
News Summary
Generated by OK AI. Editorially reviewed.- यो साता सेयर बजार ५.०८ प्रतिशत अर्थात् १३९ अंकले बढेर २८७० अंकमा बन्द भयो।
- बैंक तथा वित्तीय क्षेत्रमा मौद्रिक नीतिका लचकताका कारण आकर्षण देखियो र माइक्रोफाइनान्स सबैभन्दा ८.११ प्रतिशतले बढ्यो।
- विश्वका ठूला बजार पनि उकालो गतिलाई निरन्तरता दिएका छन्।
२ साउन, काठमाडौं । यो साता सेयर बजार ५.०८ प्रतिशत अर्थात् १३९ अंक बढेको छ । गत साता २७३१ मा बन्द भएको बजार यो साता २८७० अंकमा रहेर बन्द भयो ।
सातामा ५ दिन कारोबार हुँदा एक दिन घट्यो भने ४ दिन बढ्यो । यतिबेला बजार ४ महिना (फागुन १९) यताकै उच्च विन्दुमा छ । असारको मध्य (१५ गते)बाटै बजारले वृद्धिको रफ्तार समातेको छ ।
पहिलो दिन आइतबार २९ अंक बढेको बजार सोमबार ३५ अंक घट्यो । मंगलबार फेरि ३४.४६ अंक बढेको बजार बुधबार ३४.६१ र बिहीबार ७५.८४ बढ्यो ।
आइतबार ११ अर्ब ४१ करोडको कारोबार भयो । सोमबार ८ अर्ब १७ करोड, मंगलबार ९ अर्ब ४१ करोड, बुधबार १४ अर्ब ३ करोड र बिहीबार १६ अर्ब ५९ करोडको कारोबार भयो । बिहीबारको कारोबार रकम करिब ११ महिना (१९ भदौ)यताकै उच्च हो ।
गत साताको अन्तिम दिन सेयर बजारका लागि अनुकूल मौद्रिक नीति सार्वजनिक भएसँगै यो साता बजारमा उत्साह देखियो । त्यस्तै साउनका लागि बैंकहरुले ब्याजदर थप घटाएर सार्वजनिक गरेपछि पहिलो दिन नै ७५ अंकको वृद्धि देखियो ।
बैंक तथा वित्तीय क्षेत्रमा आकर्षण
यो साता बैंक तथा वित्तीय क्षेत्रका सेयरमा आकर्षण देखियो । माइक्रोफाइनान्स सबैभन्दा ८.११ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक, फाइनान्स र बैंकमा आकर्षण देखियो ।
बैंक तथा वित्तीय क्षेत्रमा आकर्षण देखिनुको प्रमुख कारण नै मौद्रिक नीतिमा गरिएका लचक व्यवस्था हुन् । माइक्रोफाइनान्सले बाँड्न पाउने लाभांश दर १५ प्रतिशतलाई पुनरावलोकन गर्ने घोषणा गर्नु, फाइनान्सलाई निक्षेप परिचालनमा लगाइएको सीमा खोल्नु, बैंक तथा विकास बैंकका हकमा आधार दर गणनालाई यथार्थपरक बनाउने घोषणा मौद्रिक नीतिमा गरिनुले यी क्षेत्रलाई सकारात्मक प्रभाव पार्यो ।
गत साता बैंकिङ समूह सबैभन्दा धेरै ३.०६ प्रतिशत बढेको थियो । हाल बैंकिङ समूह ८ महिना (२६ कात्तिक)यताकै उच्च विन्दुमा छ । विकास बैंक समूह साढे ७ महिना (१५ मंसिर) यताकै उच्च विन्दुमा छ । फाइनान्स चार महिना (२८ फागुन) यताकै उच्च विन्दुमा छ । त्यस्तै माइक्रोफाइनान्स साढे चार महिना (१८ फागुन) यताकै उच्च विन्दुमा छ ।
बजारमा बैंक तथा वित्तीय क्षेत्रको प्रभुत्व रहेको छ । यीमध्ये पनि वाणिज्य बैंकको सेयर तुलनात्मक रुपमा न्यून छ । अझै पनि केही वाणिज्य बैंकको सेयर मूल्य साढे २ सयभन्दा तल छ ।
धेरै कारोबार भएका कम्पनी
यो साता रकमका आधारमा धेरै कारोबार भएकामा कम्पनीमा बुटवल पावर सबैभन्दा अगाडि रह्यो । सो कम्पनीको मात्रै २ अर्ब ४७ करोडको कारोबार भयो ।
त्यसपछि धेरै कारोबार भएका कम्पनीमा राधि विद्युत्, एनआरएन इन्फ्रास्ट्रक्चर, एनआईसी एसिया बैंक, नेपाल पुनर्बीमा, सानिमा माइ हाइड्रोपावर, साहस ऊर्जा, ङादी ग्रुप, सानिमा बैंक र सीईडीबी होल्डिङ्स छन् ।
कारोबार संख्याका आधारमा भने एनआईसी एसिया बैंक अगाडि रह्यो । त्यसपछि बुटवल पावर, साहस ऊर्जा, ङादी ग्रुप, राधि विद्युत्, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन रिइन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर र सानिमा बैंक क्रमशः अगाडि रहे ।
आईपीओ, एफपीओ तथा हकप्रद सेयर खुलेका छन् ?
आम सर्वसाधरणका लागि हिमालयन बैंकको एफपीओ खुलिरहेको छ । बैंकले सर्वसाधारण समूहमा ३० प्रतिशत हिस्सा पुर्याउन ९२ लाख ५० हजार ४६९ कित्ता सेयर प्रतिकित्ता १५७ रुपैयाँका दरले निष्कासन गर्न लागेको हो । यो साता बजार बन्द हुँदा यस बैंकको मूल्य २४९ रुपैयाँ छ ।
त्यस्तै वैदेशिक रोजगारमा रहेका र संखुवासभाका आयोजना प्रभावित स्थानीयका लागि माबिलुङ इनर्जीको आईपीओ खुलिरहेको छ । साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र पूरा बिक्री नभएमा स्थानीयबासीले १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारमा रहेकालाई अर्को कम्पनी स्वस्तिक लघुवित्तको आईपीओ पनि खुलेको छ । साउन ९ गतेसम्म यस कम्पनीमा आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारमा रहेका र बझाङ जिल्लाका प्रभावित स्थानीयका लागि बुङ्गल हाइड्रोपावरको आईपीओ खुलिरहेको छ । साउन ११ गतेसम्म यसमा आवेदन दिन सकिनेछ। स्थानीयका हकमा भने सो अवधिभित्र पूरा बिक्री नभएमा २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।
३ कम्पनीको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । बरुण हाइड्रोपावर, पिपुल्स पावर र तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन खुलिरहेको छ । बरुणमा साउन १९ गतेसम्म, पिपुल्समा साउन ११ र तेह्रथुममा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । बरुणको शत प्रतिशत, पिपुल्सको ५० प्रतिशत र तेह्रथुमको शत प्रतिशत हकप्रद सेयरमा आवेदन खुलेको हो ।
विश्वका ठूला बजार उकालोतिरै
विश्वका ठूला बजार पनि उकालो गतिलाई निरन्तरता दिएका छन् । अमेरिकी स्टक मार्केट डाओ जोन्स इन्डेक्स यो साता ०.०१ प्रतिशत मात्रै बढ्यो । यद्यपि विगत एक महिनामा यो सूचक ५.४८ प्रतिशत बढिसकेको छ । अमेरिकाकै एसएण्ड पी ५०० सूचक एक महिनामा ५.२९ प्रतिशत बढेको छ ।
चीनको सांघाइ कम्पोजिट इन्डेक्स यो साता ०.३९ प्रतिशत बढ्यो । विगत एक महिनामा यो सूचक ४.०८ प्रतिशत बढिसकेको छ ।
जापानको निक्की २२५ इन्डेक्स यो साता १.०१ प्रतिशत बढेको छ । विगत एक महिनामा यो सूचक २.३९ प्रतिशत बढेको छ ।
लण्डनको एफटीएसई १०० सूचक साताभर ०.०३ प्रतिशत घटेको छ । विगत एक महिनामा यो सूचक १.४६ प्रतिशत बढेको छ । भारतको बीएसई सेन्सेक्स यो साता ०.८० प्रतिशत घट्यो । विगत १ महिनामा स्थिर प्रायः रहेको यो सूचक ६ महिनामा ६.०२ प्रतिशत बढेको छ ।
प्रतिक्रिया 4