरामलाई काम गराइदिन आग्रह गर्छन् । उनले खेम भनेर संकेत गरेका व्यक्ति पोखराका खेमबहादुर पुन हुन् । उनलाई भूमि आयोगको सदस्य बनाइदिन आग्रह गर्दै अडियो रेकर्ड गर्ने व्यक्तिले मन्त्रीलाई २०-२० लाख) रुपैयाँ प्रस्ताव गरेका हुन् ।)

उसलाई बा’को पनि त प्रेसर होला…’

मन्त्री गुप्ता : बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।

अडियो रेकर्ड गर्ने व्यक्ति : त्यो होइन क्या, आयोगको कुरा गरिरा’को छु के, तपाईसँग ।

मन्त्री गुप्ता : आयोग भन्नाले ?

अडियो रेकर्ड गर्ने व्यक्ति : खेम पुनका लागि के । २० म बुझाइदिन्छु के । भन्दिनु त बलरामलाई । भन्दिनु त मन्त्रीज्यू ।

(फोन बजेको आवाज सुनिन्छ ।)

मन्त्री गुप्ता : हेल्लो । अँ । अँ । फोनमा बात कि भाषण कर’रहा ?

(मन्त्रीले फोनमा अर्कै व्यक्तिसँग कुरा गरिरहेका बेला त्यो ठाँउमा अर्को महिलाको प्रवेश हुन्छ । उनले अडियो रेकर्ड गरिरहेका व्यक्तिसँग खासखुस कुरा गर्न थाल्छिन् ।)

महिला : मलाई टेन्सन छ ।

अडियो रेकर्ड गर्ने व्यक्ति : तपाईं टेन्सन नलिनु त । भोलि समस्या हल भइहाल्छ ।

महिला : छोराको तिथिको बर्थ–डे छ, उसलाई मन्दिर लानु छ । तिथिमा भा’को होइन त, त्यो स्वस्थानी पूर्णिमाको ? त्यसपछि पशुपति जानु छ, त्यहाँबाट ममीकोमा सगुन लिन जानु छ । भोलि २९ गते अन्तिम दिन ।

अडियो रेकर्ड गर्ने व्यक्ति : भोलि दिनको हुन्छ, शपथग्रहण अनि तपाईं चुप लागेर बस्नुस् त  !

महिला : तपाईंकै अघि भनिरहेको छु त  !

महिला : मन्त्रीज्यूले एकपटक भन्दिनुपर्‍यो के बलरामलाई, भनिस्यो ‘न !

अडियो रेकर्ड गर्ने व्यक्ति : मेरो एउटा मान्छे पनि नबनाइदिने ?

मन्त्री गुप्ता : त्यो मान्दैन ।

अडियो रेकर्ड गर्ने व्यक्ति : त्यो मान्दैन रे । (उनी बेसरी हास्छन् ।) तपाईंसँग सयवटा काम पर्छ त्यस  (मन्त्री बलराम अधिकारी)को भनेको, तपाईंको एउटा काम नगर्दिएर हुन्छ । त्यसमाथि सबैले प्रेसर दिएको छ उसलाई । बाले समेत भने होलान् उस्तै परे भनेदेखि…. ।

(उनले बा’ भनेर कसलाई संकेत गरेका हुन्, स्पष्ट खुलेको छैन ।)

अहिले १५ छाड्छु, बाँकी १० भोलि बिहान

 मन्त्री गुप्ता : यो त पोलिटिकल नियुक्ति हुँदै दिएको । जिल्लाबाट आउनुपर्छ, प्रदेशबाट आउनुपर्छ ।

अडियो रेकर्ड गर्ने व्यक्ति : दाइ उसको त एकल सिफारिस भ छ के, मन्त्रीज्यू । निर्णय भा’छ प्रदेशबाट यसरी  । यता हेर्नु  ।

(संवाद गर्दै उनले केही कागजात देखाएका छन् ।)

प्रदेशले निर्णय गरेर पठाएछ नि यसरी । खेमबहादुर पुन भनेर यसरी एकल सिफारिस आएको छ  ।

मन्त्री गुप्ता : कहाँबाट, जिल्लाबाट ?

अडियो रेकर्ड गर्ने व्यक्ति : जिल्लाले प्रदेशलाई भने, प्रदेशले मन्त्रालयलाई पठाउने ।

मन्त्री : समस्या के छ त ?

अडियो रेकर्ड गर्ने व्यक्ति : अरू–अरू मान्छे खेलिरा’छ नि त त्यहाँ । यहाँ ….. छुटिरा’छ नि त ।

(बोलेको केही शब्द बुझिँदैन )

महिला : मन्त्रीज्यूले भनेपछि मानिहाल्छ नि ।

मन्त्री गुप्ता : अब अहिले मन्त्रालयमा छ । यहाँ हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।

महिला : कसले भनेको मान्छ के उसले, मन्त्रीहरूले भनेको नमाने ।  

मन्त्री : कहाँ छ कृषिमन्त्री ? भूमिसुधारमन्त्री … ।

(अडियो रेकर्ड गर्ने व्यक्ति बेसरी हाँसेकाले बोलेको बुझिदैन ।

मन्त्री : उसलाई फोन गर्नुस्, भूमि आयोगको अध्यक्षका लागि, कास्की होइन ?

अडियो रेकर्ड गर्ने व्यक्ति : कास्की, खेमबहादुर पुन ।

मन्त्री गुप्ता : कास्कीको जिल्ला कमिटीले सिफारिस गरेको छ ।

अडियो रेकर्ड गर्ने व्यक्ति : प्रदेशले निर्णय गरेर पठाइदिएको छ ।

मन्त्री गुप्ता : प्रदेशले पनि गरेको छ भनेपछि त्यो पक्का हो । त्यही पनि शंका छ गडबड हुन्छ । कति छ, भोलिकै काम ।

अडियो रेकर्ड गर्ने व्यक्ति : १ बजे शपथग्रहण छ ।

मन्त्री गुप्ता : (फोनमा कुरा गर्न थाल्छन्) अहिले निस्किनु न बाबा, गाडी आइरा’छ मन्त्रालयबाट । भेट हुन्छ, आउनु न म बोत्तल दिन्छु लिएर जानु, खुवाइदिनु, उहाँको ओके गराइदिनु । माल कति लिन्छ अहिले लिइदिने । त्यो नियमले मिल्ने रहेछ, जिल्ला कमिटीले सिफारिस गर्‍या छ, प्रदेशले सिफारिस… ।

अडियो रेकर्ड गर्ने व्यक्ति : जिल्लाले पाँचजनाको गर्‍या छ क्या, प्रदेशले चाहिँ त्यहाँमध्ये छानेर एउटा मात्र पठाइदिएको छ ।

महिला : डिलकै गरौँ ? (उनले अडियो रेकर्ड गर्ने व्यक्तिसँग कुरा गरेकी हुन् ।)

अडियो रेकर्ड गर्ने व्यक्ति :  भन्नु न, डिल गरौँ भन्नु त ।

अडियो रेकर्ड गर्ने व्यक्ति : मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस् । मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतको  । (केही बेर रोकिएर) यसो हो … अदालतको भनेको… पर्सि उहाँले सामान्यबाटै गर्दिनुहुन्छ ।

महिला : मन्त्रीज्यूका हातमा दिउँ ?

अडियो रेकर्ड गर्ने व्यक्ति : मन्त्रीज्यूले एस र नो भन्दा आउँछ रे, उहाँहरूलाई केही आउँदैन ।

‘पोखराको जग्गाले हेरिरहेको छ’

अडियो रेकर्ड गर्ने व्यक्ति : पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू । अनि हामी यहाँ यसरी हेरेर बसेर हुन्छ ?

मन्त्री गुप्ता : अनि १५ महिनामा के हेरिरा’छ त ?

अडियो रेकर्ड गर्ने व्यक्ति : गरेछ त अलिअलि काम त । त्यत्तिकै पछुतो लागेन होला नि त मन्त्रीज्यू, लिएर आउनुस् त त्यो ।  

मन्त्री : १५ महिना के गरिरा यिनीहरूले ?

अडियो रेकर्ड गर्ने व्यक्ति१५ गरौँ, १५ गरिदिन्छ रे । (फेरि उनी निस्फिक्री हाँस्छन् ।)

(पोखराको १३५ रोपनी जग्गा छुट दर्ताका क्रममा व्यक्तिको नाममा दर्ता गर्न प्रयास भइरहेको छ । त्यसक्रममा जिल्ला मालपोत कार्यालय कास्कीमा आफूले भनेको मानिसलाई यथावत राख्ने अडियो रेकर्ड गर्ने व्यक्तिले आग्रह गरिरहेको हुन्छन् । १५ महिनासम्म पनि कुनै काम नभएको भनेर मन्त्रीले आफूलाई भेट्न आउने मानिसलाई प्रश्न उठाएका हुन् । मन्त्रीले केही खानेकुराको प्रस्ताव गर्दा ती व्यक्तिले काम बनेपछि पोखरा माझीकुनामा माछा खाने प्रस्ताव राख्छन् )

‘अब माझीकुनामा माछा खाने’

अडियो रेकर्ड गर्ने व्यक्ति (महिलासँग) : नकराउनु न तपाईं, …..भोलि गर्दिन्छ क्या … मलाई पोखरा २५ मै … ।

(उनीहरु अस्पष्ट रुपमा खासखुस गर्छन ।)

अडियो रेकर्ड गर्ने व्यक्ति : म्याडमले मलाई के भन्या छ थाहा छ ? घरै नआइज तँ अरे ।

मन्त्री गुप्ता : के खानुहुन्छ त ?

अडियो रेकर्ड गर्ने व्यक्ति : केही नखाने हो मन्त्रीज्यू, तपाईंको त्यत्रो चिया खाएको देख्नुभएन ?

मन्त्री गुप्ता : माछा खानुहुन्छ ?

अडियो रेकर्ड गर्ने व्यक्ति : माछा–मछली केही नखाने, अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।

(त्यसपछि अडियो रेकर्ड गर्ने व्यक्ति त्यहाँबाट निस्किएजस्तो सुनिन्छ । केहीबेरमा संक्षिप्त कुराकानी गरेपछि ९ मिनेट १३ सेकेण्ड लामो अडियो टुंगिन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?