+
+
Shares
मध्यपूर्व तनाव :

नेपाल फर्किन कुवेत र कतारका नेपालीलाई साउदीको बाटो ‘महँगो’

साउदीको बाटो देखाएर पन्छिँदै सरकार

मध्यपूर्वमा रहेका नेपालीले नेपाल सरकारले उद्धार गर्नुपर्नेमा उद्धारका नाममा चर्को शुल्क असुल्ने काम गरेको आरोप लगाएका छन् ।

कृष्णसिंह धामी कृष्णसिंह धामी
२०८२ चैत ३ गते १७:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सरकारले कुवेत र कतारमा रहेका नेपालीलाई साउदी अरब हुँदै नेपाल फर्किन सडकमार्ग र हवाई मार्गको व्यवस्था मिलाएको छ।
  • कुवेत र कतारका नेपालीहरूले उद्धारका नाममा चर्को शुल्क असुल्ने काम भएको आरोप लगाएका छन्।
  • प्रवासी नेपाली समन्वय समितिका सल्लाहकार कुलप्रसाद कार्कीले सरकारले सक्रिय भएर उद्धारका लागि सहजीकरण गर्नुपर्ने बताएका छन्।

३ चैत, काठमाडौं । नेपाल सरकारले कुवेत र कतारमा रहेका नेपालीलाई साउदी अरब हुँदै नेपाल फर्किन सकिने व्यवस्था मिलाएको छ ।

साउदीको हवाईमार्ग खुला नै रहेको अवस्थामा कुवेत र कतारबाट सडकमार्ग हुँदै साउदीसम्म जाने र त्यसपछि हवाई मार्ग हुँदै नेपाल फर्किने व्यवस्था मिलाइएको हो ।

इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण पश्चिम एसियाली देशहरू (मध्यपूर्व) मा रहेका नेपाली त्रसित अवस्थामा छन् । कुवेत र कतारमा रहेर समस्यामा परेका नेपालीको उद्धारका लागि साउदीको बाटो अघि सारिएको हो ।

कुवेत र कतारमा रहेका नेपाली दूतावासहरूले साउदीको पर्यटक भिसामार्फत नेपालीहरूलाई उद्धारको व्यवस्था मिलाएको हो । त्यसका लागि अनलाइन मार्फत साउदी अरबको भिसा लिन आह्वान गरिएको छ ।

कुवेतस्थित नेपाली दूतावासले कुवेतको रेसिडेन्सी/सिभिल आईडी भएकाहरूलाई नेपाल फर्किन चाहे साउदीसम्म सडक मार्गबाट जान सकिने व्यवस्था मिलाएको जनाएको छ । त्यसका लागि अनलाइन मार्फत ट्रान्जिट प्रयोजन गर्न भिसाका लागि सहजीकरण गर्ने दूतावासको भनाइ छ ।

अनलाइन मार्फत आवेदन दिन सकिने र भिसा प्राप्त भएपछि सडक मार्गबाट साउदी प्रवेश गरी साउदी विमानस्थल हुँदै नेपाल जान सकिने व्यवस्था मिलाइएको दूतावासले जनाएको छ ।

त्यस्तै कतारस्थित नेपाली दूतावासले समेत कतारबाट सडकमार्ग हँुदै साउदी गएर साउदीे विमानस्थलबाट नेपाल जान सकिने सूचना जारी गरेको छ । अनलाइन मार्फत कतारको भिसा आवेदन दिन सकिन्छ ।

कतारको राजधानी दोहास्थित ताशिर साउदी भिसा केन्द्रमार्फत पर्यटक भिसा आवेदन दिनका लागि अपोइन्टमेन्ट बुक गरेर भिसा लिन अनुरोध गरेको छ । त्यसका लागि भिसा आवेदन शुल्क उक्त भिसा सेन्टरमै गएर बुझाउन समेत भनिएको छ ।

तर, दूतावासहरूको उक्त व्यवस्था तथा सूचनाबाट त्यहाँ रहेका नेपालीहरू आक्रोशित छन् ।

उनीहरूले नेपाल सरकारले उद्धार गर्नुपर्नेमा उद्धारका नाममा चर्को शुल्क असुल्ने काम गरेको आरोप लगाएका छन् ।

कुवेतमा काम गर्ने नेपालीको वास्तविकता नबुझी दूतावासले आफ्नो जिम्मेवारीबाट पन्छिन सूचना जारी गरेको आरोप लगाएका छन् । दूतावासको सूचना अनुसार कुवेतबाट नेपाल फर्किन ४ सय केडी (कुवेती दिनार) खर्च लाग्ने देखिएको छ । हाल कुवेतमा खान बस्नसमेत समस्या भइरहेका बेला उक्त रकम तिरेर नेपाल फर्किन सम्भव नभएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् ।

कुवेतमा रहेका विकास भट्टराईले खाने पैसा नभएका बेला ४ सय केडी तिरेर नेपाल जान नसकिने बताए । त्यस्तै सिर्जन कार्कीले गरिब जनताले विदेशमा गएर खाइनखाइ महिनामा २०/३० हजार कमाउने तर ८०/९० हजारको टिकट काटेर नेपाल जान नसकिने बताएका छन् । उनले उद्धारका नाममा लुट्ने प्रयास भइरहेको भन्दै आक्रोश व्यक्त गरे ।

‘विदेश जाँदा पनि पसिना बेचेर जानुपर्ने अनि साह्रो गाह्रो परेर स्वदेश फर्किन पनि ५/६ महिना कमाएको पैसा टिकटमा हाल्नुपर्ने अनि उद्धार ?,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समय र परिस्थिति अनुसार मानवता राखेर फेरिनुस् र फेर्नुहोस् आफ्नो व्यवहार, उद्धार भन्ने अनि सकेसम्म लुट्ने ? बरु दलालहरूलाई घाटा हुन्छ विदेश बस्नेलाई विदेशमै मर्न दिनुहोस् ।’

त्यस्तै ज्ञानबहादुर तामाङले आफ्नो देशका नागरिकलाई सुझाव दिनु राम्रो भएको तर वास्तविकता पनि बुझ्नुपर्ने बताएका छन् । कुवेतमा काम गरेर जीवन धानिरहेका धेरै नेपाली दैनिक ज्यालादारी, कम तलब र ऋणको बोझमा रहेको अवस्थामा ‘साउदीको अनलाइन भिसा लिएर सडकमार्ग हुँदै साउदीको विमानस्थलबाट नेपाल जानुहोस्’ भन्ने सल्लाह कागजमा सजिलो देखिने तर व्यवहारमा धेरै गरिब श्रमिकका लागि सम्भव नरहेको उनले बताए ।

भिसा शुल्क, यातायात खर्च, सीमा पार गर्ने झन्झट, अनि साउदी पुगेपछि फेरि हवाई टिकटजस्ता विषयको खर्च धेरै श्रमिकले तिर्न नसक्ने उनको भनाइ छ । धेरै श्रमिक मजदुर महिनाको तलब नै समयमै नपाएर संघर्ष गरिरहेको अवस्थामा यस्तो गर्नुको अर्थ नरहेको उनको भनाइ छ ।

‘विदेशमा समस्या पर्दा नेपाली नागरिकका साथमा उभिनु राज्य र दूतावासको दायित्व हो, समाधान यस्तो हुनुपर्छ जसले वास्तवमै पीडित र कमजोर वर्गलाई राहत देओस् न कि उनीहरूलाई अझै खर्च र झन्झटको बाटो देखाओस्,’ उनले लेखेका छन् ।

गरिब श्रमिकले यो प्रक्रिया कसरी पूरा गर्ने र दूतावासले वैकल्पिक व्यवस्था, सहजीकरण वा राहतको कुनै योजना नबनाएको भन्दै उनले प्रश्न गरेका छन् ।

सूचना जारी गरेर पन्छिन खोज्नुभन्दा पनि पीडित नेपाली श्रमिकको वास्तविक अवस्था बुझेर ठोस पहल गर्न उनले अनुरोध गरे । विदेशमा रहेका नेपालीलाई अप्ठ्यारोमा सल्लाहमात्र नभई साथ र समाधान चाहिने उनको तर्क छ ।

नेपाल सरकारको निर्णयप्रति कतारमा रहेका नेपालीले समेत आपत्ति जनाउँदै आएका छन् । अहिलेको विषम परिस्थितिमा घर जान चाहेको तर दूतावासको उक्त सूचनाले झन् समस्यामा पारेको उनीहरूको भनाइ छ ।

खाडी तथा मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकले उद्धारका नाममा एयरलाइन्स र भिसा प्रक्रियामा सर्वसाधारणले खर्च गर्न सक्ने अवस्था देखिँदैन ।

प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) का सल्लाहकार कुलप्रसाद कार्कीले दूतावासहरू आफ्नो जिम्मेवारीबाट पन्छिन यस्तो खालको निर्णय गरिएको बताउँछन् । अहिले मान्छेले कमाएको पैसा ट्राभल एजेन्सी र सरकारको शुल्क तिर्दातिर्दै सकिने उनको भनाइ छ ।

मासिक ७०–८० केडी तलब हुने श्रमिकले ४ सय केडी तिरेर कसरी नेपाल आउन सक्छन् भन्ने उनको प्रश्न छ । ‘यस्तो अवस्थामा एउटा श्रमिकको ६ देखि १० महिनाको कमाइ त फर्कने प्रक्रियामा मात्रै सकिने भयो,’ कार्कीले भने ।

सरकारले सक्रिय भएर काम गर्न एजेन्सीहरूलाई बोलाएर छलफल गर्नुपर्ने र उद्धार गर्नुपर्ने नेपालीलाई सहजै उद्धार गर्नुपर्ने उनको भनाइ छ ।

सामान्य अवस्थामा कुवेत वा साउदीबाट फर्कन २०–३० हजार रुपैयाँ लाग्थ्यो, तर अहिले टिकटको मात्रै १ लाखभन्दा बढी र भिसा प्रक्रियाको अर्को १ लाख गरी २ लाख खर्च हुने अवस्था छ ।

अहिले ती देशमा सुरक्षाभन्दा हवाईजहाजको टिकट नपाउनु र महँगो हुनु रहेको उनको भनाइ छ । त्यसका लागि नेपाल सरकारले नै सहजीकरण गरिदिनुपर्ने उनले बताए ।

‘मान्छेहरू मानसिक तनावमा छन्, उनीहरूको रोजगारी गुम्ने डर छ र भएको पैसा पनि सकिँदैछ,’ कार्कीले भने, ‘यो विषयलाई सरकारले गम्भीरता साथ लिनुपर्छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?