+
+
Shares

वर्षमानको आरोप- आरजु र जयवीर देखाएर ओलीले कांग्रेस तर्साइरहेका छन्

उनले नेकपाकालीन बेलामा पनि माओवादीका पुराना नेता रामबहादुर थापा बादलका छोराको फाइल तयार पारेर तर्साएरै एमाले भित्र्याएको आरोप पनि लगाए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते १६:०९

३ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध बोल्नखोज्ने जो कोहीलाई पनि फाइल तयार पारेर तर्साउने काम गरिरहेको आरोप लगाएका छन् ।

शनिबार पार्टीको गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीको चरित्रबारे लामो चर्चा गर्दै माओवादीका प्रभावशाली नेता पुनले यसअघिबाटै गर्दै आएको यस्तो प्रवृत्ति अहिले पनि जारी रहेको जिकिर गरे ।

पुनको भनाइमा, सत्तारुढ मुख्य घटक कांग्रेस पनि केही चलमलाउन खोजेको वा नेतृत्व परिवर्तनको कुरा गर्न थाल्नासाथ ओलीले त्यस्तो कार्य गर्ने गरेका छन् ।

परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ आरजु राणा देउवालाई पनि तर्साउने काम गरेको उनले बताए ।

‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो, नेतृत्व आफैंले लिने कि भन्ने भएपछि अब आरजुका आमा छोरा (जयवीर) को पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ । यो ओलीजीको तरिका हो,’ उनले भने ।

उनले नेकपाकालीन बेलामा पनि माओवादीका पुराना नेता रामबहादुर थापा बादलका छोराको फाइल तयार पारेर तर्साएरै एमाले भित्र्याएको आरोप पनि लगाए ।

‘नेकपा हुँदा पनि बादलजीको छोराको फाइल तयार गरेर राख्नुभयो । लास्टमा उहाँलाई नै एमालेमा लैजानुभयो,’ पुनले भनेका छन् ।

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको दाबी पुनले गरे ।

उनले ओलीलाई चरम दक्षिणपन्थी नेता भएको आरोप पनि लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?