+
+
Shares
सहयोद्धाको सम्झना :

मदनको स्मृतिमा शहीद नेत्रलाल

भरोसिलो र गतिलो सहयोद्धा असमयमै गुमाएँ

मैले एउटा अत्यन्त भरोसिलो र गतिलो सहयोद्धा असमयमै गुमाइसकेछु । मलाई अहिले साथीको अभाव मात्र होइन आफ्नै अयोग्यताहरूले पनि कता–कता पोलिरहे जस्तो लाग्छ ।

मदन भण्डारी (जीवन शर्मा) मदन भण्डारी (जीवन शर्मा)
२०८२ साउन ३ गते १७:४१

प्रश्रित र म कोठामा बसेर कुरा गरिरहेका थियौं । त्यसबेला हामीमाथि निकै गह्रौं जिम्मेवारी आएको थियो । हामीले भर्खर केही समयअघि मात्र नेपालको कम्युनिष्ट आन्दोलनका रुढ दक्षिणपन्थी विचार र पुष्पलालका जारी कमजोरीहरूका विरुद्ध विद्रोह गरेका थियौं । त्यसबेलासम्ममा आफ्ना विद्रोही विचारहरूलाई छापामा बाहिर लगिएको र तिनीहरूको आधारमा कार्यकर्ता शक्ति गोलबन्द गरिएको भए पनि अझै जनवादी केन्द्रीयताका आधारमा संगठनात्मक ढाँचाका मान्यता र अभ्यासका आधारमा नै हामी केही व्यक्तिहरू त्यो विद्रोही विचारको अगुवाइ गरिरहेका थियौं ।

देश र प्रवासका कार्यक्षेत्रहरूमा काम गरिरहनुभएका अनेकौं कार्यकर्ता, सदस्य र व्यापक जनसमुदायको अग्रगतिलाई सुनिश्चित गर्ने उत्तरदायित्वलाई पहल–कदमीको हिसाबले हामीले आफूमाथि लिएका थियौं । संगठनात्मक स्थिति औपचारिक, व्यवस्थित र सुदृढ नगरिसकिएको र अनेकौं राजनीतिक, कार्यनीतिक सवाल र पक्षहरूमा नीति र मान्यताहरू व्यवस्थित नगरिसकिएको त्यसबेला हामीलाई आफ्नो जिम्मेदारी पूरा गर्न निकै मिहिनेत गरिरहनु परेको थियो । एकातिर पुष्पलाल समूहको अमैत्रीपूर्ण हमला, अर्कोतिर तुरुन्तै आफूसँग मिल्न नआएको कारणबाट उत्पन्न मोहनविक्रम समूहको अमैत्रीपूर्ण आलोचना र अझ अर्कोतिर आफ्नो पंक्तिलाई गोलबन्द, गतिशील र संगठित गरिहाल्नुपर्ने समयको दबाबले हामीलाई च्यापेका र चुनौती दिइरहेका थिए ।

त्यसबेला हामी विभिन्न समूहसँग भेटघाट गर्ने र नेपाली कम्युनिष्ट आन्दोलनको इतिहाससँग सम्बन्धित र हालका (तात्कालिक–सं.) सैद्धान्तिक राजनीतिक सवालहरूका बारेमा बहस छलफलको क्रम चलाइरहेका थियौं । हाम्रो विद्रोही पंक्तिका केही अगुवा साथीहरू देशभित्रै हुनुहुन्थ्यो भने प्रश्रित र म चाहिं त्यसबेला बनारसमा थियौं । राममन्दिर धर्मशालाको माथिल्लो तलाको सानो कोठा प्रश्रितजीको डेरा थियो र त्यस दिन बिहानैदेखि एउटा सैद्धान्तिक विषयमा हामीबीच छलफल सुरु भएको थियो ।

आन्तरिक र बाह्य, मनोगत र वस्तुगत दुवै क्षेत्रमा तीव्र उथलपुथल भएका बेलाको सहकर्मी नेत्रलालसँगका मेरा स्मृति र अनुभवहरू स्वाभाविक रूपमा अक्षम्य र अगाध छन् ।

कुनै दुई जना मित्रहरू सुपरिचित शैलीमा कोठाभित्र प्रवेश गर्नुभयो । हामीले एकअर्कालाई क्रान्तिकारी आत्मीयताका साथ अभिवादन गर्‍यौं । उहाँहरूसँग परिचित हुनु भएकोले आगन्तुक साथीहरूसँग प्रासङ्गिक कुराहरूको थालनी पनि प्रश्रितजीले नै गर्नुभयो । मैले पनि अपरिचित जस्तो व्यवहार गरिनँ । हामीले त्यस दिन थुप्रै राजनीतिक सवालहरूमध्ये मुख्य अन्तरविरोध, मुख्य शत्रु, नेपाली कांग्रेस, कम्युनिष्ट आन्दोलन र विभिन्न समूह तथा संघर्षका रूप, तरिका र आ–आफूले गरिरहेका कामका तात्कालिक विषयहरूबारे बातचित चलायौं। कुराकानीकै क्रममा मैले पनि थाहा पाउँदै गएँ, उहाँ दुई जना मित्रहरू मोहनविक्रम समूहसँग असन्तुष्ट विद्रोही सन्देश ग्रुपका साथीहरू हुनुहुँदोरहेछ । ‘को–अर्डिनेशन केन्द्र’ का अनेकौं विचार र कार्यतरिकाबारे त्यसबेला हामी ‘मुक्ति–मोर्चा’ समूहका साथीहरू असहमत थियौं । तर उहाँहरू ‘सन्देश ग्रुप’ का साथीहरू हामीभन्दा धेरै सवालमा ‘को.के.’ प्रति सकारात्मक हुनुहुँदोरहेछ । त्यसभन्दा एक दुई दिन अघि मात्र सार्वजनिक मञ्चमा मैले बोलेका केही विषयहरूबारे समीक्षा गर्दै एक जना साथीले मेरो नाम लिनुभयो । मैले भने अझै पनि उहाँलाई व्यक्तिगत रूपले चिनिसकेको थिइनँ । उहाँले मेरो नाम लिंदा मलाई भित्रभित्रै कुरीकुरी पनि लाग्यो ।

बातचितबाट हामीहरू एकआपसमा धेरै नजिकियौं । देशको वर्तमान परिप्रेक्ष्यमा एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्ने अत्यावश्यकता र क्रान्तिकारी कम्युनिष्टहरू बीचको अपरिहार्य एकताबारे हामीले उहाँहरूको पनि समान धारणा रहेको पायौं । प्रश्रितजी प्रसिद्ध र प्रतिभाशाली साहित्यकार भएको हुनाले उहाँ भएको ठाउँमा साहित्यिक प्रसङ्गहरू चल्नु कुनै अनौठो कुरा हुँदैन । संगतले गर्दा त्यसबेला मलाई पनि अलिकति साहित्यिक चस्को पसिसकेकै थियो । गीतहरू, छन्दमा कविताहरू केही लेख, कथाहरू लेख्ने अभ्यास म पनि चलाउँदै थिएँ । आउनुभएको एक जना साथीले साहित्य र लेखाइबारे पनि निकै गहिरिएर छलफल उक्काउनुभयो ।

ऐस–आरामको कल्पनाले लोभ्याउन, भौतिक कठिनाइहरूले गलाउन, प्रतिक्रियावादीहरूका कुनै पनि आक्रमणले पराजित गर्न नसकेको फलामे इच्छाशक्ति भएको मान्छे थिए नेत्रलाल ।

साहित्यको सवालमा पनि एक छिन हामी बीच कुराकानी चल्यो । ‘लाटो देशमा गाँडो तन्नेरी’ जस्तो त्यसबेलाका हाम्रा अगुवा साथीहरूमध्ये कला नभए पनि गलामा मेरो अलिकति गन्ती थियो । त्यस्ता राजनीतिक भेटघाटमा पनि मौका मिल्नेबित्तिकै साथीहरू मलाई गीत गाउनका निम्ति प्रस्तुत गर्नुहुन्थ्यो । एकोहोरो सङ्गीतमा चर्किएर गाउन पाउँदा अलिकति स्वर भएकै गायक झैं म पनि कोसिस गर्नसक्थें । त्यस भेटको अन्त्यमा हामीले एकअर्कालाई गीत पनि सुनायौं । उहाँ साथीले ‘मेरो नाम कुन्नि हो’.. भन्ने बोल भएको शब्द संगीत र भावमा निकै राम्रो संयोजन र संगीतयुक्त मीठो गीत सुनाउनुभयो । मैले उहाँको स्वरलाई पनि नमिठो मान्न सकिनँ । हामी आत्मीयता अभिव्यक्त गर्दै त्यस दिन एकअर्कासँग बिदा भयौं ।

आउनुभएको त्यो एक जना साथीको चासो, ज्ञान, गम्भीरता र बातचितको शिष्ट शैलीप्रति म निकै आकर्षित भइसकेको थिएँ । साथीहरू बिदा भइसकेपछि मैले प्रश्रितजीसँग सोधें ‘उहाँको नाम के हो ?’ ‘ओ हो ! तपाईंहरूको आपसमा पूर्ण परिचय थिएन ? उहाँ नेत्रलाल पौडेल हो, दाङको एउटा असल कम्युनिष्ट क्रान्तिकारी, एउटा कर्मठ राजनीतिक कार्यकर्ता । साहित्यमा पनि उहाँको राम्रै हस्तक्षेप छ र कविता र भाषा सम्बन्धमा राम्ररी नै कलम पनि चलाउँदै आउनुभएको छ’, प्रश्रितले मलाई जवाफ दिनुभयो । यो २०३३ सालको कुरा हो । नेत्रलालसँग मेरो त्यो नै पहिलो भेटघाट थियो । त्यसपछि मैले कहिल्यै पनि उहाँलाई बिर्सन सकिनँ ।

समान राजनीतिक मान्यता र क्रान्तिकारी प्रक्रियाहरूका सम्बन्धमा पनि एउटै दृष्टिकोण रहेको हुनाले हामीहरू पछि एउटै राजनीतिक झण्डामुनि जम्मा हुन सक्यौं र त्यसयता करिब ६ वर्षसम्म सँगै काम गर्‍यौं । नेत्रलालसँग एउटै मोर्चामा र सिंगै मुलुकका निम्ति समेत ऐतिहासिक महत्वको रूपमा उल्लेखनीय वर्षहरू रहेका छन् । मार्क्सवाद–लेनिनवादलाई त्यसको सटिक, सार्वभौमिक अर्थमा र आफ्नो मुलुकको ठोस परिस्थितिमा लागू गर्ने विशिष्ट अर्थमा समेत बुझ्ने मेरो सैद्धान्तिक चेतनामा एउटा ठूलो फड्को आएको मैले अनुभव गरेको छु ।

यी ६ वर्षहरूमा क्रान्तिकारी नीति र प्रक्रियाहरूलाई मैले जति गहिरिएर बुझ्न सकें साँच्चै भन्ने हो भने आज पनि म त्यही खजनाबाट गुजारा गरिरहेको छु । यसको मतलब उहाँसँग बितेका मेरो जीवनका यी वर्षहरू आन्तरिक रूपमा तीव्र गतिशीलता रहेका वर्षहरू हुन् र सिंगै मुलुकमा पनि २०३५–३६ को क्रान्तिकारी सङ्घर्ष, जनमत संग्रह र त्यसयताका सापेक्ष परिवर्तनहरू देशको वस्तुस्थितिमा अनेकौं हिसाबले उल्लेखनीय महत्व भएका ऐतिहासिक वर्षका रूपमा छन् । यस्तो आन्तरिक र बाह्य, मनोगत र वस्तुगत दुवै क्षेत्रमा तीव्र उथलपुथल भएका बेलाको सहकर्मी नेत्रलालसँगका मेरा स्मृति र अनुभवहरू स्वाभाविक रूपमा अक्षम्य र अगाध छन् ।

समान राजनीतिक मान्यता र क्रान्तिकारी प्रक्रियाहरूका सम्बन्धमा पनि एउटै दृष्टिकोण हुनाले हामी एउटै राजनीतिक झण्डामुनि जम्मा हुन सक्यौं र त्यसयता करिब ६ वर्षसम्म सँगै काम गर्‍यौं ।

यस बीचमा कति हो कति पटक हामीले सँगै घोत्लिएर सोच्यौं, गहिरिएर आत्मसमीक्षा गर्‍यौं । गलत विचार र प्रवृत्तिहरू विरुद्ध अविराम संघर्षहरू गर्‍यौं । आपसमा चर्काचर्की बहस र वादविवाद पनि गर्‍यौं र रणनीतिक महत्वका गुणात्मक निष्कर्ष र निर्णयहरू पनि निकाल्यौं तथा निरकुंशतन्त्रका दमनात्मक र हिंसात्मक आक्रमणहरूको प्रतिरोध गर्‍यौं । जतिसुकै हतार गर्नु परेको होस् नेत्रलाल आफ्ना विचारहरू बताउने क्रममा एउटा पूर्णविराममा पुगेर टक्क अडिनुहुन्थ्यो र नियालेर साथीको अनुहार हेर्न थाल्नुहुन्थ्यो, शायद साथीको अनुहारमा केही प्रतिक्रियाहरू खोज्नका निम्ति हो कि ? अनि उहाँले आफ्ना विचारहरू बताइसक्नुभएछ भनेर आफूले कुरा सुरु गर्‍यो कि फेरि ‘र अर्को कुरा’ भनेर उहाँ अघि बढ्नुहुन्थ्यो । मलाई उहाँको यो शैली बेलाबेला नखट्किएको होइन । तर मैले कहिल्यै पनि ‘यो तपाईंको शैली झिंजो लाग्दो’ भनेर बताइनँ । उहाँको त्यही विशेषताले कहिलेकाहीं बातचितमा मजा पनि आउँथ्यो । अनेकौं विचारोत्तेजक विषय प्रसंगहरू र विनाशकारी विघ्नहरूसँग सामना गरिरहेको बेला पनि नेत्रलालले देखाउने शिष्टता, संयम र साहसिक अविचलता मैले त्यसबेला पनि उहाँलाई सम्झँदा उपस्थित हुने मूर्त तत्वहरू हुन् । म अहिले नेत्रलाललाई एउटा गहिरो वर्ग घृणा भएको तर शिष्ट, भावुक तर संयमित, प्रतिकूलताहरूलाई पनि वास्तविक रूपमा देख्न सक्ने तर साहसिक क्रान्तिकारी साथीको रूपमा सम्झन्छु ।

मैले २०४० साल फागुनमा नेत्रलाललाई पछिल्लो पटक भेटें । उहाँ त्यसबेला केही गम्भीर रोगहरूबाट ग्रसित हुनुहुन्थ्यो । बिमारीको दुष्प्रभावले उदास चेहरामा टोलाएका आँखाहरू बेला–बेला गहिरो विषाद व्यक्त गरिरहेका जस्ता देखिन्थे । उहाँका कतिपय संगति नमिलेका अभिव्यक्तिहरू र केही अस्वाभाविक संकेतहरूले घाइते मानसिकताको परिचय दिन्थे । एक पटक उहाँलाई बाटोमा एक्लै हिंडिरहेको बेला निर्जन ठाउँमा बिमारीको गम्भीर आघात लागेछ । मूर्छाको पूर्व संकेत आफूले थाहा पाउनेबित्तिकै क्रान्तिकारी गोपनीयताहरू जोगाउने बन्दोबस्त गरी कुनै पनि स्थितिको सामना गर्न तयारी गर्नुभएछ । नभन्दै त्यहीं उहाँ मूर्छित हुनुभयो । कोही बटुवाले कुन बेला भेटेर एक जना किसानको घरमा पुर्‍याइदिएछन् । जनताको सहयोगले मात्र उहाँ सुरक्षित र जीवित रहन सक्नुभयो । उहाँ लामो समयपछि मात्र मूर्छाबाट सचेत हुनुभएछ । उहाँले त्यस पटक यो भन्दा बढ्ता हानि व्यहोर्नु परेन तर त्यो फगत संयोग मात्र थियो । त्यो पछिल्लो भेटमा उहाँबाटै ती कुराहरू थाहा पाउँदा म निकै आहत भएँ ।

कुनै ऐसआरामको कोमल कल्पनाले लोभ्याउन नसकेको, कुनै सुख सयलका स्वप्निल आकर्षणहरूले तान्न नसकेको, कुनै पनि भौतिक कठिनाइहरूले गलाउन नसकेको, कुनै पनि भयले विचलित पार्न नसकेको र प्रतिक्रियावादीहरूको कुनै पनि आक्रमणले पराजित गर्न नसकेको यो फलामे इच्छाशक्ति भएको मान्छे कसरी यस्तो क्लान्त, शिथिल, उदास र खिन्न हुनसक्यो । मैले रोगहरूको दुष्प्रभाविता प्रति गहिरिएर सोचें । बन्दुकको गोलीले छेड्न नसकेको एउटा क्रान्तिकारीको मानसिकता रोगले विदीर्ण गरेको कुराप्रति धेरैबेर गमें । म कुनै लेखान्त र अवश्यंभाविता प्रति विश्वास गर्ने मान्छे होइन, तर पनि यस्तो रोग न लागेकै भए पनि त हुन्थ्यो भनेर मैले केही भावुक कल्पनाहरू पनि गरें, तर यथार्थमा रोग लाग्नु अस्वाभाविक थिएन । अभाव, दरिद्रता, कठिनाइ, शोषण र उत्पीडनले असंख्य जनताहरू रोगी छन् र कालको मुखमा गइरहेकै छन् । जनताको निम्ति उपचार सुलभ छैन, जनताको जीवन सहज छैन । त्यसमा पनि क्रान्तिकारी काममा लागेका भूमिगत कार्यकर्ताहरूलाई परिवेशकै कारणले पनि उपचार दुर्लभ हुन्छ । यी सबै कुराहरूको जरो प्रतिक्रियावादी व्यवस्था नै त हो । सबै रोग, व्याध, अकाल मृत्यु र सर्वनाशको मूल कारणप्रति यथातथ्य विश्लेषण गरेपछि निरंकुशतन्त्र र पञ्चायती व्यवस्थाप्रति मेरो घृणा झन् बढेर गयो । तर नेत्रलालको आत्मा गलेको थिएन । मनस्थिति थाकेको थिएन । संकल्प विचलित भएको थिएन र क्रान्तिकारी साहस र सक्रियता पराजित भएको थिएन ।

उहाँले त्यो पछिल्लो भेटमा पनि आफ्नो रोग र शारीरिक स्थितिप्रति कुनै आत्म–चिन्ता प्रकट गर्नुभएन । हामीले सधैं झैं अनेकौं सवालमा विचार आदान–प्रदान गर्‍यौं । छलफल गर्‍यौं र क्रान्तिकारी निष्कर्षहरू निकाल्यौं । अन्त्यमा हृदयको उस्तै न्यानोपन, उस्तै आशावाद र उस्तै जोश जाँगरको साथ आत्मीय अभिवादन गर्दै हामी एकअर्कासँग बिदा भयौं । तर त्यसबेला त्यो नै हाम्रो पछिल्लो भेट हो भन्ने हामी कसैले पनि अनुमान गरेका थिएनौं । त्यसभन्दापछि मेरो उहाँसँग फेरि कहिल्यै भेट हुन पाएन । २०४१ सालमा अचानक उहाँको निधन भएको समाचार सुन्दा मैले आफूलाई तुरुन्तै समाचारप्रति विश्वस्त बनाउन सकिनँ । अहिले पनि कहिलेकाहीं म सोच्दछु– साथीहरूसँग भेटघाट गर्ने निश्चित थलोमा पुगेपछि अरू जस्तै रातको कालो गर्भलाई चिर्दै बिर्के टोपी लगाएको छिचरो दाँत भएको, एउटा उज्यालो चेहरा, काँधमा झोला झुण्ड्याएर बत्तीको मधुरो प्रकाशमा फुत्त आई त पुग्दैन ? तर यो एउटा फगत मेरो कल्पना मात्र हो । २०४० सालयता त्यो चेहरासँग फेरि कहिल्यै चार आँखा हुन पाएन । मैले एउटा अत्यन्त भरोसिलो र गतिलो सहयोद्धा असमयमै गुमाइसकेछु । मलाई अहिले साथीको अभाव मात्र होइन आफ्नै अयोग्यताहरूले पनि कता कता पोलिरहे जस्तो लाग्छ ।

म आफूलाई पनि कुनै बहिर्मुखी ठान्दिनँ । तर नेत्रलाल मभन्दा धेरै अन्तर्मुखी स्वभावको हुनुहुन्थ्यो । त्यस स्वभावले गर्दा उहाँले धेरै पीर र विसंगतिहरू मनमनमै भक्कानो पारेर बचाउनुभएको छ । उहाँले खुद भोगेका विषम अनुभवहरू धेरैजसो व्यक्त भएनन् । बरू उहाँले लेखेका कविताहरूमा साहित्यिक पोशाकमा सुटुक्क छिरेका हुन सक्छन् । तर व्यावहारिक निष्कर्षको रूपमा कहिल्यै बाहिर आएनन् । आफ्ना पीरहरू पचाउन उहाँले आफ्नो प्रतिभाशाली ऊर्जाको कति ठूलो हिस्सा खर्च गर्नुपर्‍यो होला, त्यो अनुमान मात्र गर्ने कुरा हो । साथीहरूलाई सकेसम्म सुख र खुसी बाँड्नुभयो तर दु:ख र विषादहरू कहिल्यै बाँड्न चाहनुभएन । आफ्ना कार्य परिस्थितिका जटिलताहरू, परिवेशको संकीर्णताद्वारा उत्पन्न प्रतिकूलताहरू र शारीरिक कठिनाइहरूलाई कहिल्यै मुखर भएर व्यक्त गर्नुभएन । भोग्नु परेको परिस्थितिका थप्पडहरूले मनस्थितिमा पारेको आघात, द्वन्द्व र पक्षघातहरूलाई कहिल्यै देखाउन चाहनुभएन । आफू कहिल्यै पनि संगठन र साथीहरूका निम्ति समस्या बन्नु नपरोस् भन्ने उहाँले सोच्नुभएको भए पनि शायद यो एउटा कमजोरी नै हुनसक्छ । जनता, देश, संगठन र साथीहरूका लागि उहाँले धेरै कुरा दिएर जानुभयो तर हामीले उहाँलाई केही पनि दिन सकेनौं वा दिन पाएनौं ।

कैयौं पटक हामीले सँगै घोत्लिएर सोच्यौं । गहिरिएर आत्मसमीक्षा गर्‍यौं । गलत विचार र प्रवृत्तिहरू विरुद्ध अविराम संघर्षहरू गर्‍यौं । रणनीतिक महत्वका गुणात्मक निष्कर्ष र निर्णयहरू निकाल्यौं तथा निरकुंशतन्त्रका दमनात्मक र हिंसात्मक आक्रमणहरूको प्रतिरोध गर्‍यौं ।

मैले त्यति लामो सहकार्य कालमा कहिल्यै पनि उहाँको व्यक्तिगत अन्तरहृदय खोतल्ने प्रयत्न गरिनँ । त्यहाँ लुकेर रहेका पत्रहरूलाई कहिल्यै कोट्याउने कोसिस गरिनँ । व्यक्तिगत जीवनका विषम दीर्घ अनुभवहरूलाई बाँकी नराखिकन बुझ्ने र सबैका निम्ति सामान्यीकृत निष्कर्षहरू निकाल्नेतर्फ मैले कहिल्यै ध्यान दिन सकिनँ । मैले उहाँको प्रतिभाको आदर गरें, योगदानको कदर गरें, क्रान्तिकारी सक्रियताको प्रशंसा गरें, कठिनाइहरूका अगाडि शिर नझुकाई उभिने र प्रतिक्रियावादीहरूसँग कहिल्यै घुँडा नटेक्ने बानीको उच्च मूल्याङ्कन पनि गरें । तर तिनै कुराहरू दीर्घकालसम्म जीवन्त रहुन्, शतायु रहुन् र लोक लाभान्वित भइरहन सकोस् भन्नेतर्फ धेरै लगानी गर्न सकिनँ । एउटा मान्छे चाहे कम्युनिष्ट होस् वा अरू कुनै, उसभित्र माया, ममता, लोभ, क्रोध र डर जस्ता मानवीय वा अझ भनौं जैविक गुणहरू हुन्छन् नै । तिनीहरूलाई कम्युनिष्टहरूले पनि निमिट्यान्न पार्न सक्दैनन्, केवल परिष्कृत गर्न सक्छन् । सबै कुराहरूलाई क्रान्तिको हितमा उन्मुख गर्न सक्छन् । सामान्य हितका निम्ति उपयोग गर्न सक्छन् ।

सामूहिक जीवन प्रणालीको आदर्श अनुसरण गर्ने कम्युनिष्टहरूका निम्ति व्यक्तिगत जीवनका बहुमुखी जटिलताहरू पनि सामूहिकताकै कारणले मात्र सहज पराजयी हुन्छन् । तर यी कुराहरू व्यक्तिले आफ्ना निजी जीवनका जटिलता, भावनाहरू आफ्नै मनमा मात्र पेलेर, दबाएर होइन सहज रूपमा प्रकट गरेर, छलफल गरेर मात्र सम्भव हुन्छ अनि संगठन र साथीहरूले पनि केवल क्रान्तिकारी विचार, काम, योगदान र क्रियाशीलता मात्र हेरेर ढुक्क भएर पनि होइन, व्यक्तिको निजी जीवन र चिन्तनका सामग्रिक विषयहरू कोट्याएर, खोतलेर समाधान गर्न सहयोग गर्दै सामान्यीकरण गर्दा मात्र सम्भव हुन्छ । मैले उहाँसँग यो पछिल्लो काम गर्न सकिनँ । हुनत यी सबै कुराहरूको मूल कारण जनता र राष्ट्रविरोधी निरंकुशतन्त्रको सांघातिक व्यवहार नै हो । यसलाई पूर्णरूपले ध्वंस नगरुन्जेल यो स्थिति आउँदैन । प्रतिकूलताहरूलाई कम गर्न र अनुकूलताहरूलाई बढाउन आफ्नो पंक्तिको योग्यता र क्षमताको प्रयोग गर्दा हाम्रो जीवन ज्यादा सहज बनाउन सकिन्छ र समग्रतामा आफ्ना कामलाई अझ तेज बनाउन सकिन्छ । आफ्नै अयोग्यता र अक्षमताहरूले भने थप प्रतिकूलता मात्र सिर्जना गरिदिन्छन् । कमरेड नेत्रलालको सम्झना गरिरहेको बेला अहिले पनि यो कुरा सोच्दा मलाई कस्तो कस्तो लागिरहेकै छ ।

२५ जेठ, २०४४

(शहीद नेत्रलाल स्मृति प्रतिष्ठान दाङद्वारा प्रकाशित ‘अग्रगमनका मार्गदर्शक शहीद नेत्रलाल अभागी’ स्मृतिग्रन्थमा भण्डारीको यो स्मृति समावेश छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?