News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली गायक दीपक थापा दीर्घ मिर्गौला रोगको स्टेज ५ बाट पीडित छन् र उनलाई मिर्गौला प्रत्यारोपण आवश्यक छ।
- उनको उपचारका लागि परिवार र आफन्तहरूले आर्थिक सहयोगको अपिल गरेका छन् र क्यानडास्थित क्याल्गरी मगर एसोसिएसनले गोफन्डमी अभियान सञ्चालन गरिरहेको छ।
- थापाले हप्तामा तीन पटक डायलाइसिस गरिरहेका छन् र उपचार खर्च जुटाउन कठिनाइ भइरहेको छ।
काठमाडौं । नेपाली संगीत क्षेत्रका चर्चित गायक तथा संगीतकार दीपक थापाको उपचारमा सघाउन उनका परिवार र आफन्तले सहयोगको अपिल गरेका छन् ।
‘द प्रिज्म’ ब्यान्डका सदस्यसमेत रहेका थापा अहिले दीर्घ मिर्गौला रोग (क्रोनिक किड्नी डिजिज) को स्टेज ५ बाट पीडित छन् । हाल उनलाई हप्तामा तीन पटक डायलाइसिस गर्नुपर्ने अवस्था रहेको परिवारले जनाएको छ ।
चिकित्सकले उनको स्वास्थ्य सुधारका लागि मिर्गौला प्रत्यारोपण आवश्यक रहेको बताएका छन् ।
भैरहवामा जन्मिएका थापाले बाल्यकाल हङकङमा बिताएका थिए । उनले टम ली म्युजिक सेन्टरमा क्लासिकल गिटार अध्ययन गरेका थिए ।
नेपाली संगीत क्षेत्रमा उनले ‘बिदेश जाने मायालु तिमीलाई’ जस्तो लोकप्रिय गीत गाएका छन् भने थुप्रै चर्चित गीतमा संगीत सिर्जना र एरेन्ज गरेका छन् । सुक्मित गुरुङले गाएको ‘ओ मेरो प्रियतम’ गीतमा पनि उनको सिर्जनात्मक योगदान छ ।
लामो समयदेखि उपचारमा रहँदा उनी पहिलेझैं संगीतमा सक्रिय हुन नसक्ने अवस्था आएको छ । यसले गर्दा उपचार खर्च जुटाउन कठिन भइरहेको परिवारले जनाएको छ ।
परिवारका अनुसार, कठिन स्वास्थ्य अवस्थाका बाबजुद थापा सकारात्मक र आत्मबलसहित लडिरहेका छन् । स्वास्थ्य लाभपछि फेरि संगीत सिर्जनामा फर्किने उनको इच्छा छ ।
यस्तो अवस्थामा परिवार, आफन्त तथा शुभेच्छुकहरूले सबै संगीतप्रेमीलाई सहयोग गर्न आग्रह गरेका छन् । उपचार र मिर्गौला प्रत्यारोपणका लागि आर्थिक सहयोग आवश्यक रहेको भन्दै सानो सहयोगले पनि ठूलो अर्थ राख्ने उनीहरूको भनाइ छ ।
थापाको उपचार सहयोगका लागि क्यानडास्थित क्याल्गरी मगर एसोसिएसन, अल्बर्टाले ‘गोफन्डमी’मार्फत अभियान सञ्चालन गरिरहेको छ ।
गोफन्डमी लिंकमा जान यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया 4