
१ साउन, काठमाडौं । केएमसी आन्ट्रप्रेनरसिप क्लबको आयोजना र केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा काठमाडौं मोडल कलेज (केएमसी) मा भएको ‘केएमसी हाटबजार २०८२’ सम्पन्न भएको छ ।
हाटबजारले विद्यार्थीको सिर्जनशीलता, व्यापार र सहकार्यलाई एउटै छानामुनि ल्याएको छ । यस कार्यक्रमले केएमसीमात्र होइन, केएमसी एजुकेसनल नेटवर्क अन्तर्गत केएमसी ललितपुर, न्यु समिट कलेज र एमआईटी कलेजका विद्यार्थीहरूलाई समेत आफ्ना उद्यमशील सोच, सिर्जना र बजार व्यवस्थापन सम्बन्धी सिप प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गरेको छ ।
२४ वटा स्टलमार्फत विद्यार्थीहरूले स्वादिलो परिकार, फेसनेबल लुगा, हातले बनाइएका गहना, हस्तकला सामग्रीदेखि ह्यान्डमेड फ्लावरजस्ता आकर्षक वस्तु बिक्रीमा राखेका थिए । प्रत्येक स्टलमा विद्यार्थीहरूको उद्यमशीलता, नवप्रवर्तनशीलता र नयाँ सोचको प्रतिविम्ब झल्केको देखिन्थ्यो ।
करीब १ हजार विद्यार्थीको उपस्थितिले कार्यक्रमप्रतिको उत्साह झल्काएको थियो। धेरैका लागि यो हाटबजार सिक्ने र प्रत्यक्ष कमाउने पहिलो अवसर पनि थियो । ग्राहकहरूसँगको अन्तर्क्रियादेखि बिक्रीको वास्तविक चुनौती र सफलतासम्मको यात्रामा सहभागी विद्यार्थीहरूले व्यावसायिक अनुभव प्राप्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट स्टललाई केएमसी आन्ट्रप्रेनरसिप क्लबका मेन्टर तथा अध्यापक विजेन्द्र शाहले नगद पुरस्कार वितरण गरेका थिए । सबैभन्दा नवीन स्टल पुरस्कार ‘न्युट्रिसिप’ लाई प्रदान गरिएको थियो । जसले चकलेट सामग्री र स्वादिलो मिल्कसेक मार्फत सबैको मन जितेको थियो । उक्त स्टललाई ५ हजार नगदबाट पुरस्कृत गरिएको थियो ।
यस्तै गरी पिपल्स च्वाइस अवार्ड भने केएमसी ललितपुरको ‘गेम्स एन्ड ग्लोरी’ ले जित्यो, जसले रमाइला र रचनात्मक खेलमार्फत दर्शकलाई आकर्षित गरेको थियो । उक्त स्टललाइ ३ हजार नगदबाट पुरस्कृत गरिएको थियो ।
विद्यार्थीको नेतृत्वमा बिहान १० देखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको यो हाटबजार केवल बजारमात्र नभई विद्यार्थीहरूको नवप्रवर्तनशीलता, सहकार्य र उद्यमशीलताको सङ्गम बनेको केएमसीका आइकएसी प्रमुख ध्रुवप्रसाद तिमल्सेनाले जानकारी दिए ।
प्रतिक्रिया 4