
३२ असार, काठमाडौं । सञ्चालनमा रहेका १५ फाइनान्स कम्पनीको निक्षेप संकलन सीमा हटेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै राष्ट्रिय स्तरका फाइनान्स कम्पनीलाई निक्षेप संकलन सीमा हटाएको हो ।
राष्ट्र बैंकका अनुसार हाल १७ फाइनान्स कम्पनी सञ्चालनमा छन् । तीमध्ये १५ राष्ट्रिय स्तरका हुन् । यी फाइनान्सलाई १५ प्रतिशतको निक्षेप संकलन सीमा हटेको हो ।
बाँकी दुई जानकी र मल्टिपर्पस फाइनान्स प्रादेशिक स्तरका भएकाले निक्षेप संकलन सीमा नहटेको हो । यो फाइनान्स कम्पनीले प्राथमिक पूँजीको १५ प्रतिशतभन्दा धेरै हुने गरी निक्षेप संकलन गर्न पाउँदैनन् ।
त्यसैगरी राष्ट्रिय स्तरका विकास बैंक बाहेक ‘ख’ वर्गको इजाजतपत्र प्राप्त संस्थाले आफ्नो प्राथमिक पूँजीको बढीमा २० गुणासम्म वित्तीय स्रोत संकलन गर्न सक्ने छ । हालसम्म १७ विकास बैंक सञ्चालनमा छन् । तीमध्ये ९ विकास बैंक प्रादेशिक स्तरका हुन् ।
सापटीका हकमा संस्थाले आफ्नो कुल निक्षेप दायित्वको बढीमा एक चौथाइसम्म परिचालन गर्न सक्ने छ । वित्तीय स्रोत संकलन सीमा अनुगमन गर्ने प्रयोजनका लागि ठिक अघिल्लो त्रैमासमा कायम रहेको प्राथमिक पूँजीलाई आधार मानिने छ ।
वित्तीय स्रोत संकलन सीमा ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक तथा ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीलाई निक्षेप संकलन सम्बन्धी कुनै सीमा लाग्ने छैन ।
राष्ट्रिय स्तरका वित्त कम्पनी बाहेक ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थाले आफ्नो प्राथमिक पूँजीको बढीमा १५ गुणासम्म वित्तीय स्रोत संकलन गर्न सक्ने छ ।
प्रतिक्रिया 4