+
+
Shares

प्रचण्डले प्रश्नसँग किन बिच्किने ?

प्रचण्डजी, मैले प्रश्नहरू त सत्तासीन ओली वा साझेदार देउवातिर केन्द्रित गर्नुपर्ने थियो, तर अघिल्लो साताको एउटा क्षणले मलाई प्रतिपक्षमा बसेको तपाईंंतिरै प्रश्न सोझ्याउनुपर्ने अवस्था आइलाग्यो ।

झलक सुवेदी झलक सुवेदी
२०८२ साउन ४ गते १९:५२

प्रिय कमरेड प्रचण्ड,

त्यहाँ तपाईंं निको–आरामै हुनुहोला । सार्वजनिक गतिविधिमा सक्रिय रहिरहनुभएको सञ्चारमाध्यमबाट देखिरहेकोले कुनै गम्भीर स्वास्थ्य समस्या छैन र तपाईंं अरू धेरै समय सक्रिय रहन सक्नुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।

मलाई थाहा छ, एउटा तीव्र गतिशील जीवन, ३६ वर्षदेखि पार्टीको नेता र पछिल्लो झण्डै १९ वर्षदेखि संसद् र सरकारको नेतृत्व गर्नुपर्दा पनि नथाकिकनै हरदम केही गरिरहन रुचाउने सक्रियताका बीच तपाईंंका पनि आफ्नै दु:ख छन् । युद्धका कतिपय सपनाहरू घाइते छन् र ती सपना बोकेर युद्धमा जाँदा शहीद भएका र शहीद हुन नसकेर जीवित रहेका जिउँदाहरू पनि कतिपय घाइते नै छन् जसले तपाईंंलाई सपनामा आएर गुनासो गर्दा हुन् । उनीहरूप्रति तपाईंंको जिम्मेवारी छ र त्यो बोझ बाँड्न कमरेड किरण, कमरेड लालध्वज, कमरेड बादलहरू तपाईंंसँग छैनन् । तपाईंंका सबैभन्दा प्रिय र दु:ख–सुखका साथी पोष्टबहादुर बोगटी पनि रहनुभएन । धेरै सहयात्री तपाईंंलाई छाडेर हिंडे । जो सँगै छन् र तपाईंंले हुर्काएका र अवसर दिएकाहरू हुन् ती पनि अब गुनासो मात्रै गर्दा हुन् । शक्ति र सत्ताका कारण कुनै समय मित्र भएकाहरू पनि शक्ति कमजोर भएपछि टाढिए होलान् । के गर्नु यो संसारको रितै यस्तो छ !

आफ्नै परिवारमा पनि तपाईंंले असमयमा व्यहोरेका बज्रपात छन् । जीवन सँगिनी सीता, छोरी ज्ञानु तथा छोरा प्रकाशको असामयिक निधन तपार्इंले व्यक्तिगत रूपमा व्यहोरेको जीवनको सबैभन्दा ठूलो पीडा थियो । सत्तरी कटेको उमेर र पारिवारिक पीडाको अवस्थामा पनि तपाईंं एउटा तन्नेरी झैं देशका पहाड–पर्वत र तराई–भावर डुलिहिंड्नुभएको समाचारहरू देख्दा खुशी लाग्छ । म तपाईंंको सुस्वास्थ्य, दीर्घ र सक्रिय राजनीतिक जीवनको लागि शुभकामना व्यक्त गर्छु ।

देशको राजनीतिमा चित्त दु:खाउनुपर्ने र रिस उठ्नुपर्ने अनेक सन्दर्भ छन् । न्यायालय नै वर्तमान संविधानलाई मुसाले झैं काटकुट पार्न लागेको जस्तो देखिएको छ । संसद्का निर्वाचित प्रतिनिधि र शासन सम्बन्धी विशेष अधिकारलाई भृत्यतन्त्रले वीर्यहीन बनाइदिएको छ । कार्यपालिकामा अझै पनि गोर्खा दरबारका भारदारहरूको शासकीय परम्परालाई मलजल गर्ने संरचना र संस्कृति मौलाइरहेको छ ।

तपाईं आखिर त्यताबाट पनि पीडित नै हुनुहुन्छ भन्ने मेरो अनुमान छ । कस्तो दु:खले ल्याएको संविधानसभा र त्यसले बनाएको संविधानलाई बिरालोले मुसो खेलाउँदा झैं खेलाएर कमजोर बनाउने काम आखिर अनेक दरबारहरूबाट भइरहेकै छ । तपाईं त्यसकै सुर्ता–पीरमा हुनुहोला, यता पत्र लेखेर चित्त दु:खाउन पटक्कै मन थिएन ।

प्रतिपक्षमा रहेको प्रचण्ड त्यसमाथि संसद्मा तेस्रो र कमजोर उपस्थिति भएको शक्तिको नेता । तपाईंमाथि प्रश्न उठाउनु या विरोध गर्नु मेरो लेखकीय धर्म विपरीतको कुरा थियो । यतिबेला देशमा भइरहेका अनेक बेथितिका लागि प्रश्न उठाउनुपर्ने त प्रधानमन्त्री केपी ओली र सबैभन्दा ठूलो पार्टीका सभापति र सत्तारुढ गठबन्धनका नेता शेरबहादुर देउवा नै हुन् ।

तर असार १९ गते प्रज्ञा प्रतिष्ठानमा भएको एउटा कार्यक्रममा संयोगले हामी दुई जना एउटै मञ्चमा बोल्नु परेको र त्यसक्रममा मैले भनेका कुराले तपाईंलाई प्रचण्ड रिस उठाएको देखे–सुनेपछि मेरो मन बेचैन भएको छ । मप्रति र तपाईंकै शब्दमा ‘वामपन्थी बुद्धिजीवी’ (आइन्दा यस्तो शब्द मेरा लागि प्रयोग नगरिदिनुहोला । यसको भारले थिचिएर मेरो ढाडै कुप्रिन थालिसक्यो) तपाईंले व्यक्त गरेको आक्रोश देखे–सुनेपछि यो पत्र लेख्न बाध्य भएको हुँ ।

त्यत्रो युद्ध हाँकेको, गणतन्त्र स्थापना र शान्ति प्रक्रियाको नेतृत्व गरेको, देशको तीन तीन पटक प्रधानमन्त्री भएको मान्छे एउटा सधैं भुइँमै उभिइरहेको सामान्य व्यक्तिका प्रश्नसँग किन तर्सनु परेको हो ?

फेरि संयोग कस्तो पर्न गयो भने उक्त मञ्चमा कमरेड ईश्वरचन्द्र ज्ञवाली पनि सँगै थिए जसले कुनै बेला म लगायतका केही साथीलाई लक्षित गरेर (सम्भवत: नामै लिएर) प्रचण्डका दलाल भनेर सार्वजनिक रूपमा लेखै लेखेका थिए । वैचारिक रूपमा म जहाँको त्यहीं छु, सार्वजनिक पोजिसन बदलेको छैन । तर अहिले शायद ईश्वरचन्द्र तपाईंसँग सहयात्रामा छन् र मप्रति तपाईं उनै ज्ञवालीले जस्तै लाञ्छनायुुक्त शब्द पनि प्रयोग गर्न थाल्नुभएछ । संयोग पनि कस्तो भने तपाईं ज्ञवालीको दाहिनेतिर हुनुहुन्थ्यो र म ज्ञवालीको पनि देव्रेतिर । के भन्नुभएको थियो भन्ने कुरा निश्चित गर्न उक्त दिनको आफ्नो अभिव्यक्तिको रेकर्ड सुन्नुहोला । म यहाँ त्यसको पुनरुक्ति गरेर तपाईंलाई लज्जित गर्न चाहन्नँ ।

यो तपाईंले मलाई समेत लक्षित गरेर पहिलो पटक पोखेको आक्रोश थिएन । यस अगाडि तपाईंको पार्टीका स्थायी समिति सदस्य कमरेड राम कार्र्कीले लेखेको पुस्तकमा चर्चा गर्ने समयमा पनि तपाईंले अलिकति राम कार्कीलाई र धरै म(हरू)लाई लक्षित गरेर निकै आक्रोश पोख्नुभएको थियो । आखिर प्रचण्ड मसँग किन रिसाउँछन् भन्ने प्रश्न मेरो मनमा उठ्ने नै भयो ।

उक्त कार्यक्रममा मैले भनेका र तपाईंलाई नरुचेका विषयमा मात्र केन्द्रित भएर यो पत्रको पेट भर्ने जमर्को गर्नेछु ।

राम कार्कीको पुस्तक विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ को विमोचन कार्यक्रम बिम्बात्मक थियो । शहीद परिवारका सदस्यहरूले विमोचन गरेका थिए ।

मेरो एउटै तर्क थियो हामी जसरी समाजवादको कुरा गर्दैछौं त्यसरी न समाजवाद आउँछ न पूँजीवाद । यसरी त क्रोनी या तपाईंको भाषामा नोकरशाही र दलाल पूँजीवादको विकास मात्र हुने जोखिम छ । केही क्षेत्रमा अवश्य सुधार आएको छ, पूर्वाधारमा विकास हुँदैछ, समावेशी र समानुपातिक प्रतिनिधित्व तथा सक्रिय स्थानीय तहका सरकारहरूले देशमा केही हुन्छ भन्ने आशा पनि देखाउँछन् । तर, नेकपा माओवादी र नेकपा एमाले जसले सरकारको नेतृत्व गरे पनि आम रूपमा नेपाली समाज पुरानै लयमा हिंड्दैछ जसलाई सच्याउन भनेर यी दलहरू हिंडेका थिए, उनीहरूमा धेरै उदारवादी झुकाव आएको देखिन्छ ।

तपाईं त्यतिबेला प्रधानमन्त्री हुनुहुन्थ्यो । तर मेरो विषय तपाईंको सरकारको मूल्यांकन गर्नु र दैनिक काममा यो भयो, त्यो भएन भन्नु थिएन । बरु समग्रमा २०५१ पछि र खासमा २०६५ पछिका कम्युनिष्ट पार्टी नेतृत्वका सरकारहरूले लिएको बाटोले हामीलाई समाजवादतिर नजिक लैजान्छ कि यतै रलमल्याउँछ भन्ने विषयमा चर्चा गर्नु थियो । राम कार्कीको पुस्तक विकल्पको विषय नै त्यस्तै थियो ।

तर तपाईं त त्यतिबेला पनि जंगिनुभयो र ‘कथित वामपन्थी बुद्धिजीवीहरू’ माथि खनिनुभयो । नकारात्मक कुरा मात्र गर्ने सकारात्मक कुरा नदेख्ने, आलोचना बाहेक केही नगर्ने भन्दै गाली गर्न थाल्नुभयो । तपाईंको आक्रोशको पारो देखेर त्यतिबेलै अचम्म लागेको थियो ।

सुन्दैछु पार्टी कमजोर हुँदै जाँदा तपाईं पनि कमजोर हुँदै जानुभएको छ । तपाईंले त्यत्रो अवसर दिएका नारायणकाजीले समेत तपाईंलाई टेर्न छाडे रे ! यस्तो अवस्था आउनुका कारणबारे आत्मसमीक्षा गर्नुस् । यस्तो समस्याको समाधान जग्गी वासुदेवका छद्म विज्ञानमा आधारित वकवासमा अवश्य भेटिने छैन

मैले नीतिगत रूपमा नेपालका कम्युनिष्ट पार्टीहरू दक्षिणपन्थतिर ढल्कन खोजेको, स्वतन्त्र र औद्योगिक पूँजीवादको विकासमा ध्यान पनि दिन नसकेको र आफ्ना नीति र व्यवहारका बीच तालमेल गुमाउँदै गएको भनेर आम कुरा गर्न खोजेको थिएँ । मार्क्सवादको विद्यार्थीका नाताले सिद्धान्तको सापेक्षतामा अहिलेका व्यवहारको समीक्षा गर्नु, यसमा सुधारका सम्भावनाहरूको खोजी र त्यसका लागि कम्युनिष्ट पार्टीको नेतृत्वलाई दबाब दिनु मैले आफ्नो जिम्मेवारी ठानेको थिएँ । एमाले अलि पहिलेदेखि र तपाईंहरू पनि सरकारमा हुँदा अलिअलि दक्षिणपन्थी विचार र क्रोनी क्यापिटालिष्ट क्लाससँग लसपसमा लागेको देखिन थालेपछि मैले वामपन्थी कोणबाट प्रश्न उठाउनु आवश्यक ठानेकै हो ।

रियल पोलिटिक्समा हुने सम्झौता र कार्यनीतिक दाउपेचका सीमा तपाईं जति नबुझे पनि धेरथोर म पनि बुझ्छु । रियल पोलिटिक्समा गरिने र गरिएका यस्ता सम्झौतालाई खारेज गर्न पनि सकिन्न । तर यस्तो सम्झौता कार्यनीतिक हो कि सम्झौता नै सिद्धान्त बनेको छ भन्ने प्रश्न भने उठ्छ नै ।

विचारधारात्मक पक्षबाट देव्रेतिर उभिएर तपाईंहरूलाई खबरदारी गर्दा तपाईंहरूले बनाउने नीति र योजनामा क्रोनीहरूलाई छाडेर औद्योगिक पूँजीपति वर्गलाई प्रोत्साहित गर्न सहयोग हुन्छ कि, गरिखाने वर्गको पक्षमा नीतिहरू बन्छन् कि भन्ने मात्र मेरो आशा हो ।

र अहिले पनि म यस्तो होस् भन्ने चाहन्छु । ओली होउन् या प्रचण्ड, झलनाथ होउन् कि बाबुराम जसले सरकारको नेतृत्व गर्छ त्यसप्रति म निरन्तर प्रश्नको झटारो हानिरहन्छुु । आवश्यक परेको बेला तपाईं र अरू सबैको समर्थनमा पनि पर्याप्त शब्द खर्च गरेको छु ।

तपाईंलाई १३ वर्ष पहिले एकेडेमीमै भएको एउटा कार्यक्रम (मलाई प्रदान गरिएको किरात एकेडेमी पुरस्कार वितरण कार्यक्रम) को सम्झना हुनुपर्छ जहाँ मैले भनेको थिएँ– सरकारमा भएको प्रचण्डलाई ढुंगा हानुँ हानँु झैं लाग्छ, प्रतिपक्षमा भएको प्रचण्डलाई साथ दिन मन लाग्छ ।

लामो समय कम्युनिष्ट आन्दोलनमा आबद्ध रहेको र मार्क्सवादी स्कूलको विद्यार्थी भएकोले द्वन्द्वात्मक रूपमा हरेक घटना र वस्तुलाई हेर्नु र मनमा लागेका कुरा भन्नु म आफ्नो सामाजिक जिम्मेवारी ठान्छु । सामयिक टिप्पणीहरू गरेर जीविका गर्ने या लेख्ने व्यसन भएको सचेत नागरिकका रूपमा मलाई फोरमहरू प्राप्त छन् र आफ्ना कुरा निर्धक्क राख्न स्वतन्त्र छु । यसो गर्दा म सन्दर्भ र कार्यसूचीका आधारमा तपाईंहरूका कामको समर्थन र बचाउ पनि गर्छु र विरोध र आलोचना पनि ।

(केही समययता नेकपा एमालेका अध्यक्ष कमरेड केपी ओली आलोचनात्मक भन्ने शब्दसँग निकै झोक्किन थाल्नुभएको छ । उहाँ अब विश्लेषणात्मक हुनुपर्छ आलोचनात्मक बढी भयो, नकारात्मक बढी भयो भन्दै हप्कीदप्की गर्न थाल्नुभएको छ । म उहाँलाई एकपटक मार्क्स या लेनिनतिर फर्कन अपिल गर्छु जसको थालनी नै क्रिटिक्सबाट भएको थियो । क्रिटिक्स अफ जर्मन आइडियोलोजी होस् या गोथा कार्यक्रमको आलोचना । गद्दार काउत्स्की होस् या वामपन्थी बालरोग । के अब कोही आलोचना गर्नुपर्ने पात्र, प्रवृत्ति र सिद्धान्त या विचारहरू सकिएका हुन् ? तपाईंहरू किन यसरी प्रश्न र आलोचनाबाट तर्सिनुभएको हो भन्ने बुझ्न मलाई गाह्रो परिरहेको छ । शायद सत्ताको सार्वभौम चरित्र नै यस्तो हुन्छ भनेर अलिअलि चित्त बुझाउँछु ।)

म कहिल्यै पनि माओवादी पार्टीको नेता, कार्यकर्ता र सदस्य  रहिनँ । तपाईंको पार्टीमा कहिल्यै कुनै भूमिकामा रहेको पनि थिइनँ । तपाईंप्रति प्रश्न उठाउनै नमिल्ने शपथ खाएको पनि छैन । हामी दुवैलाई एकअर्काका योग्यता, क्षमता, इतिहास र दु:ख–सुख धेरथोर थाहा नभएका पनि छैनन् ।

यत्रो मानप्रतिष्ठा प्राप्त गरिसक्नुभयो, शक्ति अभ्यास पनि गर्नुभयो । अब योभन्दा ठूलो कुनै कुरा पाउनु र गुमाउनु पनि के नै बाँकी छ र तपाईंले ? अब केही वर्ष हो तपाईं सक्रिय हुने, बहत्तर वर्ष त भइनै सक्नुभयो क्यारे !

माओवादी अध्यक्ष र प्रधानमन्त्री प्रचण्डसँग एक समय नेपाली समाज रूपान्तरणका केही जण्ड कार्यसूची थिए । हाम्रा बीच जे–जति भेटघाट भए त्यसकै कारणले भए । जे–जति पक्षधरता साथ लेख्ने–बोल्ने गरियो त्यो पनि तपाईं व्यक्ति प्रचण्ड, पुष्पकमल दाहाल या माओवादी अध्यक्षका पक्षमा थिएनन् तिनै कार्यसूचीका पक्षमा थिए ।

अहिले तपाईंसँग ती कार्यसूची छैनन् जे छन् ती हिङ नभएर हिङ बाँधेको टालो जस्ता लाग्छन् । पहिले पहिले तपाईंलाई सार्वजनिक जीवनका परिचित व्यक्तित्वको समर्थन र सहयोगको जुन आवश्यकता थियो त्यो पनि अब रहेन । यसैले पनि हामी बीचका संवाद प्रत्यक्ष भन्दा अप्रत्यक्ष बढी हुने गरेका छन् आफ्ना–आफ्ना अभिव्यक्तिहरूका माध्यमबाट ।

यत्ति हो कि यस्ता घटनाले मात्रै हाम्रा बीच संवाद र सम्बन्ध टुटिहाल्नुहुँदैन । म त यस मामिलामा सधैं खुलै हुन्छु, तपाईंसँग नभेट्नुपर्ने कुनै आग्रह पालेर बस्दिनँ ।

म जान्दछु कि तपाईंलाई मप्रति झुकाव राख्नुपर्ने या खुसामद गर्नुपर्ने फिटिक्कै खाँचो छैन । तर प्रधानमन्त्री भइसकेको र देश खाएर शेष भएको युद्धको सुप्रिमोले हामी जस्ता मार्क्सवादी (यसमा को कति मार्क्सवादी भन्ने बहस हुनसक्छ) विचारका आधारमा सामान्य लेखापढी गर्नेहरूसँग आक्रोशित हुनुपर्ने या रिस उठे पनि हप्कीदप्की गर्नुपर्ने केही कारण पनि मैले भेट्टाउन सकेको छैन ।

त्यत्रो युद्ध हाँकेको, गणतन्त्र स्थापना र शान्ति प्रक्रियाको नेतृत्व गरेको, देशको तीन तीन पटक प्रधानमन्त्री भएको मान्छे एउटा सधैं भुइँमै उभिइरहेको सामान्य व्यक्तिका प्रश्नसँग किन तर्सनु परेको हो ? प्रश्न पनि तपाईंप्रति व्यक्तिगत रूपमा लक्षित थिएनन् न त तपाईंको मानमर्दन गर्ने गरी न त तपाईंले कुनै समय समाज रूपान्तरणमा गर्नुभएको योगदानको अवमूल्यन गर्ने गरी उठाइएको थियो ।

तपाईंको नेतृत्वमा भएको युद्ध र त्यसले नेपाली समाजलाई रूपान्तरण गर्न खेलेको भूमिकाको, त्यसले अघि सारेका कार्यसूचीको ऐतिहासिक महत्वको यथोचित प्रशंसा गर्दै धेरै शब्द खर्चने पनि हामी नै थियौं, अझै पनि त्यसो गरेर बेठिक भयो भन्ने लाग्दैन । तपाईंहरूको बदलिंदो जीवनशैली र वैचारिक डेभिएशनका बाबजुद इतिहासमा खेलेको भूमिकाको सम्मान नगर्नुपर्ने कुनै खाँचो पनि छैन ।

प्रज्ञा भवनमा भएको कार्यक्रममा तपाईंले मेरा प्रश्नको उत्तर सिधा नदिएर स्पष्टीकरणमा धेरै शब्द खर्चनुभयो । भएकै कुराको व्याख्या त गर्नुभयो तर ती सबैमा तपाईं अत्यन्त कमजोर सुनिनुहुन्थ्यो, अत्यन्त प्रतिरक्षात्मक । उदारवादी राजनीतिक फ्रेमभित्रबाट सुधार गर्दै समाजवादमा जान सकिन्छ भन्ने तपाईंका तर्कहरू थिए । तिनले जण्ड सुधारको माग समेत गर्दैनथे ।

तपाईं जे कुराको बचाउ गर्न खोज्दै हुनुहुन्थ्यो त्यसलाई नेपालको क्रोनी क्यापिटालिष्ट क्लास, उच्च जातीय पहाडे संस्कृतिमा आधारित महेन्द्रीय राष्ट्रवाद तथा हिन्दुवादीहरू सहित पुरानै सत्ताधारीहरूले धेरै हदसम्म हाइज्याक गरिसकेका छन् भन्ने पनि तपाईंलाई ख्याल आए जस्तो लागेन ।

पुराना मित्र दुर्गा ढकालको समाजवादी दर्शनको रूपरेखा नामको पुस्तकको चर्चा गर्दा मैले हाम्रो समाजको वर्तमान चरित्र, त्यसको वर्ग शक्तिको विन्यास र हाम्रो सामाजिक क्रान्तिका आधारभूत पक्षहरूबारे आफ्ना भनाइ राखेको थिएँ । पुस्तकको विषयवस्तुले नै यस्तो बहसको माग गर्थ्यो (त्यही दिन थाहा भयो लेखक तपाईंको पार्टीको केन्द्रीय सल्लाहकार पनि हुनुहुँदोरहेछ) । त्यसक्रममा मैले तपाईंसँग निम्न प्रश्न उठाएको थिएँ :

  • तपाईं अहिले गाउँ, शहर जता गए पनि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणालीले मात्र देशमा राजनीतिक स्थिरता र विकास हुने बताउने गर्नुहुन्छ । ठिक छ राजनीतिक दृष्टिले यो सही पनि हुनसक्छ (यसबारेमा असार ३० गते संसद्मा बोल्दा केही स्पष्ट पनि पार्नुभयो) यसबारे मेरो अहिले कुनै टिप्पणी छैन । आजको नेपाली जनताले खोजेको कुरा यता छन् : अर्थतन्त्रमा सुधार होस्, रोजगारी पाइयोस्, रोजगारी पाउनेले सहज रूपमा जीवनयापन गर्न पुग्ने न्यूनतम ज्याला पाउन, ओखतीमुलोको व्यवस्थापन गर्न नसकेर परिवारको घरखेत या बचत सकेर पनि मृत्यु अँगाल्नुपर्ने अवस्था कसैले भोग्नु नपरोस्, दलालहरूले यत्रतत्र नठगुन्, मिटरव्याजीको ऋण खानु नपरोस्, राज्यले तोकेको सेवा आम जनसाधारणले सहज रूपमा उपभोग गर्न पाउन्, सुशासन होस् । तपाईंले आज आम मानिस किन यस्ता कुरा नभएर पीडित हुनुपरेको हो, यसको लागि सरकारले के गर्नुपर्ने र तपाईं सरकारमा हुँदा के गर्नुभयो, अब सरकारमा जानुभयो भने यस्तो समस्यालाई कसरी ठिक गर्नुहुन्छ भन्ने कुरा भन्नुपर्थ्यो । तपाईं धेरै समय प्रधानमन्त्री बन्नुभयो । पछिल्लो १८ महिना प्रधानमन्त्री हुँदा कुन–कुन नीतिगत काम गर्न या कानून बनाउन खोज्दा संसद्ले अवरोध गरेकाले काम गर्न सकिएन र शक्तिशाली हुँदा तपाईंले फेरि काम गर्नुहुन्छ भन्ने विश्वास कसरी गर्ने ? आम जनतालाई तपाईंको संविधान संशोधनको प्रस्तावसँग के कारणले किन सरोकार हुनुपर्ने हो ?
  •  दोस्रो प्रश्न थियो नेकपा एमाले र माओवादी केन्द्र जस्ता कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बन्दा पनि हाम्रो देशमा स्वतन्त्र राष्ट्रिय औद्योगिकीकरण हुन किन नसकेको ? कम्युनिष्ट या ‘वामपन्थी’ प्रधानमन्त्रीहरूले त्यसतर्फ के कस्ता कदम चाले ? बरु जो प्रधानमन्त्री भए पनि कतै न कतै सानो ठूलो क्रोनी क्यापिटालिष्ट वर्गलाई काखी च्याप्ने, र अनुचित लाभ दिएर संरक्षण गर्ने गरेको देखिन्छ । मैले स्पष्ट भनेको थिएँ यस्तो प्रवृत्ति सबै प्रधानमन्त्री र सरकारहरूले देखाएका छन् यसमा धेरै–थोरैको मात्रात्मक भिन्नता अवश्य छ ।
  • अहिलेको ‘वामपन्थी’ नेतृत्वले भन्न त समाजवाद भन्छ तर लिएका नीतिले यस्तो भनाइलाई समर्थन गर्दैनन् । म स्पष्ट भन्छु कि हामीले नेपाली समाजलाई ख्याउटिएको पूँजीवादी समाजबाट विकसित औद्योगिक समाजतिर लैजाने नीति लिनुपर्छ । समाजवाद भनेर पूँजीवादको अभ्यास गर्दा अस्पष्टताहरू भए । अहिलेकै विश्व शक्ति सन्तुलनको अवस्थामा तत्काल समाजवादतिर जान सकिने पनि होइन । त्यसो भएर स्पष्ट भनौं हामी अहिले खास चरणसम्म पूँजीवादकै विकास गर्ने नीतिमा प्रतिबद्ध छौं । यस्तो पूँजीवाद प्रगतिशील चरित्रको हुनेछ र निश्चित समयपछि हामी समाजवादतिर जानेछौं । यति किन भन्न नसक्ने ? कि समाजवादतिर योभन्दा भिन्न तरिकाले जाने वैकल्पिक बाटो अर्थात् जनविद्रोहतिरबाट जाने हो र ?
  • अर्को प्रश्न थियो केही समय यता नेपालमा समाजवादी या कम्युनिष्ट विचार प्रणालीले नेपालको बौद्धिक विमर्शलाई गलत दिशामा लगेको, अविकासको कारण बनेको भन्दै कम्युनिष्ट, मार्क्सवादी र वामपन्थीहरूमाथि आक्रमण भइरहेको छ । २०७२ को संविधानका व्यवस्थाहरूबाट तिलमिलाएका उदारवादी र दक्षिणपन्थीहरू यस्तो आक्रमण गरिरहेका छन् । त्यसलाई प्रतिवाद गर्न हामीसँग के तर्कहरू छन् ? किन आफूलाई मार्क्सवादी भन्ने पार्टी र तिनका नेता यस्तो वैचारिक आक्रमणको प्रतिवाद गरिरहेका छैनन् ? हामी कस्तो संस्कृति निर्माण गर्दैछौं कि मानिसहरू विचारधारात्मक बहस अघि बढाउन सक्रिय छैनन् ?
इतिहासले तपाईंंको सम्झना एउटा प्रधानमन्त्रीका रूपमा भन्दा पनि युद्धको कमाण्डरका रूपमा र युद्ध र शान्तिप्रक्रिया मार्फत समाज रूपान्तरणका जण्ड कार्यसूचीलाई लागू गर्न गरेको प्रयासका लागि गरोस् भन्ने मेरो शुभेच्छा छ ।

मसँग उक्त मन्तव्यको रेकर्ड त छैन तर मोटामोटी यही आशयका प्रश्न मैले गरेको थिएँ र आफ्ना तर्कहरू पनि राखेको थिएँ । यी प्रश्नहरू कुन-कुन र किन गलत थिए ? तपाईं झोक्किनुपर्ने प्रश्न हुन् र यी ?

तपाईंले मञ्चमा गएपछि सरल रूपमा यी प्रश्नको उत्तर दिन या यी प्रश्नलाई इग्नोर गरेर आफ्ना कुरा राख्न सक्नुहुन्थ्यो । तर तपाईंं त सुरुमै आक्रोशित र अमर्यादित रूपमा प्रस्तुत हुनुभयो । यी वामपन्थी बुद्धिजीवीहरू निराशाको कुरा गर्छन्, मैले तीन पटक प्रधानमन्त्री हुँदा गरेका र गर्न चाहेका सकारात्मक कुरा देख्दैनन्, लेख्दैनन् । यो संविधानले व्यवस्था गरेका धेरै कुराले समाजवादको आधार तयार पार्ने बाटो प्रशस्त गरेका छन् । त्यतातिर ध्यान नदिने खाली विरोध र निराशाको कुरा गर्ने भन्ने तपाईंको मन्तव्यको सार थियो (यसमा पनि) र कथित वामपन्थी बुद्धिजीवीमा रहेको विचार र व्यवहारका बीच विरोधाभास भन्दै आपत्तिजनक लाञ्छना पनि लगाउनुभएकोे थियो ।

यस अगाडि डबलीमा राम कार्कीवाला कार्यक्रममा पनि दाह्रा किटेरै तपाईंले हाम्रो आलोचना गर्नुभएको थियो र खासमा त्यतिबेला त पुस्तक पढ्नेहरूलाई निन्दा गर्दै आक्रोश व्यक्त गर्नुभएको थियो । एमाले अध्यक्ष कमरेड ओली र माओवादी अध्यक्ष कमरेड प्रचण्डको पुस्तक अध्ययन, ज्ञानको मीमांसाका प्रति देखिएको समान घृणा संयोगको कुरा मात्र थिएन । यस्ता कुरा सुन्नुपर्दा तपाईंहरूको व्यक्तित्वप्रति दया पलाउँछ । तपाईंहरूले पार्टी र सरकारको भौतिक सत्तामाथि नियन्त्रण त गर्नुभएकै छ अनि आम वृत्तको वैचारिक मीमांसामाथि पनि नियन्त्रणको यो हदसम्मको प्रयासले स्तालिनकालीन सोभियत शासनलाई सम्झाउँछ ।

खासमा तपाईंलाई सार्वजनिक रूपमा यस्ता प्रश्न गर्ने मलाई कुनै रुचि थिएन । तर तीनपटक प्रधानमन्त्री भएको र अझै पनि देशको नेतृत्व गर्ने दाबी गरिरहेको तपाईं या एमाले अध्यक्ष कमरेड ओलीलाई नगरेर यी प्रश्न अरू कसलाई गर्नु ? मार्क्सवाद, लेनिनवादको अनुयायी र त्यसको नेपाली नेता दाबी गरिरहनुभएको नाताले यी प्रश्नहरूको सिद्धान्तनिष्ठ उत्तर दिने र हामीहरूलाई आफ्ना विचारबाट प्रभावित गरेर सँगै लिएर हिंड्नुपर्ने तपाईंहरूले नै होइन र ?

यही शहरमा भएकोले कुनै बेला हामी एउटै मञ्चमा फेरि पनि ठोक्किने सम्भावना छ । प्रज्ञा प्रतिष्ठान सहमत भयो भने फेरि हाम्रो भेट त्यहीं हुनेछ । फेरि दहल–फसेल गर्दै जाउँला । हामी हाम्रा सबै विचार या मतमा सहमत नहौंला, हुन सम्भव पनि छैन । हाम्रो स्कुलिङ फरक छ, इतिहास र वर्तमानमा भूमिका पनि फरक छ । त्यसैले सबै कुरामा सहमत हुनु असम्भव कुरा हो । तर, असहमत हुन सहमत भएर मित्रवत् रहन सम्भव छ भन्नेमा म विश्वस्त छु ।

सुन्दैछु पार्टी कमजोर हुँदै जाँदा तपाईं पनि कमजोर हुँदै जानुभएको छ । तपाईंले त्यत्रो अवसर दिएका नारायणकाजीले समेत तपाईंलाई टेर्न छाडे रे ! यस्तो अवस्था आउनुका कारणबारे आत्मसमीक्षा गर्नुस् । यस्तो समस्याको समाधान जग्गी वासुदेवका छद्म विज्ञानमा आधारित वकवासमा अवश्य भेटिने छैन ।

यत्रो मानप्रतिष्ठा प्राप्त गरिसक्नुभयो, शक्ति अभ्यास पनि गर्नुभयो । अब योभन्दा ठूलो कुनै कुरा पाउनु र गुमाउनु पनि के नै बाँकी छ र तपाईंले ? अब केही वर्ष हो तपाईं सक्रिय हुने, बहत्तर वर्ष त भइनै सक्नुभयो क्यारे !

वृद्धावस्थातिर ढल्कँदै हुनुहुन्छ । पार्टीमा उत्तराधिकारी तयार हुने गरी जनवादी वातावरणमा नयाँ पिंढीका सदस्यहरूलाई प्रतिस्पर्धा गर्न दिनुस् र अभिभावकत्व लिनुस् भन्ने तपाईंलाई नितान्त अरुचि लाग्ने सुझाव दिन चाहन्छु । त्यसोगर्दा सशस्त्र युद्धबाट स्थापित तपाईं र तपाईंलाई साथ दिएर जीवन आहुति दिने आम मानिसको सपनाको धरोहर बाँकी रहनेछ । अन्यथा केही वर्षमा तपाईंको सारा योगदान कुनै कुनै गैरसरकारी अभिलेख र शहीद तथा घाइते परिवारका स्मृति–दंशमा अनि अरूले नै लेखिदिएको या परिभाषित गरिदिएको इतिहासमा बाहेक कतै नभेटिने गरी मेटिन सक्छ ।

इतिहासले तपाईंंको सम्झना एउटा प्रधानमन्त्रीका रूपमा भन्दा पनि युद्धको कमाण्डरका रूपमा र युद्ध र शान्तिप्रक्रिया मार्फत समाज रूपान्तरणका जण्ड कार्यसूचीलाई लागू गर्न गरेको प्रयासका लागि गरोस् भन्ने मेरो शुभेच्छा छ ।

र, प्रश्नहरूबाट तर्सेर खोलभित्र पस्ने बाटो नलिनुहोला । प्रश्न नछिर्ने कुनै रक्षाकवच अहिलेसम्म मान्छेले आविष्कार गर्न सकेको छैन । प्रश्न गरेरै तपाईं यो ठाउँसम्म आउनुभएको हो, अब तपाईंमाथि पनि प्रश्न गर्न दिनुस् । म नभए अर्कोले प्रश्न उठाउने नै छ । तपाईंं जस्तो युद्धदेखि शान्तिसम्म अनेक दाउपेच जान्ने चाणक्य जस्तो चतुर खेलाडीलाई म जस्तो सामान्य मान्छेले ज्ञानगुनका कुरा सुनाउनु छोटी मुँह बडी बात हुन जान्छ भन्ने जान्दा जान्दै पनि यति भनिहालें । बाँकी भन्ने कुरा आए भने या रहे भने भेट्ने मौका मिल्दा गरौँला या फेरि यस्तै पत्र लेखौंला ।

यत्ति लेख्दै पत्र बन्द गर्ने अनुमति चाहन्छु ।

तपाईंको शुभचिन्तक

झलक सुवेदी

लेखक
झलक सुवेदी

झलक सुवेदी राजनीतिक विश्लेषक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?