
५ साउन काठमाडौं । विसं २०६१ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) भर्ना भएका वीरेन्द्र थापालाई एसपी बढुवामा पाँचौं पटक पनि छुटाइएको छ ।
पाँचौं पटकसम्म थापालाई बढुवामा छुटाउँदा उनीभन्दा जुनियर सात जनालाई एसपीमा बढुवा गरिएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत रहेका डीएसपी थापा अहिलेको बढुवा सूचीको प्रतिस्पर्धामा तेस्रो नम्बरमा थिए ।
उनकै ब्याचका अनिल कुमार खड्का, दीपेन्द्र पञ्जियार, महेश थापा र महेन्द्र नेपाल पनि प्रतिष्पर्धामा थिए । उनीहरू चारै जनासहित उनीहरूभन्दा झण्डै दुई वर्ष जुनियर डीएसपी एसपी बढुवामा सिफारिस हुँदा थापा भने पाँचौँ पटक बढुवामा छुटाइए ।
बढुवामा छुटाइएसँगै २०६१ सालमा इन्स्पेक्टरमा भर्ना भएका उनी नेपाल प्रहरीका एक्ला डीएसपी हुन् । जबकी उनीभन्दा जुनियर २०६२ मा भर्ना भएका इन्स्पेक्टरहरू समेत एसपी बनिसकेका छन् ।
डीएसपी थापालाई छुटाइएको यो पहिलोपटक भने होइन । बढुवाका लागि विसं २०६१ र ०६२ भदौमा इन्स्पेक्टर भर्ना भएका टोलीहरू प्रतिस्पर्धामा थिए । तर डेढ वर्ष सिनियर भएको र कारबाहीमा समेत नपरेका डीएसपी थापा भने बढुवामा छुटाइए । थापा २०७२ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए । त्यसको २ वर्षपछि २०७४ मा डीएसपीमा बढुवा भएका अहिले एसपी बढुवाका लागि सिफारिस हुँदा उनी भने छुटाइए ।
जबकी, अहिले बढुवामा छुटेका थापाकै २०६१ कै ब्याचीहरू करिब साढे तीन वर्ष पहिला नै एसपी भइसकेका थिए । २९ असार २०७९ मा थापासँगै इन्स्पेक्टरमा भर्ना भएका कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्वपीएसओ समेत रहेका कोमल शाहसहितका व्यक्ति एसपीमा बढुवा भएका थिए ।
त्यसपछि पनि चार लटमा डीएसपीबाट एसपी बढुवा हुँदा पनि थापा छुटेका थिए । त्यतिबेला प्रहरी प्रधान कार्यालयले रिक्त दरबन्दी अनुसार सिरियल रुपमा वरियतासमेत नमिचि बढुवा गरेको थियो । प्रहरी प्रधान कार्यालयले वरियता अनुसार बढुवा गर्दा नअटाएको भनेपछि उनीहरू प्रतिस्पर्धाबाट समेत बाहिरिएका थिए ।
सँगैका ब्याचीहरू पाँचौं लटसम्ममा वरियताअनुसार सिरियल रूपमा बढुवा हुँदा छुटेका थापा अहिले फेरि छुटे । यसअघि बढुवा छुटेका थापा भने कारबाही गरेर बढुवा रोक्का गरिएका व्यक्ति भने होइनन् ।
जबकी गत चैतमा मात्रै तत्कालीन आईजीपी वसन्त कुवरले उनलाई उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरेका थिए । त्यतिबेला उनै कुवरले निकालेको बढुवा सूचीमा उनी छुटाइएपछि सान्त्वना दिन भन्दै कुँवरले पुरस्कार दिएर सामसुम पार्ने कोशिस गरेका थिए ।
अहिले फेरि पाँचौं पटक बढुवामा छुटाइएपछि आईजीपी दीपक थापालाई अन्यायलाई ढाकछोप गर्न भन्दै उनलाई प्रहरी वृत्त सिंहदरबारको इन्चार्ज दिएका छन् । वृत्त सिंहदरबारका डीएसपी गंगा थापा तालिमका लागि जर्मनी गएपछि खाली भएका वृत्तको जिम्मेवारीमा जान भन्दै आईजीपी थापाले डीएसपी थापालाई भनेको स्रोतले बताएको छ ।
हरेक पटक बढुवामा छुट्ने त्यसलाई अन्यायलाई ढाकछोप गर्न पुरस्कार र ईन्चार्जको ललिपप देखाएर भुलाउने खोज्ने नेतृत्वको रणनीति देखिन्छ ।
यता आईजीपीको दर्ज्यानी चिन्ह लगाएपछि गत ५ चैतमा बोल्दै दीपक थापाले वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै प्रकारको पीडा दुख भोग्न नपरोस् भन्नेतर्फ हरदम सजग रहने बताएका थिए ।
पहुँचको हैन पद्धतिको थिति बसाल्न आफू हरहमेशा प्रयत्नशील रहने उनको दाबी थियो । तर अहिले भने करिब दुई वर्ष सिनियरलाई छुटाउँदै उनै थापाले बढुवा निकालेका छन् ।
प्रतिक्रिया 4