
२ असार, काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।
प्राधिकरणले जारी गरेको सूचनामा टेलिग्राम एपमार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको भन्दै भनिएको छ, ‘सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहको बुझिन आएको उक्त टेलिग्राम एपको पहुँचमा रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसंचार सेवा प्रदायकहरुलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्मा रहेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी कसूर निवारण सम्बन्धी राष्ट्रिय समन्वय समितिले टेलिग्रामलाई बन्द गराउन प्रक्रिया अघि बढाएको थियो ।
२०८१ को भदौमा टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डयु्रोभ आफैं फ्रान्समा पक्राउ परेका थिए । त्यसबेला उनीमाथि टेलिग्राममार्फत अवैध लेनदेन, लागूऔषध तस्करी, ठगी र बालबालिकामाथि यौन दुर्व्यवहारसँग सम्बन्धित तस्वीरहरू प्रसारमा संलग्नताको आरोप लगाइएको थियो । फ्रान्सले उनलाई त्यसबेला जमानतमा छाडे पनि पावेलको गिरफ्तारीले संसारभरि नै यो एपको नियमनबारे बहस सिर्जना गराइदिएको थियो ।
टेलिग्रामका संस्थापक पक्राउ परेका बेला कतिपयले यसलाई सामाजिक सञ्जालको नाममा भएको ‘डार्क वेब’ समेत भनेका थिए । ‘डार्कवेब’ इन्टरनेटको संसारमा यस्तो प्लेटफर्म हो, जहाँ निश्चित सफ्टवेयरको प्रयोगबाट मात्र पहुँच गर्न सकिन्छ । त्यसमार्फत गैरकानुनी सामान र सेवाहरू बिक्री गरिन्छ, र प्रयोगकर्ताको कुनै पनि किमिसको रेकर्ड रहँदैन ।
डिजिटल दुनियाँमा यसलाई अपराधीहरूको स्वर्ग पनि भनिन्छ । यसमा भएका केही विशेषताहरूका कारण टेलिग्रामसमेत ‘हरेक व्यक्तिको गोजीमा भएको डार्कवेव’ जस्तो बनेको विश्लेषण गरिएको थियो ।
नेपालमा पनि २०८१ पुसमा एफवान सफ्टको प्रणाली ह्याक गरेर सिटिन्स बैंकको खाताबाट साढे ३ करोड रुपैयाँ चोरी भएको घटनामा टेलिग्राम जोडिएको थियो । त्यसबेला ह्याकरले टेलिग्राममार्फत बेरोजगार युवालाई प्रलोभन देखाएर रकम चोरी गरेको खुलेको थियो । लागूऔषध कारोबारमा समेत यसको प्रयोग हुने गरेको आशंका छ ।
प्रतिक्रिया 4