
१० भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीलाई लक्षित गरेर दिएको अभिव्यक्तिप्रति चित्त दुखाएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झासँग मंगलबार बिहान भेट्दा मदन भण्डारीमाथि प्रधानमन्त्री ओलीले आक्षेप लगाएको बताएकी हुन् ।
रास्वपा प्रवक्ता झाले अनलाइनखबरसँग भने,‘मदन भण्डारीका चार श्रीमती र सहकारी ठगी गरेको विषयलाई प्रधानमन्त्रीले उठाएकोप्रति पूर्वराष्ट्रपति भण्डारी अचम्मित देखिनुभयो ।’
आफू र छोरीहरू सहभागी सभामा अहिलेसम्म कतै नउठेको विषय प्रधानमन्त्रीले उठाएको भन्दै भण्डारीले चित्त दुखाएको झाले जानकारी गराए । त्यसबेला सहकारी सञ्चालन नभएको तथ्य सुनाउँदै भण्डारीले प्रधानमन्त्रीको बोलीप्रति असन्तुष्टि व्यक्त गरेकी थिइन् ।
रास्वपा सभापति रवि लामिछाने सहकारीको रकम अपचलनको मुद्दा कारणले कारागारमा रहेको विषयमा संवाद हुँदा प्रधानमन्त्री ओलीले मदन भण्डारीप्रति व्यक्त गरेको अभिव्यक्तिमा समेत कुराकानी भएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीले सहकारीमा समस्या रहेको र रविप्रति गरिएको व्यवहार चित्त नबुझ्ने खालको रहेको बताएकी थिइन् ।
झाले भने, ‘सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति उहाँले सरोकार राख्नुभयो र रवि प्रति सद्भाव छ भन्नुभयो ।’
भण्डारीलाई भेट्न झा उनको निवास बूढानीकलण्ठस्थित भंगाल पुगेका थिए । एक घण्टा संवाद भएको झाले जानकारी गराए ।
नयाँ पुस्ता राजनीतिमा आउनुप्रति भण्डारीले खुसी व्यक्त गरेकी थिइन् । नयाँ पुस्ताबाट राजनीतिमा आउनेहरूका लागि सघाउन तयार रहेको भेटघाटमा भण्डारीले बताएको झाले जानकारी गराए ।
प्रतिक्रिया 4