
५ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गर्नसक्ने तत्वहरूबाट जोगिएर अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
सोमबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले पार्टी बाहिर र भित्र विभिन्न तत्वहरू विभाजित गर्नेगरी लागेको भन्दै त्यसबाट जोगिन आग्रह गरे ।
‘हामी नितान्त पार्टीको आन्तरिक छलफलसँग जोडिएर छलफल गर्छौं । हामी पार्टीलाई वैचारिक हिसाबले गन्तव्य स्पष्ट गरेर पार्टीलाई अघि बढाउनेगरी लाग्नुपर्नेछ,’ उनले भने, ‘पार्टीका बाहिर र भित्रि तत्वलाई चलाएर विभाजित गर्ने तत्वहरू आए । त्यो अहिले पनि हुनसक्छ । त्यसलाई जोगाएर अघि बढ्नुपर्छ ।’
साथै, उनले अहिले पार्टी रुपान्तरणको बेला भएको र सानातिना अन्तरविरोधमा नफस्न पनि आग्रह गरे ।
‘यो पार्टी रुपान्तरणको निम्ति, जनताको निम्ति बनेकाले सानातिना अन्तरविरोधमा नफस्न केन्द्रीय कमिटीका नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनले हिजो पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष ओलीको भेटवार्ताका क्रममा धेरै कुरा खुला र स्पष्ट ढंगबाट भएको पनि जानकारी गराए ।
‘नेपालको राष्ट्रिय राजनीतिक कसरी अघि बढेको छ, नेकपा एमाले कसरी निशाना बनिरहेको छ, नेकपा एमालेलाई विभाजित गर्ने तत्व कसरी सलबलाइरहेका छन् । त्यसपछि विधान अधिवेशनको तयारीका बारेमा खुला छलफल गर्नुभएको छ । हाम्रा बीचमा कुनै मतभेद छैन भन्नुभएको छ,’ गौतमले जानकारी गराए ।
केन्द्रीय कमिटीका सदस्यहरूलाई ओलीले विधान संशोधनसम्बन्धी मुद्दामा पनि आ–आफ्ना धारणा राख्न भनेका छन् ।
‘विधान संशोधनसम्बन्धी मुद्दामा पनि आफ्ना राय राख्नुहोस् भन्नुभएको छ । यस्ता प्रश्नहरूमा गहन छलफल गर्नुपर्छ भन्ने विषयमा उहाँ क्लियर हुनुहुन्छ,’ गौतमले भने ।
प्रतिक्रिया 4