+
+
Shares

काठमाडौं महानगरका उत्साही इन्टर्न

यो कार्यक्रम विशेषगरी इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरूमा लक्षित छ, जसमा पुल्चोक, थापाथली, नेपाल इन्जिनियरिङ कलेजलगायत विभिन्न कलेजका विद्यार्थी सहभागी हुन्छन् ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असार ३२ गते २२:५२
माथि बायाँबाट क्रमशः कृतिमा विष्ट, स्नेहा मानन्धर, अञ्जलीकुमारी रे र सुम्निमा भुर्तेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले वार्षिक ५ लाख रुपैयाँ बजेट छुट्याएर इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरूलाई ३ देखि ६ महिनासम्म इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ।
  • महानगरको सामाजिक विकास विभाग, शहरी योजना आयोग र अन्य विभागहरूले विभिन्न विषयका विद्यार्थीहरूलाई इन्टर्नसिपमा राखेर व्यावहारिक ज्ञान र अनुभव प्रदान गरिरहेका छन्।

३२ असार, काठमाडौं । लगनखेलको चहलपहलमा भिजेकी स्नेहा मानन्धर । जीवनले नयाँ अध्यायमा पाइला चाल्दै थियो । नेपाल इन्जिनियरिङ कलेज, २०२१ ब्याचकी उनलाई स्नातक तहको उत्तरार्धमा व्यावहारिक ज्ञान सिक्न आवश्यक थियो ।

कलेजको पढाइ सक्नेबेला अनिवार्य ‘इन्टर्नसिप’ गर्नुको विकल्प थिएन । कति साथीले निजी कम्पनी रोजे, कतिले अन्यत्र । उनी भने बालेन शाह नेतृत्वको काठमाडौं महानगरमा ठोक्किन पुगिन् ।

तीन महिनादेखि महानगरको शहरी व्यवस्थापन विभागमा इन्टर्न गरिरहेकी छिन् । सोमबार हामी पुग्दा उनी काममा व्यस्त थिइन् । उत्साह, सिकाइ र नयाँ अनुभवले भरिएकी थिइन् ।

यसरी इन्टर्नसिप गर्न उनलाई कलेज र काठमाडौं महानगरले सहयोग गर्‍यो । महानगरले आह्वान गर्‍यो, कलेजले सिफारिस । र, त अहिले सरकारी कार्यालयमै दिनको ५०० मा ‘पेड इन्टर्नसिप’ पाइन् ।

‘हाम्रो कलेजबाट म्यामहरूले नै अप्लाई गरिदिनुभएको थियो । सुरुमा आउँदा त गाह्रो होला जस्तो लाग्थ्यो, तर त्यस्तो भएन,’ स्नेहाले भनिन्, ‘एकदमै सहज भयो । सिनियर पनि सिकाउने, गाइड गर्ने खालको हुनुहुन्छ ।’

३ महिनामा स्नेहाले धेरै सिकिन् । थ्रीडी भिजुअलाइजेसनदेखि प्रोजेक्ट डिजाइनसम्मको अनुभव बटुलिन् । फरकफरक कलेजका साथीसँग काम गर्न पाउँदा अरूको पढाइ र अनुभवबाट पनि धेरै कुरा सिक्ने मौका पाइन् ।

पाठ्यक्रमको क्रेडिटको हिस्सा पनि भएकाले अझ गम्भीर भएर लागिपर्नु स्नेहाको आवश्यकता थियो ।  सुरुमा, उनलाई ‘फिनिसिङ’ कार्यहरूको जिम्मेवारी दिइयो । ‘हामीलाई थ्रीडी बोरलहरू बनाउने र प्रोजेक्टको फिनिसिङसम्बन्धी काम दिइएको थियो,’ उनले अनुभव सुनाइन् ।

विस्तारै, स्नेहाको टिमले नक्सा बनाउने, डिजाइन गर्ने जस्ता जिम्मेवारी पाउन थाल्यो । सुपरभाइजर र महानगरका अनुभवी ‘असिस्टेन्ट एक्सपर्ट’ले यसमा सहजीकरण गरे । आर्किटेक्ट र सिभिल इन्जिनियर सम्बन्धित कामहरू व्यवहारमा कसरी हुन्छ भनेर देखाए ।

यो ३ महिनामा स्नेहाले धेरै कुरा सिकिन् । उनले थ्रीडी भिजुअलाइजेसनको कामदेखि प्रोजेक्ट डिजाइनसम्मको अनुभव बटुलिन् । यसबाहेक महानगरमा इन्टर्न गर्न आउने धेरै साथी भेटिन् । फरकफरक कलेजका साथीसँग काम गर्न पाउँदा अरूको पढाइ र अनुभवबाट पनि धेरै कुरा सिक्ने मौका पाइन् ।

काठमाडौं महानगरको यो कार्यक्रमअनुसार स्नेहाको लागि अझै ३ महिना समय छ ।

०००

आर्किटेक्चरमा स्नातक गरेकी फर्पिङकी सुम्निमा भुर्तेल काठमाडौँ महानगरपालिकाको सिटी सेन्टरअन्तर्गत करिअर क्याम्पमा कार्यरत छिन् । ७ महिनादेखि चलिरहेको यो यात्रामा उनले सिकाइ, अनुभव र परम्परागत नेपाली आर्किटेक्चरप्रति नयाँ दृष्टिकोण बुझ्न पाएकी छिन् ।

सुम्निमाको कथा केवल कामको अनुभवमा सीमित छैन । परम्परागत डिजाइनप्रतिको लगाव र सिकाइका कारण उनी काठमाडौं महानगरमा कार्यरत थिइन् ।

‘कलेजको चौथो वर्षमा हामीले इन्टर्नसिप गरेका थियौँ, जसले हामीलाई कामको आधारभूत ज्ञान दिएको थियो,’ उनले सम्झिइन् ‘इन्टर्नसिपमा रेसिडेन्सियल प्रोजेक्टहरूमा काम गरेँ । तर अहिले करिअर क्याम्पमा आएपछि कामको दायरा परम्परागत नेपाली शैलीतर्फ मोडियो ।’

काठमाडौं महानगरमा आउँदा सुरुमा परम्परागत डिजाइन र टर्मिनोलोजीहरू बुझ्न गाह्रो भयो । तर अग्रजको मार्गदर्शनले विस्तारै यसमा अभ्यस्त बनाउँदै लग्यो ।

करिअर क्याम्पको ९ महिने अवधि भदौको अन्त्यसम्म चल्नेछ । यो समयमा सुम्निमाले नेपाली परम्परागत आर्किटेक्चरको गहिराइ बुझ्ने अवसर पाइन्, जसले उनको पोर्टफोलियोलाई पनि बलियो बनाएको छ ।

आगामी योजनाबारे कुरा गर्दै सुम्निमा भन्छिन्, ‘यो अवधिपछि म सायद यहाँ (काठमाडौं महानगर) को श्रम बैंकमा अप्लाई गर्छु । पछि बाहिर गएर पढ्ने योजना पनि छ ।’

०००

आर्किटेक्चर इन्जिनियरिङकी विद्यार्थी अञ्जलीकुमारी राय आफ्नो इन्टर्नसिपको यात्राको नयाँ अनुभव बटुल्दै छिन् । काठमाडौं महानगरको ९० दिने इन्टर्नसिपमा पाठ्यक्रमको क्रेडिट नै जोडिएको छ । यो उनको करिअरकै पहिलो खुड्किलो हो, जसले कक्षाकोठामा पढेका कुरालाई व्यवहारमा बुझाइरहेको छ । काम गर्न सिकाइरहेको छ ।

यो अवधिमा उनले बागमती करिडोरको ल्यान्डस्केपिङदेखि परम्परागत संरचनाको थ्रीडी भिजुअलाइजेसनसम्मका काममा हात हालेकी छिन् ।

महानगरमा आएको पहिलो दिनको अनुभव सम्झिँदै अञ्जली भन्छिन्, ‘सुरुमा आधारभूत कुराहरू सिकाउनुभयो । पुराना ड्रइङ्सहरूको अध्ययन र भविष्यमा गर्नुपर्ने कामबारे बुझाइयो । दोस्रो दिनदेखि सानासाना जिम्मेवारी पाएँ, जसले वास्तविक कामबारे बुझ्न सहयोग गर्‍यो ।’

अञ्जलीको टिममा विभिन्न समयमा जोडिएका साथीहरू छन् । अगाडि जोडिएकाबाट उनले धेरै सिक्ने मौका पाइन् भने पछि जोडिएकालाई सहजीकरण गर्ने, घुलमिल गर्ने । यसबाहेक महानगरले खटाएका सुपरभाइजरहरू एकदम सपोर्टिभ रहेको उनले सुनाइन् ।

उनले आफूलाई तीनकुनेदेखि शंखमुलसम्मको क्षेत्र ल्यान्डस्केपिङमा केन्द्रित गरेकी छिन् । ‘हामीले बाउन्ड्री वाल, हरियाली संरक्षण र मानिसका लागि सुन्दर वातावरण बनाउने डिजाइन गरिरहेका छौँ,’ उनले भनिन्, ‘यो प्रोजेक्टले बागमतीको किनारलाई बस्नलायक र हरियालीयुक्त बनाउने लक्ष्य राख्छ । त्यस्तै, जय बागेश्वरी मन्दिर र हाँडीगाउँको संरक्षणसम्बन्धी थ्रीडी भिजुअलाइजेसनको काम पनि गर्‍यौं ।’

यसरी महानगरमा गरेको ९० दिने इन्टर्नसिपमा छुट्टीका दिनहरू गणना हुँदैनन् । यहाँको अवधि पुगेपछि उनीहरूले कलेजलाई रिपोर्ट बनाएर बुझाउनुपर्छ । यसको आधारमा नम्बर पाउनेछन् ।

०००

सानो भर्याङ, स्वयम्भूकी कृतिमा विष्ट आर्किटेक्चरकी विद्यार्थी हुन् । उनी पनि आफ्नो ३ महिनाको इन्टर्नसिप यात्रामा नयाँ अनुभव र सिकाइको संसारमा डुबेकी छिन् । काठमाडौं महानगरपालिकामा हामी पुग्दा उनी साथीहरूसँग मिलेर काम गर्दै थिइन् । सिक्ने-सिकाउने क्रम चलिरहेको थियो ।

कृतिमाको समूहले सँगै मिलेर परम्परागत र आधुनिक डिजाइनको क्षेत्रमा काम गरिरहेको छ । पहिलो दिनको अनुभव सम्झिँदै उनी भन्छिन्, ‘सुरुमा कोही चिनेको थिएन, तर यहाँको माहोल एकदमै फ्रेन्डली थियो । सिनियरहरू र सुपरभाइजरहरूले पहिलो दिनदेखि नै गाइड गर्न थाल्नुभयो । कुनै कुरामा कन्फ्युजन हुँदा सोध्न सकिने र सिक्न प्रोत्साहन दिने वातावरणले सहज महसुस भयो ।’

अग्रजहरूले किताब, डिक्सनरी र साइट भिजिटमार्फत सिकाउने वातावरण बनाएका छन्, जसले उनको आत्मविश्वास बढाएको छ । उनले परम्परागत फल्चा डिजाइन, ल्यान्डस्केपिङ, सत्तल डिजाइनमा काम गरेकी छिन् । उनका अनुसार महानगरमा धेरै त परम्परागत काम नै हुन्छ । केही आधुनिक प्रोजेक्ट पनि हुन्छ ।

हाल उनी एउटा फल्चा प्रोजेक्टमा काम गरिरहेकी छिन् । साइट भिजिटमा गइरहेकी हुन्छिन् । यसमा अन्डर-कन्स्ट्रक्सन भवनहरू हेर्न जान्छन् । कुनै पनि प्रोजेक्ट सुरु हुनुअघि साइट अध्ययनको लागि महानगरले लाने गर्छ । डिजाइनअनुसार काम कसरी भइरहेको छ भनेर अवलोकन गराउँछ ।

अहिलेसम्म कृतिमाको समूह ३ पटक साइट भिजिटमा गइसकेको छ । उनले व्यक्तिगत रूपमा पनि दुई-तीनपटक भिजिट गरेकी छिन् । यो इन्टर्नसिपले कृतिमालाई नेपाली परम्परागत आर्किटेक्चरसँग जोड्ने अवसर दिएको छ । ‘परम्परागत काम गर्दा हाम्रो संस्कृतिसँग जोडिएको महसुस हुन्छ । हाम्रो लागि यो अलि नयाँ काम पनि हो,’ उनले उत्साहित हुँदै भनिन् ।

अन्य इन्टर्नलाईझैँ अग्रजहरूको मार्गदर्शन र सहज माहोलले उनलाई नयाँ कुरा सिक्न प्रेरित गर्‍यो । ‘मेरै कलेजका साथीहरू धेरै प्राइभेट फर्महरूमा गएका छन्, तर म भने यता आएँ । यसरी पब्लिक स्पेस र वडाहरूमा काम गर्दा राम्रो अनुभव भएको छ,’ उनले भनिन् ।

यसरी खोजिन्छ इन्टर्न

काठमाडौं महानगरपालिकाले हरेक वर्ष इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । मेयर बालेन शाहको सचिवालयअन्तर्गत शहरी योजना आयोगमा सहायक विज्ञको रूपमा कार्यरत इन्जिनियर प्रतीक श्रेष्ठका अनुसार काठमाडौँ महानगरपालिकाले इन्टर्नसिपका लागि वार्षिक ५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यो कार्यक्रम विशेषगरी इन्जिनियरिङ र आर्किटेक्चरका विद्यार्थीहरूमा लक्षित छ, जसमा पुल्चोक, थापाथली, नेपाल इन्जिनियरिङ कलेजलगायत विभिन्न कलेजका विद्यार्थी सहभागी हुन्छन् । इन्जिनियरिङबाहेक कानुन अनि अन्य विषय अध्ययनरत विद्यार्थीका लागि पनि सहभागी गराइन्छ ।

‘इन्टर्नसिप भनेको विद्यार्थीको अधिकार र सरकारको दायित्व दुवै हो । यही कुरा बुझेर काठमाडौं महानगरले इन्टर्न राख्छ । हामीले उनीहरूलाई मार्गनिर्देश गर्छौँ,’ प्रतीकले भने, ‘पढाइपछि सिधै काम सिकेको हुँदैन, त्यसैले हामीले सिकाउने वातावरण बनाउनुपर्छ ।’

कलेजबाट सिफारिस पत्र लिएर आएका विद्यार्थीलाई महानगरको बजेटको उपलब्धताका आधारमा स्वीकार गरिन्छ । जसले कलेजबाट लेटर ल्याउँछ, उसलाई अवसर दिन्छ । प्रतिकका अनुसार इन्टर्नहरूले दैनिक ५०० रुपैयाँ खाजा खर्च प्राप्त गर्छन् । उनीहरूको अवधि सामान्यतया ३ देखि ६ महिनासम्म हुन्छ । यो अवधिमा उनीहरूले डिजाइन, इस्टिमेट, साइट भिजिट र डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने जस्ता काम सिक्छन् ।

इन्टर्नसिपको संरचना र प्रक्रिया दुई तरिकाबाट सञ्चालित छ । पहिलो, कलेजहरूले सिफारिस पत्र पठाएर विद्यार्थीलाई काममा लिने । दोस्रो, महानगरले कुनै कामको लागि आवश्यकता महसुस गरेमा बोलाउने ।

त्यस्तै, महानगरको सामाजिक विकास विभागमा पनि धेरै इन्टर्न हुन्छन् । उक्त विभागमा कार्यरत समीक्षा निरौलाका अनुसार यो विभागले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एलजीबीटीआईक्यू समुदाय, युवा, रोजगार र खेलकुद जस्ता विविध क्षेत्रमा काम गर्छ । यिनै विषयसँग सम्बन्धित कामका लागि विभिन्न विषय पढेका विद्यार्थी र युवालाई यहाँ इन्टर्न गराइन्छ ।

निरौलाका अनुसार इन्टर्नसिपको संरचना र प्रक्रिया दुई तरिकाबाट सञ्चालित छ । पहिलो, कलेजहरूले सिफारिस पत्र पठाएर विद्यार्थीलाई काममा लिने । दोस्रो, महानगरले कुनै कामको लागि आवश्यकता महसुस गरेमा बोलाउने । यसरी आएका र बोलाइएका इन्टर्नबीच पारिश्रमिकमा भिन्नता छ । कलेजमार्फत आएकालाई दैनिक ३०० रुपैयाँ दिइन्छ भने आवश्यकता हेरेर बोलाइएकालाई दिनको ५०० रुपैयाँ दिइन्छ ।

यो विभागका इन्टर्नले मुख्यतः प्रशासनिक कामहरू जस्तैः दर्ता, डकुमेन्ट व्यवस्थापन र संस्था नवीकरणमा सहयोग गर्छन् । यसमा सोसियल वर्क वा यससँग सम्बन्धित विषय पढेका सामुदायिक कलेजका विद्यार्थीलाई प्राथमिकता दिइन्छ ।

यसबाहेक कानुन संकाय र अन्य विषयमा पनि काठमाडौं महानगरले इन्टर्न गराउँदै लगेको छ । महानगरले हरेक सिजनमा नयाँ इन्टर्नहरू राखिरहेको हुन्छ । काठमाडौँ महानगरपालिकाको शहरी योजना आयोगमा ट्राफिक र ट्रान्सपोर्टेसन इन्जिनियरको रूपमा कार्यरत अनुकूल निधिका अनुसार यस विभागले पनि युवासँग मिलेर धेरै प्रभावकारी काम गर्न सफल भएको छ ।

महानगरले युवाहरूलाई इन्टर्नसिप र करिअर क्याम्पमार्फत जोड्ने गरेको निधिले बताए । १८-२८ वर्षका युवाहरूले यहाँ डिजाइन, साइट भिजिट र स्मार्ट टोलजस्ता परियोजनामा काम गर्छन् । न्युरोडको फुटपाथ विस्तारमा एआई र कम्प्युटर भिजन प्रयोग गरी भिड व्यवस्थापनको अध्ययन गर्दा होस् या अन्य प्राविधिक कुरा, इन्टर्नहरूले महानगरको भिजनलाई साकार पार्न दिनरात काम गरेको उदाहरण उनले सुनाए ।

‘स्मार्ट टोल र विपद् व्यवस्थापन जस्ता योजनामा युवाहरूले प्राविधिक अध्ययन गरेर काम गर्छौँ । मलाई लाग्छ, अरु भन्दा हामी युवा यस्ता कुरामा फरवार्ड छौँ । इन्टर्न र करिअर क्याम्पको नाममा यहाँ आएकाबाट पनि यो बुझ्न सकिन्छ,’ निधिले भने ।

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?