News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ नवनिर्वाचित सांसदलाई ग्वार्कोमा अभिमुखीकरण कार्यक्रममार्फत संसदीय अभ्यास र आचरण सिकाइएको छ।
- कार्यक्रममा सांसदहरूले संसदीय भूमिका, बोल्ने तरिका, न्याय पाउने अधिकार र जनताको अपेक्षा अनुसार काम गर्ने विषयमा ज्ञान प्राप्त गरेको बताएका छन्।
- पार्टीका वरिष्ठ नेताहरूले पदको गरिमा बढाउन, संविधान र कानुनको अध्ययन गर्न तथा भ्रष्टाचार अन्त्य गर्न सांसदहरूलाई निर्देशन दिएका छन्।
३ चैत, काठमाडौं । धेरैजसोले एक अर्कालाई चिनेका थिएनन् । सामाजिक सञ्जालमा देखेका थिए । तर, उनीहरूलाई ग्वार्कोको एक होटलमा मंगलबार पार्टीले सामूहिक भेट गरायो । एक अर्कासँग चिनापर्ची गरे । यसरी चिनापर्ची गर्नेहरू हुन्– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरू ।
ग्वार्कोमा रास्वपाका सांसदहरूलाई अभिमुखीकरण र परिचयात्मक कार्यक्रम थियो । प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ सिट गरी १८२ सिट जितेर ठूलो दल बनेको रास्वपाले आफ्ना सांसदलाई संसदीय अभ्यास र आचरण सिकाउन अभिमुखीकरण कार्यक्रम राखेको हो ।
यो कार्यक्रमले संसदीय सभ्यास बुझ्न सयोग पुगेको नवनिर्वाचित सांसदहरूले सुनाए ।
‘यो वर्कसपले एक अर्कालाई चिन्ने अवसर मिल्यो । समाचार र सामाजिक सञ्जालमा देखेका थियौं । प्रत्यक्ष चिन्न पाएको थिएन । सबैको संघर्षको कहानी रहेछ । चिया–खाना खाँदा चिनजान गर्न पायौं । बझ्ने अवसर पाएका छौं,’ मोरङ ६ बाट निर्वाचित सांसद रुबिना आचार्यले सुनाइन्, ‘विभिन्न भुगोलबाट आएका छौं । फ्रेस उर्जा छ । जनताको एजेन्डा शिरोधार्य गर्छौं ।’
सांसदको शपथ लिनुअघि अभिमुखीकरणले संसदीय अभ्यास बुझ्ने अवसरको रुपमा उनीहरूले लिएका छन् । ‘सांसदको भूमिका के हो, कसरी बोल्ने, सांसदले कस्ता वाचा गर्न मिल्छ मिल्दैन भन्ने सिकाउँछ,’ सर्लाही १ बाट निर्वाचित सांसद नितिमा कार्कीले भनिन् ।

धादिङ १ बाट निर्वाचित सांसद आसिका तामाङको अनुभव पनि उस्तै छ । ‘संसद् के गर्नुपर्छ, कसरी आवाज उठाउने, आवाज उठाउने मात्र हाइन न्याय पाउनुपर्यो । त्यो कुरा अभिमुखीकरणमा साटासाट गर्न पाइन्छ,’ उनले भनिन्, ‘जनताले जिम्मेवारीको माला लगाएर पठाउनु भएको छ । त्यसैअनुसार काम गर्ने हो ।’
सिक्दै काम गर्दै सुशासन र भ्रष्टाचारको अन्त्य गर्नेमा उनीहरूको मुख्य जोड देखियो ।
‘सदनमा आउदा धेरै सिक्न बाँकी छ । तर हामीले नै गर्नैपर्ने छ । हामीलाई केही थाहा छैन भनेर न्यारेटिभ बनाइएको छ त्यो होइन,’ गोरखा १ बाट निर्वाचित सांसद सुधन गुरुङले भने, ‘प्रणाली परिवर्तन गर्ने हो ।’
निर्वाचित भएर आएका सांसदले क्षेत्रबाट जनताको आशा र भरोसा बनेर आएको बताए ।
‘हामीलाई गल्ती गर्ने छुट छैन । कञ्चनपरबाट मतदाताको आशा र भारोसकाको पोका पुन्तुरा बोकेर संसद छिर्दैछु । त्यसअघि संसदमा कसरी प्रस्तुत हुने, आनीबानी आचरणको पाठ अभिमुखीकरणले सिकाउँछ,’ कञ्चनपुर ३ बाट निर्वाचित ज्ञानेन्द्रसिंह महताले भने, ‘संसदीय अभ्यास जान्न यसले सहयोग मिल्छ ।’

विगतको संसदीय अभ्यासबाट पाठ सिकेर सत्ता र गणितको खेलमा नरुमलिने संकल्प पनि रास्वपाका सांसदे गरे । यसपकट ठूलो दल भएका कारण हरेक सांसदले बोल्ने कुरा अर्थपूर्ण र जिम्मेवार हुने ठहर रास्वपाको छ ।
त्यसैले सांसदलाई जिम्मेवार बनाउने खोजिएको रास्वपाले जनाएको छ । उद्घाटन सत्रमा पार्टीका वरिष्ठ नेताहरूले पदको गरिमा बढाउनेगरी काम गर्न निर्देशन दिए ।
‘जितेर रमाइलो गर्न आएको होइन । पदको गरिमा बढाउन थप मिहिनेत गर्नुपर्छ,’ उपसभापति स्वर्णिम वाग्लेले भने, ‘संविधानप्रति बफादार हुने र संविधानको खुट्किलामा टेकेर काम गर्ने हो ।’ संविधान, कानुन, पार्टीको बाचा पत्र अध्ययन गर्न उनले नवनिर्वाचित सांसदलाई अनुरोध गरे ।
जीवनशैली, सम्पत्ति विवरण, खाने लगाउने, कहाँ बस्ने सबै आचरण महत्त्वपूर्ण हुने भएकाले सोही अनुसार काम गर्न आग्रह गरे । मतदाता, क्षेत्र व्यवस्थापन, विज्ञ, मिडिया र अन्य पार्टीसँगको सम्बन्धमा पनि ध्यान दिन उनले आग्रह गरे । ‘व्यक्तिगत समस्या समाधान होइन । प्रणाली सुधार गर्न आएका हौँ,’ उनले भने ।

त्यसैगरी उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा अनुसार काम गर्न निर्देशन दिए ।
‘विदेशिएकालाई देशमा फर्किन सक्छु भन्ने देखाउनु पर्ने छ । अस्पतालमा जान नेता खोज्नुपर्ने । कर तिर्न जाँदा अन्डर टेबुलको अन्त्य गर्नुपर्ने छ,’ उनले भने । रास्वपाले पाएको मत पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह र निर्वाचिन सांसदको जोश र आशाको मिश्रणबाट आएको उनले बताए ।
उद्घाटन सत्रमा सभापति लामिछाने र वरिष्ठ नेता शाह भने अनुपस्थित रहे । उपसभापति अर्यालका अनुसार स्वास्थ्यका कारण उद्घाटनमा उनीहरू नआएका हुन् । ‘उहाँहरूलाई भोलि उपस्थित गराउने प्रयास गर्नुछु,’ अर्यालले भने । रास्वपाको अभिमुखीकरण कार्यक्रम बुधबारसम्म सञ्चालन हुनेछ ।
जसमा विज्ञहरूले संसदीय अभ्यास, विधायकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयमा विज्ञहरूले ज्ञान दिनेछन् ।

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4