
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका प्रख्यात कार्टुनिस्ट अबु अब्राहमले सन् १९७५ को आसपास इन्दिरा गान्धी सरकारको सञ्चार माध्यममाथि कडाइलाई व्यंग्यात्मक कार्टुनमार्फत प्रहार गरे।
- उनले आफ्नो कार्टुनमा हाँसो र कडा व्यंग्य मिसाएर सत्य उजागर गर्ने शैली अपनाए । आज पनि उनका कार्टुनहरू सान्दर्भिक छन्।
एउटा सम्पादकको डेस्कमा ‘द डेली पल्प’ नामक पत्रिका छरपस्ट छ । दिक्क लाग्दो भावमा कसैसँग उनी फोनमा कुराकानी गरिरहेका छन् । ‘एक्कासी सेन्सरसिप हटाउनु अन्यायपूर्ण छ । हामीलाई मानसिक रूपमा तयार हुन त समय दिनुपर्छ’ फोनमा कसैसँग उनी भनिरहेका छन् ।
यो एउटा मार्मिक र व्यङ्ग्यात्मक कार्टुनको व्याख्या हो । जसलाई भारतका प्रख्यात कार्टुनिस्ट अबु अब्राहमले बनाएका थिए । उनलाई भारतको उत्कृष्ट मध्येका एक कार्टुनिस्ट मानिन्छ ।
उनले सत्ता र सत्ताको दम्भलाई अत्यन्त सुन्दर तर मार्मिक तरिकारे व्यंग्यमा प्रहार गर्थे । विशेषत: सन् १९७५ को आसपासमा उनले राज्यलाई प्रश्न गर्ने गरी थुप्रै कार्टुन बनाए । त्यो समयतिर इन्दिरा गान्धीको सरकारले सञ्चार माध्यममाथि निकै कडाइ गरेको थियो । तर निडर, अडिग भएर उनले सरकारको त्यस कदमलाई प्रहार गरिरहे ।
आज रिपोर्टर्स विदाउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकांकमा भारत १५१औं स्थानमा छ । यसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले मिडिया स्वतन्त्रतालाई खुम्च्याइरहेको देखाउँछ । जसबारे मिडिया नै विभाजन भएको देखिन्छ । तर उतिबेला नै अबुले सरकारको विरोधमा सशक्त कार्टुनहरू बनाएका थिए ।
यसकारण पनि अबुका ती कार्टुनहरू आज आधा शताब्दी पछि पनि उत्तिकै सान्दर्भिक लाग्छन् ।
000
सन् १९२४ मा केरलामा अट्टुपुराथु म्याथ्यु अब्राहमको रूपमा अबु जन्मिएका थिए । पत्रकारितामा उनको करियर ‘बम्बे क्रोनिकल’मा रिपोर्टरको रूपबाट सुरु भएको थियो । यस क्षेत्रमा लाग्न शब्दको शक्तिले उनलाई आकर्षित गरेको थियो ।
मिडियाबारेमा उनी भन्छन्, ‘प्रेसले धर्मयुद्ध गर्ने ढोंग गर्छ तर यो सत्यको संरक्षक हो ।’ यस्तो सोच्ने उनले त्यस मिडिया पछि ‘शंकर विकली’ नामक व्यंग्य पत्रिकामा काम गरे । उनको कार्टुनको यात्रा त्यही बेलादेखि सुरु भइसकेको थियो ।
त्यहाँ दुई वर्ष बसेपछि उनी लन्डन पुगे । सन् १९५३ मा ब्रिटिश कार्टुनिस्ट फ्रेड जोससँगको एक आकस्मिक भेटले उनलाई लन्डन पुर्याएको थियो ।
लन्डनमा उनको पहिलो कार्टुन ‘पन्च’ले नै प्रभाव छाडेको थियो । सुरुका दुई वर्षसम्म उनले त्यहाँ स्वतन्त्र रूपमा काम गरे ।
पछिल्ला वर्षहरूमा उनले राजनीतिक कार्टुनहरू बनाउने गर्थे । त्यही देखेर ‘द अब्जर्भर’का सम्पादक डेभिड एस्टोरले उनलाई अखबारमा कर्मचारीको पद प्रस्ताव गरे ।
अनि उनैले अब्राहमलाई ‘अबु’ बन्न सुझाएका थिए । त्यसको कारण अब्राहमलाई यहुदी मानिने र त्यसले कार्टुनहरूमा प्रभाव पार्ने एस्टोरको तर्क थियो । तर, अबु वास्तवमा यहुदी थिएनन् ।
‘द अब्जर्भर’मा उनले १० वर्ष काम गरे । र, बेलायतमा बाँकी समय ‘द गार्डियन’मा काम गरेर बसे । त्यसपछि त उनी भारत फर्किहाले ।
कार्टुन बनाउनुबाहेक अबुले सन् १९७२ देखि १९७८ सम्म भारतीय संसदको माथिल्लो सदन राज्यसभा सदस्यका रूपमा काम गरे । सन् १९८१ मा उनले ‘सल्ट एन्ड पेपर’ नामक कमिक स्ट्रिप सुरु गरे । जुन, करिब दुई दशकसम्म चलेको थियो ।
त्यसमा उनले दैनिक घटनाहरूलाई व्यंग्यमा ढाल्थे । त्यसपछि उनी सन् १९८८ मा केरलामा नै फर्के । र सन् २००२ मा आफ्नो मृत्यु नभएसम्म चित्र कोर्ने र लेख्ने काम जारी राखे ।
000
अबुका कार्टुनहरूमाा रेखाचित्र हुन्थे । धेरै कार्टुन एक रङ्गी हुन्थे । तर उनकोमा ‘सन्देश’ शक्तिशाली हुन्थ्यो । र कार्टुनका विषयवस्तु आफैंमा सशक्त हुन्थे ।
कसैलाई खसाल्न, सत्य कुरा बोल्न, विरोध गर्न उनी डर मान्दैनथे । यसले नै उनको ‘पन्च’ लाइन बलियो हुन्थ्यो ।
तर ‘पन्च’ लाइनबाहेक उनमा हाँस्य रसको गहिरो प्रभाव थियो । यसले नै उनलाई कार्टुनमा हाँसोसहित सत्य उजागर गर्न सहयोग गरेको थियो ।
उनको कामको एउटा उदाहरण हेरौं:
सन् १९६० को दशकको अन्ततिर भारत फर्किएका उनी ‘इन्डियन एक्सप्रेस’मा पोल्टिकल कार्टुनिस्टको रूपमा जोडिए । त्यो समयमा भारतमा राजनीतिक उथलपुथल भइरहेको थियो । त्यस्तैमा सन् १९७५ जुन २५ का दिन तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गरिन् ।
त्यसपछि पत्रपत्रिकाले आफ्नो समाचार रिपोर्ट, सम्पादकीय र विज्ञापन जस्ता मिडिया सामग्री प्रकाशन गर्नुअघि सरकारलाई सेन्सरका लागि देखाउनुपर्ने भयो । उनले त्यही रिसमा तत्कालीन राष्ट्रपति फखरुद्दीन अली अहमदले आफ्नो बाथटबबाट त्यस घोषणामा हस्ताक्षर गरिरहेको व्यङ्ग्य चित्र बनाइदिए ।
जसले उक्त निर्णय कति र लापरबाहीका साथ गरिएको थियो भन्ने कुरालाई चित्रण गर्छ । राष्ट्रपति अहमदले २५ जुनको मध्यरातमा इन्दिरा गान्धीले जारी गरेको आपतकाल घोषणामा हस्ताक्षर गरेका थिए ।
त्यस्तै प्रकृतिका त्यही समयमा अबुले बनाएका धेरै कार्टुनहरू बढी चर्चामा रहे । जसमा हाँसो सँगैसँगै कडा व्यंग्य हुने गर्थ्यो । उनले एकपटक भनेका थिए, ‘यदि मानिसहरू पहिलेजस्तो हाँस्दैनन् जस्तो लाग्छ भने सायद डर भएर होइन । वास्तविकता र कल्पना, दु:ख र रमाइलो सबै मिसिएर हो ।’
यही असङ्गतता र सत्यको मिश्रणले प्रायः उनको काम धारिलो हुन्थ्यो । हाँसो लाग्थ्यो तर त्यसमा प्रतिकार हुन्थ्यो । आज हरेक देशलाई उनी जस्तो निडर कार्टुनिस्टको खाँचो छ ।
प्रतिक्रिया 4