
३० असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसद्मा संवादको शुद्धता र वास्तविकता विवादास्पद रहीआएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘चोर हौं भन्न खोजिन्छ, चोर हैनौं भन्न उठिहाल्ने चलन बसेको छ,’ उनले भने ।
झुट बारम्बार दोहोर्यायो भने सत्य जस्तो देखिने विश्वासमा यस्तो प्रयास हुने गरेको उनको आरोप छ ।
रास्वपाले कांग्रेस लक्षित भएर यस्तै प्रयास गर्दै आएको उनको आरोप छ ।
‘तपाईंहरूले हद आक्रमण प्रयास गर्नुभएको छ । मूलतः कांग्रेसमाथि । यसकारण पनि तपाईंहरू प्रतिगामी गैरप्रजातान्त्रिक हो,’ बजगाईंले भने, ‘घरमा चालक (शम्भु) दिलबहादुर थापाको रहस्यमय मृत्यु भयो । शालिकराम पुडासैनीले दुरुत्साहनमा मर्नुपर्यो । यी घटनाहरू निरुपण भयो भन्न सकिंदैन । प्राकृतिक विपत्तिका बेला राष्ट्र एकजुट हुनुपर्नेमा, सम्मानित अदालतको आदेश अवज्ञा गर्दै हस्ताक्षर कार्यक्रम सञ्चालन गर्दैछन् ।’
आफूहरूले पहाडबाट घाइते उद्धार गरिरहेको, ज्यान जोगाइरहेका र गरिबलाई रोजगारी दिइरहेका उल्लेख गर्दै उनले भने, ‘हामी भ्रष्टाचारविरुद्ध आफ्नै पार्टीभित्रै आवाज उठाउँछौं । के तपाईंले पनि आफ्ना घोटालेबाजलाई कहिले प्रश्न गर्नुभयो ?’
रास्वपामा प्रश्न गर्नेहरू दण्डित हुने गरेको उनले बताए ।
‘जो बोल्छ, उसैको हालत ढकाराम र मुकुलजस्तो हुन्छ । अनि तपाईं हामीलाई लोकतन्त्र र कानुनी शासन सिकाउनुहुन्छ ?’ बजगाईंको प्रश्न छ ।
सांसद बजगाईं रोकिएनन् । ‘रास्वपा प्रचारबाजीले भरिएको पार्टी हो,’ उनले अगाडि भने, ‘लोकतान्त्रिक नेताहरूको ऐतिहासिक योगदानमाथि धब्बा लगाउने प्रयास नगर । पहिले आफ्ना दागहरू सफा गर्नुहोस् ।’
प्रतिक्रिया 4